arrow

सुदूरपश्चिममै सूर्योदय र सूर्यास्त देखिने कस्याँ टाकुँरो

logo
राम धामी,
प्रकाशित २०७७ मंसिर १० बुधबार
suryodaya-dadheldhura.jpg

डडेल्धुरा । भौतिक पुर्वाधार विकास भईरहेको डडेल्धुरा सदरमुकाम नजिकै रहेको कस्याँ टाकुँरोबाट सुर्योदयको दृष्यावलोकन गर्नेको संख्या दिनहुँ बढ्दै गएको छ ।  डडेल्धुरा सदरमुकामदेखि ११ किलोमिटर दुरीमा रहेको कस्याँ टाकुँरोबाट सुर्योदय र सुर्यास्तको दृष्य रमरणीय देखिने भएकाले अवलोकनकर्ताहरुको संख्या बढ्दै गएको हो । डडेल्धुरा-बैतडी जोड्ने महाकाली राजमार्गको सुर्कालदेखि १५ मिनेट पैदल उकालो चढ्दा कस्याँ टाकुँरोमा पुगिन्छ ।  सुर्योदय र सुर्यास्तको दृष्यावलोकन गर्नेहरु अचेल कस्याँ टाकुँरो पुग्ने गरेका छन ।

अमरगढी नगरपालिका-७ पोखरा बजारमाथि मनमोहक कस्याँ टाँकुरो अवस्थित छ । यसको उचाई समुद्र सतहदेखि १९ सय २५ मिटर छ । कस्याँ टाँकुरोबाट सुर्योदयका साथै प्राकृतिक रुपमै डडेल्धुराको आधा बढी भु भागसंगै डोटी, अछाम, बैतडी र भारतको उत्तराखण्डको दृष्यावलोकन गर्न सकिन्छ ।

बिहान सुर्योदय र बेलुकी सुर्यास्तको दृष्य मनमोहक हुने भएकाले पछिल्ला दिनहरुमा अवलोकनकर्ताको संख्या बृद्धि हुदैं गएको डिभिजन वन कार्यालय डडेल्धुराका प्रमुख विष्णुप्रसाद आचार्यले बताए । आचार्य हाल नियमित सुर्योदयको अवलोकन गर्न कस्याँ टाँकुरो पुग्ने गरेको बताउछन् । उनी कस्याँ टाँकुरोलाई इलामको अन्तु डाँडा र भक्तपुरको नगरकोटसँग तुलना गर्छन् । ‘सूर्योदय र सूर्यास्त हेर्नको लागि पैसा खर्च गरेर इलाम र भक्तपुर पुग्नुभन्दा कस्याँ टाँकुरो पुग्न सुदूरपश्चिमवासीलाई सुझाव दिन चाहन्छु ।’ उनले भने ।

कस्याँ टाँकुरो पर्यटकीय सम्भावना बोकेको ठाउँ भएकाले अमरगढी नगरपालिकाले चालु आर्थिक बर्षमा ७२ लाखको बोलपत्र आह्वान गरी भौतिक पुर्वाधार निर्माण कार्य सुरु गरिएको  नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले बताए । उनले कस्याँ टाँकुरोलाई जिल्लाकै महत्वपुर्ण पर्यटकीयस्थलका रुपमा विकास गर्न अमरगढी नगरपालिकाले दिर्घकालिन योजना बनाएर बर्षेनी लगानी गर्ने बताए ।

दशरथ चन्द राजमार्गको पश्चिममा सडकसँगै जोडिएर रहेको कस्याँ टाँकुरो धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल हो । डडेल्धुरा जिल्लाका सबैभन्दा अग्लो डाँडामध्येको यसलाई प्राचीन, धार्मिक तथा ऐतिहासिक डाँडाको रूपमा मानिन्छ । कस्याँ टाँकुरो डाँडामा परापूर्वकालमा राजा हरि शाहीको दरबार रहेको स्थानीय शोवम् भण्डारी बताउछन् । ‘कासाको थाल जस्तो भएकोले यसको नाम कस्याँ टाँकुरो राखिएको हो । पहिले यहाँ राजाको भब्य दरबार, हातहतियार राख्ने ठाउँ, पानी खाने नौलो र बस्ने घर समेत थियो,’ उनले भने,‘तलबाट अपरिचित व्यक्ति कस्याँ टाँकुरो चढन गएमा माथिबाट ढुंगामुढा हानेर धपाउने कार्य हुन्थ्यो ।’

नवदुर्गा गाउँपालिका-४ का खुनी गाउँ बस्ने केशे विष्टले राजाका भारदारसंग झगडा गर्दा शाहीका भारदारहरूले हत्या गरेको ठाउँ भएकाले यसलाई पछि कस्याँ टाँकुरो नामकरण गरिएको स्थानीय इतिहासविद् भोजराज भट्टराईले बताए । उनले कस्याँ टाँकुरोमा २०-२५ वर्षअघिसम्म ढुङ्गाको मन्दिर रहेको खाना पकाउने केही भाँडाकुँडासमेत रहेको बताए । उनका अनुसार १३ सताब्दीका चर्चित डोटेली राजा नागी मल्लसहित लेगी समैजी, शिखर, शैलेश्वर महादेव, शिद्धागात, भूमिराज, उग्रतारा भगवती माताको धार्मिक क्षेत्रका रूपमा पनि कस्याँ टाँकुरोलाई लिइने गरिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ