arrow

ट्राफिक प्रहरीद्वारा सात महिनामा तीन हजार सवारी साधनलाई कारबाही

logo
राम धामी,
प्रकाशित २०७७ फागुन १६ आइतबार
traffic-doti.jpg

डडेल्धुरा । चालु आर्थिक वर्षको पछिल्लो सात महिने अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले ट्राफिक नियम उलङ्घन गर्ने तीन हजार यातायातका सवारी साधनलाई कारबाही गरेर झन्डै १८ लाख राजश्व सङ्कलन गरेको छ ।

गत साउनदेखि माघ मसान्तसम्म तीन हजार सवारी साधनलाई कारबाही गरिएको हो । ट्राफिक नियम उलङ्घन गरेर कारबाहीमा परेका सवारी साधनामध्ये बस एक सय १७, ट्रक सात सय ५०, जिप एक हजार तीन सय ११, मोटरसाइकल पाँच सय ४८, ट्याक्टर दुई सय ७२ र अटो रिक्सा ४७ रहेका छन् ।

ट्राफिक प्रहरीको कारबाही परेका सवारी साधनहरुमाबाट १७ लाख ८९ हजार राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव निरीक्षक देवबहादुर खत्रीले बताए । पछिल्लो समयमा ट्राफिक प्रहरीले चेक जाँचमा कडाइ गरेको छ । ट्राफिक नियमको उलङ्घन गरेर सवारी साधन सञ्चालन गर्ने क्रम बढेसँगै ट्राफिक प्रहरीले चेक जाँचमा कडाइ गरेको कार्यालयले जनाएको छ ।

पछिल्लो समय मापसे चेक जाँचमा पनि कडाइ गरिएको छ । ट्राफिक प्रहरीले सक्रियता बढाएपछि कारबाहीमा पर्ने सवारी साधनको सङ्ख्यामा वृद्धि भएको हो । यहाँका प्रमुख राजमार्गसहित ग्रामीण सडकमा सञ्चालन हुने सवारी साधनहरू चेक जाँचका क्रममा कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

यातायातकर्मीहरुले भने जिल्ला ट्राफिक प्रहरी कार्यालयले नियमित रूपमा घुस नदिने सवारी साधनहरूलाई मात्रै जरिवाना गर्ने गरेको गुनासो गरेका छन् । घुस नलिएर ट्राफिक नियम उलङ्घन गर्ने सबैलाई कारबाही हुनुपर्ने यातायातकर्मी हरुको माग छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ