arrow

कर्णालीको बेथा

असी वर्षमा नागरिकता

logo
नृपेन्द्रबहादुर मल्ल, 
प्रकाशित २०८१ वैशाख १२ बुधबार
citizenship-80years.jpeg

मुगु । मुगुको एक गाउँकी ८० वर्षीया जेष्ठ नागरिकले बल्ल नागरिकताको प्रमाण पत्र पाएकी छिन् । मुगु जिल्ला मुगुम कार्मारोङ्ग गाउँपालिका ५ सेरोग गाउँकी नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकता पाएकी हुन् । 

२००० साल बैशाख १२ गते जन्मिएकी कामीलाई २०८१ साल बैशाख १२ गते नै प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले नागरिकत प्रमाण पत्र नम्बर ५८–०१(८१–०००४१ को प्रदान गरेका हुन् ।

३५ वर्षअघि कामीका श्रीमान् सोनाम तेन्जिन कामीको मृत्यु भएको थियो । विकट गाउँ जहाँबाट जिल्ला सदरमुकाम गमगढी पुग्न २–३ दिन हिँड्नु पर्ने भएपछि जान आउन समस्या र नागरिकताको आवश्यकताबारे जानकारी नहुँदा नागरिकता लिन ढिलाइ भएको थियो । 

जब श्रीमानको मृत्यु भयो घरमा कमाउने मान्छे भएन । २ छोरा पाल्न धौ धौ भयो । सरकारले भत्ता दिन्छ भनेर नागरिकता लिन खोज्दा श्रीमान् नहुँदा नागरिकता बनेन । 

२ छोरामध्ये एक छोराको सिलाजित निकाल्दा लडेर मृत्यु भयो । अर्को छोराको पनि उनको नागरिकता नहुँदा उनको पनि नागरिकता बनेन । छोराबाट २ नातिनी र १ नाति छन् । 

छोरा र आफ्नो नागरिकता नहुँदा उनीहरुको जन्मदर्ता नबन्दा सरकारले दिने भत्ता पाएका छैनन् । उनले नागरिकता पाएपछि छोराको पनि बन्ने भयो भन्दै नाति नातिनीहरुले पनि भत्ता पाउने भए भन्दै खुशी भइन् । 

श्रीमानको नागरिकता, माइती पक्षको सनाखत र नागरिकता पाउनका लागि आवश्यक पर्ने अनुसूचीसहित अन्य कागजातहरु पुगेपछि र ढिला नागरिकता  लिनाको कारणबारे विश्वास लाग्दो प्रमाण जुटेपछि ८० वर्षीया आमालाई नागरिकता दिएको प्रजिअ केसीले बताए । 

८० वर्षमा पनि नागरिकता नबन्दा सिङ्गो परिवारै राज्यबाट पाउने सेवा सुविधाबाट बन्चित हुँदै आएको थियो ।

विभिन्न संचार माध्यममा यो परिवारकोबारे समाचार आएपछि स्थानिय समाजसेवी सोनाम लामा कार्मारोङ्ग र वडा अध्यक्ष दावा साङवा तामाङ्गले आमाको जिम्मा लिएर सदरमुकाम ल्याएका थिए । 

सदरमुकाम आएको १७ दिनसम्म सोनाम लामा कार्मारोङ्गले ८० वर्षीया आमाको नागरिकता सम्बन्धी  कागजात जुटाएपछि बल्ल बुधबार आमाको नागरिकता बन्न सकेको थियो ।

आमाले नागरिकता पाएको र अब छोराको नागरिकता, नाती, नातिनीहरुको जन्मदर्ता र भत्ता उपलब्धताको प्रकृयामा आफू लाग्ने समाजसेवी लामाले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ