arrow

अमेरिकी र चिनियाँ कूटनीतिज्ञहरुबीच अर्को साता भेटवार्ता तय

logo
एपी,
प्रकाशित २०७७ फागुन २७ बिहिबार
usa-china.jpg

वासिङ्टन। वरिष्ठ अमेरिकी तथा चिनियाँ अधिकारीहरूबीच अर्को साता प्रत्यक्ष भेटवार्ता हुने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन राष्ट्रपति भएयता पहिलो पटक अमेरिकी र चिनियाँ उच्च पदाधिकारीबीच भेटवार्ता हुन लागेको हो । 

विश्वका दुई ठुला अर्थतन्त्र भएका मुलुकहरू चीन र अमेरिकाबीच केही वर्षदेखि तनावपूर्ण सम्बन्ध रहिआएको छ । अझ पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा दुवै मुलुकबीचको सम्बन्ध निकै खराब स्थितिमा पुगेको थियो । 

ह्वाइट हाउस र अमेरिकी विदेश मन्त्रालयले अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन र राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुल्लिभान र चीनका वरिष्ठ कूटनीतिक पदाधिकारीहरू स्टेट काउन्सिलर वाङ यी र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश मामिला प्रमुख याङ जेचीबीच अलास्काको एन्कोरेजमा यही मार्च १८ मा भेटघाट हुने जनाइएको छ । 

कङ्ग्रेसको बैठकमा बुधवार पहिलो पटक उपस्थित विदेश मन्त्री ब्लिन्केनले सांसदहरूलाई तिब्बत, हङकङ र पश्चिम सिनजियाङ क्षेत्रको मानव अधिकार तथा व्यापारका साथै कोरोनाभाइरस महामारीका विषयमा दुई देशबीच देखिएका असमझदारीलाई लिएर छलफल गर्ने यो राम्रो अवसर हुने बताएका छन् । 

साथै उत्तर कोरिया र यसको आणविक हतियार कार्यक्रमका बारेमा पनि छलफल हुन सक्ने बताइएको छ ।

सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै विदेश मन्त्री ब्लिन्केनले इरान, क्युबा, इथियोपिया, रसिया र भेनेजुएला मामिलामा बाइडेन प्रशासनको दृष्टिकोणका बारेमा पनि जानकारी गराएका थिए । उनले यी जल्दा बल्दा अन्तर्राष्ट्रिय तथा अमेरिकी चासोका विषयमा कङ्ग्रेससँग निकट सम्बन्ध र सम्पर्क गर्न बाइडेन प्रशासन सधैं तत्पर रहने बताए । 

अलास्कामा चिनियाँ अधिकारीहरूसँगको भेटवार्ता अघि विदेश मन्त्री ब्लिन्केन र रक्षा मन्त्री लोयड अस्टिनले जापानी र दक्षिण कोरियाली समकक्षीहरूसँग टोकियो र सियोलमा भेटवार्ता गर्नेछन् । यी भेटवार्तामा अमेरिका र जापान–दक्षिण कोरियाबीचको परम्परागत सम्बन्धलाई थप प्रगाढ र सुदृढ बनाउन अमेरिकाले पहल गर्नेछ । 

राष्ट्रपति जो बाइडेनले यही साता भारत, जापान र अस्ट्रेलियाका प्रधानमन्त्रीहरूसँग हिन्द–प्रशान्त नीतिका बारेमा पनि भर्चुअल छलफल गर्दै छन् । 

कङ्ग्रेसको विदेश मामिला समितिमा विदेश मन्त्री ब्लिन्केनले भने, “कुरा एकदमै सरल छ । यो अवसरमा हामी हाम्रा चासोका विषयलाई खुला रूपमा उनीहरू समक्ष राख्नेछौं ।”

ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले यसअघि नै चिनियाँ अधिकारीहरूसँग हाम्रा गहिरो असहमति समेत विविध विषयमा छलफल हुने बताइसकेकी छन् । 

अमेरिकी राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्प रहँदा अमेरिका र चीनबीचको सम्बन्ध निकै नाजुक स्थितिमा पुगेको थियो । ट्रम्प प्रशासनले चीनमाथि उइगुर मुस्लिम, सिनजियाङका अल्पसंख्यक र तिब्बत मामिलामा बहुआयामिक कारबाहीहरू गरेको थियो भने हङकङ, ताइवान र दक्षिण चीन सागरमाथि चीनको हस्तक्षेपलाई लिएर चीनमाथि दबाब दिएको थियो । 

तर, जो बाइडेनले ह्वाइट हाउसको प्रशासन सम्हालेयता पनि चीनमाथिका कारबाहीहरू फुकुवा भइसकेका छैनन् । अर्थात् ट्रम्पका अधिकांश नीतिहरूलाई बाइडेन प्रशासनले पनि निरन्तरता दिने सङ्केत देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ