एक महिने 'मलमास' आजैबाट सकिँदै, नबोली स्नान गरी मनाइयो सोमबारे औँशी
हाम्रा कुरा
प्रकाशित २०८३ असार १ सोमबार
391
Shares
काठमाडौँ । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने धार्मिक पर्व ‘सोमबारे औँशी’ आज मुलुकभर विविध धार्मिक अनुष्ठान र मौन स्नान गरी मनाइएको छ। सोमबार औँशी परेका दिन बिहान उठेर कसैसँग नबोलीकन स्नान गरेमा मनोकाङ्क्षा पूरा हुने, दाम्पत्य जीवन सुखमय हुने र अक्षय फल प्राप्त हुने धार्मिक तथा शास्त्रीय मान्यताका कारण वैदिक सनातन धर्मावलम्बीहरूले यसलाई प्राचीनकालदेखि नै विशेष पर्वका रूपमा मनाउँदै आएका छन्।
यस वर्ष अधिक ज्येष्ठ कृष्ण औँशी आज सोमबार परेको हो। धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार वर्षभरि यस्तो संयोग सामान्यतया दुईदेखि तीन पटकसम्म पर्ने गर्दछ। औँशी तिथिलाई पितृ कार्य अर्थात् श्राद्ध र तर्पणका लागि समेत अत्यन्तै महत्त्वपूर्ण मानिन्छ।
सोमबारे औँशीका दिन आमाबाबु हुने र नहुने दुवैले बिहानै स्नान गर्नु शास्त्रीय रूपमा उत्तम मानिएको छ। आमाबाबु नहुनेहरूले भने यस विशेष दिनमा विभिन्न तीर्थस्थलमा गई पितृहरूको नाममा श्राद्ध, तर्पण र सिदा दान गरेर पुण्य आर्जन गर्ने गर्दछन्। यसै अवसरमा आज बिहानैदेखि देशका विभिन्न पवित्र नदी, ताल र त्रिवेणी धामहरूमा स्नान गर्ने श्रद्धालुहरूको ठुलो भीड लागेको छ।
सोमबारे औँशीसँगै आजैदेखि गत जेठ ३ गतेदेखि शुरू भएको अधिकमास अर्थात् 'मलमास' पनि औपचारिक रूपमा समापन हुँदैछ। पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रोहरू (पञ्चाङ्ग) अनुसार यो एक महिनाको अवधि समाप्त हुन लागेको हो। सनातन धर्ममा अधिकमासलाई ‘पुरुषोत्तममास’का रूपमा समेत पुज्ने गरिन्छ।
मलमासको अवसर पारेर काठमाडौँको दक्षिण–पश्चिममा अवस्थित ऐतिहासिक मत्स्यनारायण मन्दिरमा महिनाभरि चल्ने विशेष मेलाको आज अन्तिम दिन हो। आज समापनको दिन भएकाले मत्स्यनारायणमा दर्शनार्थी र मेला भर्नेहरूको बिहानैदेखि व्यापक उपस्थिति रहेको छ। यसैगरी, धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिक स्थल नृसिंहधाममा पनि विगत एक महिनादेखि लागिरहेको विशेष मेला आजैका दिन भव्य रूपमा समापन गरिँदैछ।