arrow

नाक्चे लाग्ना नाका कर्णाली प्रदेश कै ‘लाईफ लाईन’ नाका खोल्न कुटनीतिक पहल शुरु

logo
युद्ध बहादुर मल्ल
प्रकाशित २०७७ चैत ३१ मंगलबार
naka1-1618293227.jpg

मुगु । नेपाल र चीन जोडने मुगुमा रहेको नाग्चेलाग्ना नाका कर्णाली प्रदेश कै ‘लाईफ लाईन’का रुपमा रहेको स्थानीयहरुले बताएका छन् ।

आइतबार जिल्ला समन्वय समिति मुगुको समन्वय र उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजनामा नाग्चे लाग्ना सिमा खोल्ने सम्वन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी नाकासंगै जोडिएका गाँउहरुका स्थानियहरुले यस्तो कुरा बताएका हुन ।

गत फागुन २२ गते  बसेको  जिल्ला समन्वय समितिको बैठकले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रीलाई सम्वोधन गर्दै यो नाका इतिहास कालदेखि तिब्बती र मुगालहरु विचको आपसी समझदारीमा वर्षको एक पटक बढीमा १० दिनका लागि खुल्दै आएको छ ।

नाका खुलेको समयमा दुवै तिरका स्थानिय तथा व्यापारीहरुले वस्तु विनिमय गरि व्यापार गर्दै आएको यो नाका खुलेमा कर्णाली प्रदेश मात्र नभएर सुदुरपश्चिम साथै लुम्विनी प्रदेशले पनि फाइदा लिनसक्ने र देशमा उत्तरी अन्य नाकाहरु भन्दा यो नाका छोटो भएको भन्दै नाका खोल्न अनुरोध गर्ने निर्णय गर्दै पत्र पठाएपछि नाका खोल्नेबारे अन्तरक्रिया कार्यक्रम गर्न मन्त्रालयको सहसचिव स्तरिय टोली मुगु पुगेको थियो ।

कार्यक्रममा बोल्दै मन्त्रालयका सहसचिव प्रकाश दाहालले यो नाका खोल्दा हुने फाइदा, सहजता, भौगोलिक अवस्था,धार्मिक तथा पर्यटकिय महत्व र सुरक्षाको अवस्थाबारे जानकारी गराईदिन स्थानियबासी,सरोकारवाल, सुरक्षा निकाय र स्थानिय प्रशासनलाई अनुरोध गरेका थिए ।

नाका रहेको मुगुम कार्मारोङ्ग गाँउपालिका वडा नं २ का वडा अध्यक्ष कार्मा लामाले नाका कर्णाली खस राज्य हुनभन्दा पहिलादेखि प्रयोगमा आएको र यहि नाकाको व्यापारबाट तत्कालिन कर्णाली राज्यको समृद्धी भएको बताउँदै मुगालीहरुले चिनियाँहरुलाई सिमी, चामल, चुली, काठ,जडिवुटी,तामा विक्री गर्ने र चिनियाँबाट घिउ, चिनी, लत्ता कपडा लगायत घरायसी सामान किनेर ल्याउने गरेको बताए । 

उनले भने, ‘यो नाका मुगु कर्णालीको तिरैतिर भएर जाने भएकाले राज्यलाई सडक बनाउन समस्या छैन, छाइलबाट पुलुसम्म करिव २०० मिटर खण्ड कडा चट्टान भएपनि त्यो भन्दा माथी सहजै सडक बनाउन सकिने भुगोल छ ।’

कुल ९३ किमी दुरी रहेको नाका खोलेमा उत्तरसंग सिमा नजोडिएकोे कर्णाली प्रदेशका लागि लाईफ लाईन नै सावित हुने स्थानिय जर्मन नेपालीले भने । अहिले नाका खुल्ला नहुदा यहाँका जडिवुटी, अन्नवाली भारत भएर पुनः चीन पुग्ने गरेको छ तर सरकारले नाका खोलेमा दोस्रो मुलुकको प्रयोग विनै सिधै चीनसंग व्यापार हुने उनले बताए ।

नाका खोलेमा व्यापार मात्र नभएर नेपालमा धार्मिक पर्यटकहरुको पनि ओईरो लाग्नसक्ने आफूले देखेको स्थानिय सोनाम लामाले बताए ।   चीनमा वौद्ध धर्मालम्विहरु धेरै रहेको र मुगुमा रहेको छायाँनाथ तीर्थस्थल (जसलाई वौद्ध धर्मालम्वीहरु एव्लाङ्ग भन्छन) र वुद्ध जन्मस्थल लुम्विनी दर्शन गर्नका साथै कर्णालीमा रहेका पर्यटकीय स्थलहरुको पनि दृष्यावलोकन गर्न उनीहरु आउने अनुमान छ । जसका कारण मुगु मात्र नभएर यस लाईनमा रहेका कर्णाली, सुदुरपश्चिम र लुम्विनी प्रदेशहरुका जिल्लाहरुले आर्थिक विकासमा फडको मार्ने लामा बताउँछन् ।

सरकारले नाका खोल्नुभन्दा पहिला नाकासम्म सडक पहुँच पुर्‍याउनमा जोड दिनुपर्ने स्थानिय जगत बहादुर रोकायाले सुझाव दिए ।  उनले भने, ‘चीनले आफ्नोतर्फ नाका नजिकै ६५ कोठे व्यापारिक तथा प्रशासनिक प्रयोगका लागि भवन बनाएको छ तर नेपालतर्फ सुनसान छ । त्यसैले नाका खोल्दैमा केही हुँदैन । यदि सडक पहुच त्यहाँसम्म छैन भने के काम ?’

त्यसैले राज्यबाट हाल वेवास्ता गरिएको गमगढी-नाक्चे लाग्ना सडक निर्माणलाई तिव्रता दिनुपर्ने उनको सुझाव छ । सडक शुरु गरेको १७ बर्षभन्दा बढी समय वितिसक्दा पनि जम्मा १७ किमी मात्र ट्रयाक खोलिएकाले सरकारले यो सडक निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने र कार्यक्रमका मात्र नभएर कार्यान्वयनका लागि काम गर्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी चन्द्र बहादुर शिवाकोटीले अहिले १० दिन मात्र खोल्ने नाकाबाट मुगालीहरु बर्ष दिनसम्म खान, लगाउन पुग्ने व्यापार गर्छन । यसैबाट पनि थाहा हुन्छ की यो नाका कतिको महत्व छ, नाका खुला नहुँदा अवैध रुपमा जडिवुटी, वन्यजन्तु, खनिज र अन्य सामानहरु चोरी निकासी हुँदै आएको जानकारी दिए । नाका खोलेमा सबै कार्य वैध तरिकाले हुने र राज्यको आम्दानी पनि बढने साथै नाकासम्म सडकको पहुँच पुर्‍याउनु पर्नेमा जोड दिए ।

शसस्त्र प्रहरी बल नं ४५ गुल्म मुगुका गुल्मपती खुम बहादुर केसीले आफनो टोलीले सिमासम्म स्थलगत अनुगमन गरेको र भौगालिक र सुरक्षाका रुपमा मुगु गाँउबाट सीमा नजिक हेलाङ्ग भन्ने स्थानमा सरकारले सिमा सुरक्षा बल स्थापना गर्दा उपयुक्त हुने बताए ।

निकट भविष्य मै स्थापना हुने विओपीका लागि सिमासम्म सडक पहुँच नहुँदा सदरमुकामको रासन मुल्य मै ९३ किमी टाढा रहेको ५ हजार मिटरको उचाईमा बस्ने टालीले पनि सोही मूल्यको रासन खानुपर्ने बाध्यताले सिमा सुरक्षामा खटिने सुरक्षाकर्मीको मनोबल कस्तो होला भन्दै गुल्मपती केसीले प्रश्न गरे ।

स्थानियहरुको दवावले मात्र नाका नखोलिने भएकाले कुटनीतिक रुपमा मन्त्रालय हुदै सरकारबाट पनि चिनियाँ सरकारसंग पहल गर्नुपर्ने जिल्ला समन्वय समिति मुगुका प्रमुख पूर्ण बहादुर रोकायाले धारणा राखे ।

उनले भने, ‘नाका खोल्न र सडक निर्माणको तिव्रताका लागि पर्याप्त बजेटको व्यवस्थाका लागि दर्जनौ निर्णय र पत्र पठाईए होलान मन्त्रीबाट तोक लगाउने बाहेक अर्को काम भएको थिएन । तर यस पटक गत फागुन २० गते मन्त्री लेखराज भट्टदे तोक लगाएको पत्र मन्त्रालयले कार्यान्वयन गर्दै नाका खोल्नेबारे सहसचिव स्तरिय टोली जिल्ला मै पठाएकाले अब केहि प्रगती हुन्छ की भन्ने आश पलाएको छ ।’

मन्त्रालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमले मात्र यो नाका खोल्दैन र नाका खोल्न अझै धेरै चरणहरु पार गर्नुपर्ने सहसचिव प्रकाश दाहालले बताए ।

दाहालले भने, ‘सुझाव र सम्भावनाहरुको दस्तावेजीकरण गरि यो विषय नेपाल-तिब्बत सहजीकरण समिति, नेपाल-चीन व्यापार सम्वन्धी संयुक्त कार्यदलहरुको बैठकमा प्रवेश पाउने छ । सुष्म अध्ययन, मूल्याकन पछि सरकारले कुटनीतिक पहलबाट नाका खोल्न शुरु गर्नेछ ।’

उत्तरी छिमेकी देश चीनसँग जोडिएका जिल्लाहरुका नाकाहरु मध्ये हाल ६ वटा नाका खुला रहेका छन् ।  नाक्चे लाग्ना नाका सरकारले खुलाएमा चीनसँग नाका खोलिए संंख्या सात पुग्नेछ । कर्णाली करिडोर हुँदै हुम्लाको हिल्सा नाकासम्म पुग्ने सडक भन्दा यो नाकासम्म पुग्ने सडक ६५ किमी दुरी कम भएकाले पनि कर्णाली प्रदेशको मुख्यनाकाको रुपमा रहने पनि कार्यक्रममा बताइयो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ