arrow

छड्के सुरु गरेका हाकिमको सरुवा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ फागुन १६ आइतबार
Singhadurbar-East-North-South-600.jpg

काठमाडौँ। अघिल्लो साता सरकारले एकै पटक ३१ जना सहसचिवहरूको सरुवा गरेको छ। सरुवा गरिएकाहरूमध्ये वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुबेदी पनि परेका छन्।

सुबेदीले करिब एक हप्ता अघिदेखि सिंहदरबारभित्र र सिंहदरबार बाहिर रहेका क्यान्टिन, भोजनालय, मिठाई घर चमेना गृह, होटेल तथा रेस्टुरेन्टमा अनुगमन तथा फलो अप अनुगमनको कामलाई तीव्रता दिएका थिए। सुबेदी नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड–नेपाल) पक्षका अध्यक्ष पुष्पकमल दाहालसँग निकट मानिन्छन्।

करिब एक वर्ष अघि मात्र उनलाई भरतपुर महानगरपालिकाबाट वाणिज्य विभागमा ल्याइएको थियो। स्रोतका अनुसार उनलाई वाणिज्य दूत बनाउने आश्वासन दिइएको थियो। तर नेकपाभित्रको विवादको असर उनलाई पनि परेको छ।

विभागले हरेक वर्ष अनुगमन गर्ने गरेको छ। तर फलो अप अनुगमन गर्ने कामलाई भने सुबेदीले तीव्रता दिएका हुन्। पहिलो पटक गरिएको अनुगमनमा दिइएको निर्देशनलाई पालना गरेको-नगरेको विषयमा फलो अप अनुगमन गर्ने गरिएको विभागले जनाएको छ। बजार अनुगमनमा हिँडेका सुबेदीलाई सरकारले एक्कासि सरुवा गरेको छ। उनलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लगिएको छ। आइतबार देखि उनी सङ्घीयमा हाजिरी हुने छन्।

अघिल्लो साता विभागका कर्मचारीहरूले एकै दिन सिंहदरबारका ४ वटा क्यान्टिनमा फलो अप अनुगमन गरेका थिए। अनुगमनको क्रममा यसअघि दिइएको निर्देशन पालना नगरेको, अस्वास्थ्य तथा म्याद सकिएको खाना खुवाएको, सर सपाइमा ध्यान नदिएको, प्रमाणीकरण नभएको नापतौल यन्त्र प्रयोग गरिएको, जस्ता अनियमितता देखिएको विभागको भनाइ छ।

फलो अप अनुगमनको क्रममा सिंहदरबार भित्र रहेको केन्द्रीय चमेना गृह कञ्चन चमेना गृहमा समेत फोहर देखिएको विभागले जनाएको छ। अनुगमनको क्रममा विभागका कर्मचारीहरूले नियम पालना नगरेका क्यान्टिनहरूलाई फिल्डमै जरिमाना तिराएका थिए। गत, साउन देखि सुबेदीले करिब २ हजार दुई सय क्यान्टिन, होटेल, रेस्टुरेन्ट, मिठाई गृहमा अनुगमन गरेका छन् भने पछिल्लो एक हप्ताको अवधिमा उनले करिब १ दर्जन क्यान्टिन तथा भोजनालयमा फलो अप अनुगमन गरेका छन्।

केपी ओली प्रधानमन्त्री भए पछि प्रधानमन्त्री कार्यालयको मातहतमा ल्याइएका सम्पत्ति सुद्धिरकरण विभाग र राजस्व अनुसन्धान विभागका प्रमुखलाई पनि सरकारले सरुवा गरेको छ। हाल दुवै विभाग रिक्त रहेका छन्। सम्पत्ति सुद्धिरकरण विभागका महानिर्देश रूप नारायण भट्टराई लाई सरकारले राष्ट्रपति कार्यालयमा लगेको छ।

राष्ट्रपति र उपराष्ट्रपति कार्यालयमा उच्च तहका कर्मचारी सकेसम्म जान चाहन्नन्। त्यहाँ सरुवा गरेमा आफूलाई थन्काइएको भन्ने उनीहरूको बुझाई हुने गर्छ।  यसै गरी यातायात विभागका महानिर्देशक गोगन हमाललाई पनि सरकारले सरुवा गरेको छ। सरकारले हमाललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा लगेको छ।

हमालको सरुवा पछि ४ वटा महत्त्वपूर्ण विभागमा नेतृत्व रिक्त रहेको छ। सरकारले सहकारी विभागका रजिस्टार टोकराज पाण्डेलाई पनि सरुवा गरेको छ। पाण्डेको सरुवा रक्षा मन्त्रालयमा गरिएको छ।

स्रोतका अनुसार रिक्त रहेका ठाउँमा जान उच्च कर्मचारीहरूको दौडधुप सुरु गरेको छ। खाशगरी सम्पत्ति सुद्धिकरण विभाग र राजस्व अनुसन्धान विभाग उच्च  कर्मचारीहरूकोलागि अत्यन्त आकर्षक कार्यालय मानिन्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ