arrow

‘गलत संगतले कुलतमा फसिने’

logo
प्रकाशित २०७७ फागुन २० बिहिबार
uttamraj-subedi.JPG

दार्चुला ।  समुदाय-प्रहरी साझेदारी अन्तर्गत दार्चुलाको महेन्द्र नमुना माविमा प्रहरी-विद्यालय सम्पर्क कार्यक्रम सम्पन्न भएको छ । बिहीवार जिल्ला प्रहरी कार्यालय दार्चुलाको आयोजना तथा महेन्द्र नमुना माविको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीले गलत संगतले कुलतमा फसिने बताएका छन् । बालबालिका गलत संगतका कारण बढी कुलतमा फसेको देखिन्छ’, सुदूरपश्चिम प्रहरी प्रमुख सुवेदीले भने, ‘बालबालिकालाई जोगाउने बढी दायित्व अभिभावककै हुन्छ । किशोरावस्थाका विद्यार्थी भाइवहिनीहरुको आनीबानीको निगरानी आवश्यक छ ।’ उनले गलत साथीको संगत नगर्न र विभिन्न कुलतबाट टाढै रहन सुझाब दिए ।

सामाजिक संजालको दुरुपयोगले सामाजिक विकृति तथा आपराधिक गतिविधि बढेको चर्चा गर्दै यसको दुरुपयोगबाट विद्युतिय अपराध, सडक दुर्घटना, साइवर अपराध जस्ता जघन्य अपराध हुनबाट बच्न आग्रह गरे । नेपालमा पछिल्लो समय घटेका विभिन्न जघन्य अपराधका घट्नाहरु ८० प्रतिशत आफन्त र जानेबुझेकै व्यक्तिहरुबाट भइरहेको उनको भनाई थियो । समाजमा घट्ने यस्ता किसिमका घट्नालाई न्युनिकरण र नियन्त्रण गर्नका लागि सबैको सहयोग आवश्यक रहेको उनले बताए ।

विद्यालयमा विद्यार्थीहरुसँग गरिने यस्ता अन्र्तक्रियाले ठूलो सहयोग पुग्ने र समाजमा विकृतिका बारेमा उनीहरुलाई जानकारी भएमा घटना न्युनिकरण गर्न सकिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं महाकाली नगरपालिका वडा नम्बर ४ का अध्यक्ष पुस्कर राज जोशीले बताए । अहिलेको राम्रो काम र सँस्कारले भोलीको भविष्य निर्माण गर्ने हुदा समयमै सचेत हुनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा महेन्द्र नमुना माविका प्रधानाध्यापक रामदत्त जोशीले धेरै बच्चाहरु अभिभावकको कारणले बिग्रिएको बताए । अभिभावकहरुले आफ्नो बच्चाको निगरानी नगर्दा बच्चा बिग्रिरहेको उनको भनाइ थियो । अर्को प्रसंगमा बोल्दै उहाले शिक्षक विद्यार्थीहरुका दुष्मन नभएको बताए । शिक्षकले विद्यार्थीलाई सुधार्न सजाय दिने गरेकोमा अभिभावक तथा विद्यार्थीहरुले त्यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए ।

सोही कार्यक्रममा बोल्दै दार्चुला बहुमुखी क्याम्पसका उप प्राध्यापक धाना धामीले अभिभावकले जिम्मेवारीबाट पन्छिन नहुने बताए । अभिभावकहरुले आफ्ना छोराछोरीको विशेष ख्याल गर्नुपर्ने बताउदै बालबालिकालाई माया देखाएर सही बाटोमा हिडाउन अभिभावकले समय दिनुपर्ने धारणा राखे ।

दार्चुलामा विद्यालयमै पुगेर प्रहरीले सचेतना दिन थालेको छ । समाजमा विभिन्न खालका अपराधहरु घटने भएकाले ती अपराधहरु न्युनीकरणका लागि यस्तो अभियान थालिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाका माध्यमिक विद्यालयमा गई अन्तक्रिया गर्ने र विभिन्न खालका चेतनामूलक कक्षाहरु सञ्चालन गरिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ