arrow

विष्णुदेवीधाममा पुरुषोत्तममास माहात्म्य कथा जारी, असार १ सम्म चल्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २३ शनिबार
bishnudevi-mandir-chandragiri-83-2-22.jpg

चन्द्रागिरी । काठमाडौँको चन्द्रागिरी नगरपालिका–१५, तीनथानास्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको श्री विष्णुदेवी मन्दिरमा एक महिने श्री पुरुषोत्तममास माहात्म्य कथा अनुष्ठान सञ्चालन भइरहेको छ । 

सौर र चान्द्र वर्षबीचको अन्तर मिलाउन प्रत्येक ३२ महिना १६ दिनमा पर्ने अतिरिक्त महिनालाई अधिकमास वा मलमास भनिन्छ । पौराणिक विश्वासअनुसार भगवान् पुरुषोत्तमको कृपाले यस महिनाले ‘पुरुषोत्तममास’ को उपाधि प्राप्त गरेकाले दान, धर्म, व्रत तथा तीर्थसेवाका लागि विशेष फलदायी मानिन्छ । 

यही अवसरमा श्री विष्णुदेवी क्षेत्र संरक्षण तथा सुधार समाजले आयोजना गरेको अनुष्ठानमा संस्कृत विषयमा आचार्य उत्तीर्ण युवा कथावाचक ज्यो.पं. सुदीप लोकनाथाचार्यले दैनिक दिउँसो १ बजेदेखि ४ बजेसम्म कथा प्रवचन गरिरहेका छन् ।

समाजका अध्यक्ष गौरीप्रसाद दवाडीका अनुसार अनुष्ठानप्रति धार्मिक अनुरागीहरूको आकर्षण बढ्दै गएको छ । यसै क्रममा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल पनि अनुष्ठानस्थलमा पुगेर दर्शन गरेका छन् । 

यज्ञ संयोजक प्राध्यापक घनश्याम भण्डारीले कथा श्रवण तथा दर्शनका लागि विभिन्न क्षेत्रबाट भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको बताए । 

आध्यात्मिक चेतनाको अभिवृद्धि, धर्म–संस्कृतिको संरक्षण र राष्ट्रमा शान्तिको कामनासहित आयोजना गरिएको यस अनुष्ठानबाट प्राप्त दानराशि मन्दिर परिसरमा ५०० किलोग्राम तौलको घण्ट स्थापना गर्न प्रयोग गरिने अध्यक्ष दवाडीले जानकारी दिए । 

इन्द्रमती र इक्षुमती नदीको प्रस्रवणस्थलका रूपमा परिचित विष्णुदेवीधाम भगवान् शिवका ६४ ज्योतिर्लिङ्गमध्ये ४९औँ गोलोकेश्वर ज्योतिर्लिङ्गको उत्पत्तिस्थल मानिन्छ ।

मन्दिरको संरक्षण र धार्मिक गतिविधिको विस्तारका लागि समितिले योग सेवा, हार्मोनियम, तबला तथा शास्त्रीय भजन प्रशिक्षण, लोकभजन र खैँचडी भजन तालिम, ज्येष्ठ नागरिक दिवा सेवा, क्रियापुत्री भवन सञ्चालन तथा प्रत्येक सोमबार आयोजना हुने शिव–गङ्गा आरतीलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष दवाडीले बताए । 

कथावाचक पं. लोकनाथाचार्यले समितिले धामको विकासका लागि निरन्तर गर्दै आएको योगदानबाट प्रभावित भएर निमन्त्रणा स्वीकार गरेको उल्लेख गरे । 

यज्ञ संयोजक भण्डारीका अनुसार गत वर्ष आयोजित शिवपुराण कथामा समेत भक्तजनहरूको उत्साहजनक सहभागिता रहेको र कथावाचन शैलीप्रति सकारात्मक प्रतिक्रिया प्राप्त भएकाले दोस्रो पटक पनि पं. सुदीप लोकनाथाचार्यलाई नै कथावाचनका लागि आमन्त्रण गरिएको हो । जेठ ३ गते शोभा कलश यात्रासहित प्रारम्भ भएको यो माहात्म्य कथा आगामी असार १ गतेसम्म सञ्चालन हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ