काठमाडौंमा यो वर्षकै सबैभन्दा चिसो, यस्तो छ देशभरको अवस्था
प्रकाशित २०७७ पुष १४ मंगलबार
576
Shares
काठमाडौं । काठमाडौं उपत्यकामा यो वर्षकै सबैभन्दा चिसो भएको छ । मंगलबार बिहान उपत्यकाको न्यूनतम तापक्रम १.१ डिग्री सेल्सियसमा झरेको छ । यो यस वर्षकै सबैभन्दा कम भएको मौसमविद् सजिना शाक्यले जानकारी दिइन् ।
उनले आगामी हप्ता अझै तापक्रम घट्ने बताइन् । यसअघि गत हप्ता तापक्रम १.२ डिग्रीसम्म घटेको थियो । उनले मौसम सफा भएका कारण चिसो झन् बढेको बताइन् ।
बिहानको समयमा देशैभर हुस्सु र कुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
हाल देशको पहाडी भूभागमा मौसम सामान्यतया सफा रहेको छ र तराई भूभागमा हुसु्–कुहिरो लागेको छ । राति सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
महाशाखाले तापक्रम चिसो रहिरहने तथा तराई–पहाडी भूभागका केही स्थानमा बिहानीपख हुस्सु–कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।