arrow

प्रतिनिधिसभा विघटन गरिएपछि जनतामा निराशा र आक्रोश पैदा हुनु राम्रो संकेत होइन: उपराष्ट्रपति

logo
प्रकाशित २०७७ फागुन ५ बुधबार
Nanda_b_pun.jpg

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतिनिधिसभा विघटन गरिएपछि राजनीतिक संकट गहिरिंदै जाँदा नेपाली जनतामा निराशा र आक्रोश पैदा हुनु राम्रो संकेत नभएको औंल्याएका छन् ।

बुधबार काठमाडौंमा नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनको उद्घाटन गर्दै देश यतिबेला राजनीतिक संकटको भूमरीमा परेकाले नेपाली जनतामा निराशा पलाउनु दुःखद भएको बताएका हुन् ।

‘देश यतिबेला राजनीतिक संकटको भूमरीमा छ । प्रतिनिधि सभा विघटन गरिएको छ र यसको विरुद्धमा प्रदर्शन भइरहेको छ,’उनले अघि भने, ‘पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीशहरु, संविधानविदहरु, नागरिकहरु, पत्रकारहरु र प्रायः सबै राजनीतिक दलहरुले प्रतिनिधसभा विघटन असंवैधानिक भनिरहेका छन् । यो राम्रो संकेत होइन ।’

उपराष्ट्रपति पुनले नेपाली जनता राजनीतिक स्थायित्व, समृद्धि, विकास निर्माण र आर्थिक सामाजिक परिवतर्तन साथै संविधान पालना गर्न चाहने भएकाले मुलुकमा राजनीतिक संकट गहिरिनु राम्रो संकेत नभएको बताए ।

पत्रकारहरुले परिवर्तनका हरेक चरणमा निर्णायक रुपमा काम गरेकाबारे प्रशंसा गर्दै उनले संविधानको प्रस्तावनामै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उल्लेख हुनु जनताको बलिदान र दशकौंको क्रान्तिबाट प्राप्त उपलब्धी भएको बताए ।

उनले भने, ‘गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक शासन व्यवस्थालाई सार्वभौम संविधान सभाबाट बनेको संविधानले व्यवस्था गरेको छ । प्रेस स्वतन्त्रता र अभिब्यक्ति स्वतन्त्रता व्यवस्था हुनु प्रेस जगतकै भूमिका महत्वपूर्ण छ ।’

उनले परिवर्तनकारी उपलब्धीहरुलाई संस्थागत गर्नुपर्ने बेलामा संविधानमाथि प्रहार भयो, देशलाई भूमरीमा पारियो, प्रतिगमन भयो भनी प्रश्न उठ्नु दुःखको कुरा हो भने । उपराष्ट्रपति पुनले संविधानलाई स्वस्थ्य राख्न र संविधानको पालना गर्नुपर्ने बताउँदै हरेक कानुनहरु संविधान सम्मत र प्रेसमैन्त्री बनाउनुपर्ने उनको सुझाव थियो ।

बुधबारबाट काठमाडौं प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा शुरु भएको नेपाल पत्रकार महासंघको महाधिवेशनको उदघाटन सत्रमा पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने पत्रकारहरुलाई सम्मान समेत गरियो ।  


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ