विशेष अधिवेशन माग गर्ने ८३ सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमै हरायो, खुसुक्क पठाइयो ओलीलाई
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष १ बुधबार
537
Shares
काठमाडौं। नेकपाका दुई सांसद भीम रावल र पम्फा भूषाल संसदको विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालय पुगेपनि उनीहरुले प्रस्ताव दर्ता नगरी फर्के। प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको अध्यादेश भने राष्ट्रपति कार्यालय पुगेको एकाध घण्टामै स्वीकृत भएपनि ८३ जना सांसदले संसदको विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालय पुग्दा निवेदन नै दर्ता हुन सकेन।
अपराह्न १ बजे शुरू हुने भनिएको बैठकअघि नै रावल र भुसाल ८३ जनाको हस्ताक्षर बोकेर संसद्को विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय पुगेका थिए। तर राष्ट्रपतिलाई सोधेर दर्ता गर्छु भन्दै कार्यालय सचिव डा. हरि पौडेल हस्ताक्षर बोकेर भित्र छिरेपछि उनी बाहिर आउदै आएनन। भुसाल र रावल दुवैले सचिव कुरेर बसिरहे तर घन्टौंसम्म पनि सचिव नआएपछि उनीहरुले लगेको निवेदन र हस्ताक्षर दुवै कार्यालयमा अड्कियो।
स्रोतका अनुसार बैठक चलिरहेका बेला सो हस्ताक्षर सिधै फोटोकपी गरेर वालुवाटार पठाइएको थियो। त्यसमा ओलीले विश्वास गरेका केही सांसदहरुको समेत हस्ताक्षर रहेको स्रोतको दावी छ। आफूसँग ९२ सांसद दावी गरिरहेको ओली पक्षले शितल निवासमा पुगेको हस्ताक्षर देखेपछि झस्किएको थियो।