arrow

काठमाडौँबाट संक्रमितको उपचारका लागि बिर्तामोड पुर्‍याइयो, ५० नयाँ संक्रमित थपिए

logo
युवराज रेग्मी,
प्रकाशित २०७८ वैशाख १५ बुधबार
bmc-helicopter.jpg

झापा ।  विश्वव्यापी रूपमा कोरोना तीव्र गतिमा फैलिँदै गएपछि संक्रमितको उपचारका लागि बेड अभाव हुन थालेको छ । कोभिड संक्रमितलाई उपचारका लागि काठमाडौँबाट बाहिरी जिल्ला झापा सम्म पुर्‍याउन थालिएको छ । काठमाडौँमा उपचारका लागि बेड अभाव भएपछि एक बिरामीलाई  बिर्तामोड स्थित विएण्डसी अस्पताल ल्याइएको छ ।

काठमाडौँमा बेड अभाव भएपछि हेलिकप्टरबाट बिर्तामोड स्थित विएण्डसी अस्पताल ल्याइएको अस्पतालका सूचना अधिकारी प्रमिश गिरीले बताए । झापा शिवसताक्षी ८ घर भई काठमाडौँ बस्दै आएका ६८ वर्षीय पुरुषलाई उपचारका लागि बिर्तामोड ल्याइएको हो । काठमाडौँमा उपचार सहज नभएपछि उनलाई झापा ल्याइएको बताइएको छ ।

साथै  कोरोना भाइरसको संक्रमणका कारण झापा गाउँपालिकाका एक जना पुरुषको  बुधवार मृत्यु भएको छ। झापा गाउँपालिका वडा नं ४ का स्थानीय ५५ वर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। दम र मधुमेह रोगबाट ग्रसित उनको उपचारका क्रममा मृत्यु भएको हो । उनको अचानक श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि विराटनगरको नोबेल हस्पिटल लगिएको थियो ।

उपचारका क्रममा कोरोना भाइरस परीक्षण गर्दा उनको रिपोट पोजेटिभ देखिएपश्चात् हस्पिटलको सघन कक्षमा उपचार गराइरहँदा उनको गए राति मृत्यु भएको हो ।

 त्यसै गरी बुधवार झापामा कोरोना संक्रमितहरूको सङ्ख्या एक्कासि उकालो लागेको छ। बुधवार एकै दिन झापामा ५० जना कोरोनाका संक्रमित थपिएको स्वास्थ्य कार्यालय झापाले जानकारी दिएको छ।

संक्रमित मध्ये बिर्तामोड नगरपालिका क्षेत्रमा सबैभन्दा धेरै १३ जना , गौरीगञ्ज गाउँपालिकामा ११ जना , दमक नगरपालिकामा ५ जना, कमल गाउँपालिकामा ४ जना, भद्रपुर नगरमा ३, कन्काइ नगरमा ३, अर्जुनधारा नगरमा ३, शिवसताक्षी नगरमा ३ जना संक्रमित थपिएका छन् ।

त्यसै गरी मेचीनगरमा २, बुद्ध शान्ति गाउँपालिकामा १, बाह्रदशी गाउँपालिकामा १ जना र झापा गाउँपालिकामा १ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय झापाका कोरोना फोकल पर्सन जीवन चौंलागाईंले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ