arrow

सरकार गठनमा सघाउन काँग्रेसलाई एमालेको लिखित आग्रह

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
518010153.jpeg

काठमाडौँ । नेकपा (एमाले)ले आफ्ना अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठनमा सहयोग गर्न आज प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइरालालाई औपचारिक आग्रह गरेको छ । एमालेका अध्यक्ष ओलीसहितको उच्चस्तरीय टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा आज भेटी कोइरालालाई सो आग्रहसहितको पत्र बुझाएको हो । एमालेले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय स्थायी कमिटीको बैठकले गरेको थियो ।

भेटपछि अध्यक्ष ओलीले विगतमा संविधान निर्माण गर्न प्रमुख दलमा गरिएको एकता, सहकार्य र सद्भावनाको मूल्याङ्कन गर्दै भावी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गरिएको बताउनुभयो । उहाँले जवाफमा प्रधानमन्त्री कोइरालाले आफूले भद्र सहमतिअनुसार सहयोग गर्छु भन्दै आएको तर पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरेपछि आधिकारिक जवाफ दिने बताउनुभएको थियो । अध्यक्ष ओलीले भूकम्पपछिको पुनः निर्माण, नयाँ संविधान कार्यान्वयनका लागि सहमतिका आधारमा विभिन्न कानुनको निर्माण र कार्यान्वयनका लागि प्रमुख दलसँगै हुनुपर्नेमा आफूले जोड दिएको बताउनुभयो ।

पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री कोइरालाले आफू सहमतिको सरकार गठनका लागि सकारात्मक रहेको र विगतको सहमतिलाई पनि ध्यानमा राखेको तर पार्टीले समर्थन गर्ने नगर्ने भन्नेबारेमा केन्द्रीय कमिटीको जारी बैठकले संस्थागत निर्णय गरेपछि स्पष्ट हुने बताउनुभयो । भेटमा अध्यक्ष ओलीका साथ एमालेका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष विद्यादेवी भण्डारी, सचिव प्रदीप ज्ञवालीसहितका नेता सहभागी हुनुहुन्थ्यो । राष्ट्रपति डा रामवरण यादवले सहमतिका आधारमा नयाँ प्रधानमन्त्री चयनका लागि सात दिनका लागि दिनुभएको समयको आज अन्तिम दिन एमालेले आफ्नो नेतृत्वको सरकार गठनका लागि सक्रियता देखाएको हो भने अन्य दल पनि आन्तरिक छलफलमा जुटेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ