arrow

संसद विघटन : प्रधानमन्त्रीलाई विशेषाधिकार नदिएको तर्क

logo
प्रकाशित २०७७ माघ ६ मंगलबार
Supreme-Court-judges.jpg

काठमाडौँ । प्रतिनिधि सभा विघटन विरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको तेस्रो दिनको सुनुवाइ हेर्दाहेर्दै मङ्गलबारका लागि तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबारदेखि संवैधानिक इजलासमै सुनुवाइ गर्ने गरेपछि विषयकेन्द्रित बहस गरिएको तेस्रो दिनमा मंगलबार पाँच अधिवक्ताले बहस गरे ।
 
वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीले प्रतिनिधि सभा विघटन संवैधानिक  वा राजनीतिक विषय हो भन्नेबारेमा प्रष्टसँग बुझ्न संविधानको दृष्टिकोणबाट हेर्नुपर्ने तर्क राखे । उनले मंगलबार बहस शुरु मात्र गरेका थिए। उनले बुधबार पुनः बहस गर्नेछन् ।
 
अधिवक्ता रुद्र शर्माले कार्यपालिकाले व्यवस्थापिकाको विश्वास कायम गरेर काम गर्नुपर्ने भएकाले वर्तमान संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने विशेषाधिकार नदिएको तर्क प्रस्तुत गरे ।  अधिवक्ता हर्कबहादुर रावलले प्रतिनिधि सभाले प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा उनले  विघटन गर्न नपाउने तर्क राखे  ।  अधिवक्ता शिवकुमार यादवले पाँच वर्षका लागि निर्वाचन भएकाले साढे तीन वर्षमै  निर्वाचन गर्न नमिल्ने जिकिर गरे ।  
 
अधिवक्ता  शेरबहादुर ढुङ्गानाले प्रतिनिधि सभा विघटन असंवैधानिक रहेको जनाउँदै कानूनविरूद्व भएको  विघटन बदर गरी पुनःस्थापना हुनुपर्ने माग गरे । रिट निवेदक सन्तोष भण्डारीका तर्फबाट उनीहरुले बहस गरेका थिए। रिट निवेदकका तर्फबाट ३१० जनाले वकालतनामा हालेका छन् ।
 
गत पुस ११ देखि सर्वोच्च अदालत, संवैधानिक इजलासमा सुनुवाइ शुरु भई क्षेत्राधिकार विवादमा बहस भएपछि संवैधानिक इजलासमै सुनुवाइ गरिने भनी यही माघ २ गते आदेश भएको थियो ।  
 
उक्त विवादमा संवैधानिक इजलास वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भनेर गत पुस २२, २९ गते हुँदै यही माघ २ गते संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय भएको हो । रिट निवेदक १३ जनामध्ये ११ जनाले उक्त विषय बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने माग गर्दै पूरक निवेदन दिएकाले क्षेत्राधिकारका विषयमा लामै बहस र छलफल भयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ