arrow

एक महिने ब्रत माधवनारायण सकियो

logo
प्रकाशित २०७७ फागुन १६ आइतबार
madhavnarayan.jpg

काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना साँखुस्थित शालीनदीमा कठोर माधवनारायणको ब्रत बसेका वर्तालुले आइतवार फुकुवा गरेका छन् । माधवनारायणको ब्रत फाल्गुन कृष्ण प्रतिपदाका दिन विधिपूर्वक फुकुवा गरिन्छ । वर्तालुले आइतवार बिहान साँखुस्थित ज्योतिर्लिङ्गेश्वरको सुन्दरीघाटमा स्नान गरी चलाखु टोलमा रहेको अजिमास्थानमा आएर ब्रत विसर्जन गरेका छन् ।

ब्रत विसर्जनपछि वर्तालुले आ-आफ्नो टोलको गणेशस्थानमा गएर पूजा आराधना गर्ने विधि रहेको साँखुका पत्रकार पवनलाल श्रेष्ठले जानकारी दिए । टोलको गणेश मन्दिरमा पूजा आराधना गरेपछि ब्रत बसेका बेला एक महीनासम्म आगो तापेको अगेनोमा पनि पूजा गरिन्छ ।

अगेनाको पूजापछि त्यही अगेनामा अण्डा पकाएर खाएपछि ब्रत फुकुवा हुने विधि रहेको उनले बताए । वर्तालुले यो विधि पूरा गरेसँगै आइतवारदेखि माधवनारायणको ब्रत विधि सकिएको छ । वर्तालुलाई महाशिवरात्रिका दिन भोज खुवाउने गरिन्छ ।

विगत वर्षमा करीब ४०० जनाले माधवनारायण ब्रत गर्ने गरेकामा यस वर्ष कोरोना महामारीका कारण ४९ जनालाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षित साथ ब्रतमा राखिएको थियो । एक महिने ब्रत अवधिमा साँखुबाट पशुपति हुँदै दक्षिणकाली, काभ्रेपलाञ्चोक जिल्लाको सांस्कृतिक शहर पनौती र भक्तपुरको चाँगुनारायणमा खाली गोडा पैदल यात्रा गरी तीर्थ जाने परम्परा छ । एक महीनासम्म वर्तालुले शुद्ध एवं सात्विक खानपिनसहित ब्रत बस्नुपर्छ ।

महिला ३५ र पुरुष १४ गरी ४९ जना यसपटक ब्रतमा सहभागी भई परम्परादेखि गरिँदै आएको माधवनारायण ब्रतको संस्कृति संरक्षण पूरा गरेको श्री माधवनारायण स्वस्थानी ब्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले जानकारी दिए ।

 कोरोना महामारीका बीच पनि यस वर्ष माधवनारायणको ब्रत र मेला दुवै सफलतापूर्वक सम्पन्न गरिएको उनले सुनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ