arrow

बन मुद्धाका आरोपितलाई बनको साँचो

मुम्बईमा दादागिरीदेखि वन मन्त्रीसम्मः प्रेम आलेको यस्तो छ नालिबेली

मुम्बईमा दादा हुने भयो भनेर डोटी ल्याइएका आलेको अहिले सरकारमा चल्छ दादागिरी

logo
प्रकाश बम
प्रकाशित २०७७ पुष २० सोमबार
prem-ale.jpg

डोटी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले वन मुद्दा लागेका व्यक्तिलाई नै वन मन्त्रीको पद उपहार दिएको छ । डोटीबाट संघीय संसद रहेका प्रेमबहादुर आले काठ मुद्दामा अदालतले तानेको प्रमाण प्राप्त भएको छ । राजनीतिमा प्रवेश गर्नु अघिदेखि काठ व्यवसाय सुरु गरेका आलेलाई आजभन्दा २२ वर्षअघि डोटीको जिल्ला विकास समिति सदस्य रहेका बेला उनलाई वन मुद्दा परेको थियो । 

जिल्ला विकास समितिको डोटीको सदस्य रहेकै बेला आलेले अवैध रुपमा काठ कटानी गरेको फेला पारेपछि तत्कालीन वन रक्षकद्वारा उनीविरुद्ध जिल्ला अदालत डोटीमा अवैध काठ कटानी गरी ओसारपसार गरेको मुद्दा दर्ता गरिएको थियो । २०५५ वैशाख १० गतेका दिन साविकको छतिवन गाविस वडा नम्बर ९ रुवसकाँडा बस्ने प्रेमबहादुर आले र छतिवन–८ का राधेश्याम बडाऐरसमेतले मिलेर छतिवन गाविसका वडा नम्बर ५ र ८ मा रहेको वनबाट अवैध रुपमा ११ हजार २ सय ३२ दशमलव ८४ क्युफिट काठ कटाएको प्रमाणित भएकाले वन ऐन २०४९ को दफा ४९ (घ) र (ङ) को कसुरमा सोही ऐनको दफा ५० (१) (घ) ४ नम्बर बमोजिम बिगो ४ लाख ४९ हजार ३ सय १४ रुपैयाँ ८० पैसाको दोब्बर रुपैयाँ र एक वर्ष कैद गर्न र बरामद काठ जफत गरी कारबाही गरिपाउँ भन्दै वनरक्षकले जिल्ला अदालतमा अभियोग पत्र पेश गरेका थिए ।

अदालतमा पेश गरेको जाहेरीमा तत्कालीन वन रक्षक प्रेमबहादुर खड्काले सँगै उजुरी दिएका राधेश्याम बडाऐरलाई २०५५ वैशाख २१ गते पक्राउ गरिसकिएको र अर्का प्रतिबादी आले उच्छृङ्खल मानिस भएकाले पत्र बुझाउन नसकी हुलाकबाट रजिष्ट्री गरी पत्र बुझाए पनि पक्रन नसकेको उजुरी पत्रमा उल्लेख छ । यसबाट पनि के पुष्टि हुन्छ भने त्यतिबेलै पनि आले उच्छृङ्खल मानिस थिए । पत्रमा अगाडि भनिएको छ–‘उजुरी दिने मेरो ज्यू ज्यानको खतरा भएकाले सुरक्षा गरिदिन भन्दै जोरायल प्रहरी चौकी बुडरलाई पत्राचार गरिएको छ ।’

यस्तै आलेले वन मुद्दामा आफ्ना सहोदर मामा इन्द्रबहादुर सिँजालीलाई प्रयोग गरेको स्रोत बताउँछ । स्रोतका अनुसार–‘त्यसबेला आलेलाई वन मुद्दा लागेपछि आफ्ना तर्फबाट सहोदर मामा इन्द्रबकादुर सिँजालीलाई उभ्याएका थिए । यि र यस्तै गलत क्रियाकलापमा आफ्ना पछाडि मामालाई उभ्याएर साक्षी बनाई गलतलाई सही बनाउँदै आएका आलेले आफ्ना मामालाई विभिन्न प्रलोभन समेत देखाएका थिए ।’ पछि भान्जा आलेसँग सम्बन्ध बिग्रिएपछि मामा इन्द्रबहादुरले आत्महत्या गरेको स्थानीय बताउँछन् । 

को हुन् आले ? 

पञ्चायत कालमा उप–प्रधान रहेका सहजपुरका पदमबहादुर रानाकी बहिनी बिष्नालाई विवाह गरेका थिए टेकबहादुर आलेले । विवाहपश्चात् भारतको मुम्बई हानिएका टेकबहादुरकी पत्नी उतै वितिन् । टेकबहादुरकी पत्नी बिष्नाकी आमा पहिलो घर (सहजपुर)बाट रुवसकाँडामा रहेका पर्शुराम सिँजालीसँग भागेर विवाह गरिन् । बिष्नाकी आमाले सिंजाली परिवारमा पुनः एउटी छोरी (गंगा) जन्माइन् । उता ज्वाइँले भारतको मुम्बई लगेकी छोरी बिष्नाको मृत्यु भएर एक्लो जीवन विताइ रहेका ज्वाइँ टेकबहादुरलाई घरमा बोलाउन थालिन् । सिँजाली पट्टीबाट जन्मेकी छोरी गंगा हुर्कदै गइन् । पछि विदुर रहेका ज्वाइँलाई सिँजाली पट्टीबाट जन्मिएको छोरी गंगालाई सुम्पिइन् । भारतमा रोजगारी गर्दै आएका टेकबहादुरको अर्की पत्नी गंगादेवीबाट २०२८ सालमा जन्मिए प्रेमबहादुर आले । उनै प्रेमबहादुरलाई भारतको मुम्बईमा रोजगारी गर्दै पढाउँदै आएका थिए टेकबहादुरले । टेकबहादुरको भारतको मुम्बईमा रेल्बे स्टेशनमा जागिर थियो । रेल्बे स्टेशन नजिकको बसाइँमा टेकबहादुरको छोरा प्रेमबहादुर त्यहाँका गुण्डागर्दी गर्ने युवाहरुसँग संगत हुन थाल्यो । प्रेमबहादुर पढाइमा भन्दा गुण्डागर्दीमा ध्यान दिन थाले । छोरा बिग्रन थालेको भन्दै टेकबहादुर प्रेमबहादुरलाई १७ वर्षको भएपछि २०४५ सालतिर कैलालीको रुबसकाँडा आए । रुबसकाँडामा ससुरालीकै नजिक घर बनाएर बस्न थाले । स्रोतका अनुसार– टेकबहादुरले छोरा मुम्बईमा दादा बन्न थालेपछि उसको गलत व्यवहार सुधार्न आफू रुबसकाँडा आएको पटकपटक बताउँथे । 

भारतबाट रुबसकाँडा आएकै बेला प्रेमबहादुरले कांग्रेसको सदस्यता लिएका थिए । कांग्रेसबाट वडा अध्यक्षको टिकट नपाएपछि भने उनी तत्कालीन एमालेमा प्रवेश गरेका थिए । उनलाई जान्नेहरु भारतको मुम्बईबाट रुबसकाँडा आएपछि प्रेमबहादुर ‘दादा’ नै रहेको बताउँछन् । उनी टोल छिमेकमा लडाइँ गर्थे । भारतबाट १७ वर्षको उमेरमा रुबसकाँडा आएका प्रेमबहादुरले भने त्यहाँ आएपछि पढाइ गरेका थिएनन् । उनी कति पढेका हुन् भन्ने प्रश्नमा एक स्थानीयले भने–‘भारतमा जति पढ्यो थाहा भएन, तर नेपाल आएपछि भने ऊ स्कुल जाँदै गएन ।’ 

कसरी गर्थे काठको कारोबार ?

२०५५ सालताका व्यक्तिले काठको कारोबार गर्न पाउँथ्यो । त्यतिबेला फर्म हुँदैनथ्यो । फर्म नभएकै बेला उनले व्यक्तिगत रुपमा काठको कारोबार गरे । त्यही समयमा व्यक्तिगत रुपमा काम गरेकै बेला उनलाई वनमुद्दा लागेको थियो । पछि बुडर तथा गैरा क्षेत्रका अधिकांश सामुदायिक वन आलेले कब्जामा लिएका थिए । उनी त्यहाँका वन समितिलाई नियन्त्रणमा लिएर काठ कटाउँथे र पछि धनगढी तथा अत्तरियाका काठ मिलको फर्मलाई बेच्न सहयोग गर्थे । काठ मिललाई बेचेबापत बीचमा कमिशन खाने आले आफूसँगै केही आसेपासेलाई पनि प्रयोग गर्थे । वन मुद्दा लाग्नुअघि फर्म बनाउने सोच राखेका आलेले मुद्दापछि भने सोच बदलेर अर्काको फर्मबाटै काम गर्न थालेको उनलाई नजिकबाट जान्नेहरू बताउँछन् । उनले प्राय सबैभन्दा बढी काम अत्तरियास्थित लालबहादुर बम गणेश सः मिलको फर्मबाट काम गरे । त्यस्तै धनगढीका भीमबहादुर साउँदको सिद्धनाथ फर्निचर उद्योग, बैतडीका गजेन्द्रबहादर चन्दको हटैराज फर्निचर उद्योगका कागजात प्रयोग गरेर डोटीबाट धनगढीमा काठ ल्याउने गरेका थिए । स्रोतका अनुसार उनले आफैले लगानी गरेमा कागजात प्रयोग गरेका उद्योग तथा सः मिललाई महँगोमा काठ बेच्थे भने उद्योग तथा सः मिलले लगानी लगाएमा बीचमा बिचौलिया बनेर कमिशन खाने गर्थे । त्यसैबेला बुडरमा रहेको तत्कालीन इलाका वन कार्यालयमा सहायक वन अधिकृतका रुपमा सुरेशचन्द्र डिसी आएका थिए । डिसी पनि गुण्डागर्दी छबीका कर्मचारीका रुपमा चिनिन्छन् । उनै डिसीसँग मिलेर डोटीको काठ काठमाडौंसम्म पनि पुर्‍याएको उनका नजिकका एक जनाले बताए ।

डिसीको घर दाङ हो । आलेको डिसीसँग धेरै राम्रो सम्बन्ध छ । आलेसँग व्यक्तिगत सम्बन्ध राम्रो भएका कारण उनी धेरै समय बुडर र बीपीनगरमा बसेका थिए ।  स्रोत भन्छ,‘सेटिङका लागि माहिर हुन् डिसी ।’ गत वर्षको साउन २६ गते डोटीको बिपीनगर सब–डिभिजन बन कार्यालयका सहायक वन अधिकृत डिसी डडेल्धुराको भात्काँडामा घुस रकम सहित समातिएका थिए । अख्तियारको टोलीले उनलाई तीनलाख २६ हजार घुस रकमसहित समातिएका थिए । ठेकेदारलाई काठ मिलाइदिने भन्दै ठेकेदारबाट उनले त्यो घुस लिएको अख्तियारले जनाउँछ । त्यसपछि अख्तियारले उनलाई निलम्वन गरेको छ भने विशेष अदानलतमा मुद्दा चलिरहेको छ ।
असार दोस्रो साता वैज्ञानिक वनको अनुगमनका क्रममा आलेले उनी निलम्बित सहायक वन अधिकृत डिसीलाई कैलालीसम्म बोकेर आएका थिए । क्याप टोपी र मुखमा माक्स लगाएर अनुहार नचिनिनेगरी कैलालीको अनुगमनमा डिसीलाई आलेले ल्याएका थिए । 

सधैं विवादमा अल्झने आले 

असार दोस्रो साता सामाजिक सञ्जाल भर डोटीबाट निर्वाचित सांसद प्रेमबहादुर आलेको आलोचना भयो । आलोचना हुनुको कारण थियो–सामुदायिक वनका अध्यक्षलाई ‘टाउको तल गर,म को हुँ चिन्छस्’ भन्ने धम्कीपूर्ण भाषा । उनी संघीय सरकारले गठन गरेको सार्वजनिक लेखा समितिको उपसमिति अन्तर्गत बनेको समितिका सदस्य भएर कैलाली पुगेका थिए । सार्वजनिक लेखा उपसमितिका संयोजक प्रदिप यादवसहित कैलाली आएका आले ठूलै युद्ध लड्ने जाने तयारीझैँ दलबल र गुण्डा लिएर सामुदायिक बनको अनुगमनमा निस्केका थिए । उनी कैलालीको लम्कीमा पुगेर वन समितिका अध्यक्षलाई हप्काउन थाले । उनको भाइरल भएको भिडियो थियो महोन्याल गाउँपालिका वडा नम्बर ३ फलेबिसौनाको जनकल्याण सामुदायिक वनका अध्यक्ष जनक गिरीलाई झपार्दै गरेको । उनले अध्यक्ष गिरीलाई ‘म को हुँ, चिन्छस् । के मुखमा हेरेको टाउको तल गर । त साले बढ्ता कुरा गर्छस् ।’ भनेर थर्काएका थिए ।

कहिले संसदको लेटरप्याड दुरुपयोग गरेर चर्चामा आउने सांसद आले समय समयमा विवादमा अल्झिरहन्छन् । उनी केही समय अघि वाइडवडी विमान, चिनीको परिणात्मक बन्देज, डेडिकेटेड लाइनमा देखिएको विवाद, सिमेन्टको नयाँ मापदण्ड र मुद्रण प्रेस खरिदका सबै विषयमा सांसद आले शंकास्पद भूमिकामा देखिएका पात्र हुन् । यस्तै आलेलाई बेला बेलामा बन तस्करको आरोप लागि रहन्छ । वैज्ञानिक वन व्यवस्थापन प्रणाली नै खारेज गर्नुपर्ने भन्दै अभिव्यक्ति दिँदै आएको आलेको भूमिका शंकास्पद देखिदै आएको छ । वैज्ञानिक वनका विषयमा आफ्नो निहीत स्वार्थ पूर्ति नहुने र भने जति र सबै ठाउँबाट काठ काट्न नमिल्ने, प्राविधिकरूपमा आँकलन गरिसकेपछि मात्र रूख कटान हुने भएपछि तस्करी र व्यापार नै डामाडोल हुने देखेर विरोध गर्दै आएको उनलाई नजिकबाट चिन्ने काष्ठ व्यवसायी बताउँछन् ।

कहाँ घर, कहाँ छ शेयर ?     

काठमाण्डौं महानगरपालिका वडा नम्बर ३४ पुरानो वानेश्वर चोकमा उनको आलिसान महलका साथै धनगढीमा पनि सुविधा सम्पन्न भवन निर्माण गरेका छन् । उनी अहिले दुई करोड पर्ने पजेरोमा चढ्ने गरेका छन् । त्यसको प्रमुख आय भने काठ व्यवसायनै रहेको स्रोत बताउँछ । त्यती मात्रै हैन आलेले निजी कलेज, प्राविधिक शिक्षाका लागि संम्बन्धन दिलाउने नाममा पनि कमिशन लिने गरेको पाइएको छ । सुदूरपश्चिमका विभिन्न स्थानमा निजी क्षेत्रबाट सञ्चालित प्राविधिक शैक्षिक संस्थालाई स्वीकृति दिलाउने नाममा आलेले करोडौं घुस खाएको आरोप लाग्ने गरेको छ । माधवकुमार नेपाल प्रधानमन्त्री भएको समयमा धनगढीस्थित शैलेश्वरी नर्सिङ कलेजलाई सम्बन्धन दिलाउन भूमिका खेलेका थिए । सम्बन्धन गरिदिएवापत उनले १० प्रतिशत शेयर पाएका थिए । तीन चार वर्षअघि मात्रै उनले शैलेश्वरीको शेयर बेचेका छन् ।  यस्तै उनको काठमाडौंस्थित जनता टेलिभिजनमा पनि ५ लाखको शेयर छ । ‘७० को संविधानसभा निर्वाचनपछि काठमाडौंमा आलिसान भवन निर्माण, जग्गाको उपलब्धी, धनगढी–५ तारानगरमा निर्माण गरिएको सुबिधा सम्पन्न भवन निर्माण आलेको चमत्कारी कमाई हो,’ एक नेताले भने, ‘सांसद हुँदैमा यति धेरे सम्पत्ति आर्जन गरेको हालसम्म देखेको छैन, नत आलेको अन्य बैकल्पिक आयको माध्यम नै देखिन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ