पूरै शुल्क असुल्ने काठमाडौं विश्वविद्यालयको नियतविरुद्ध उत्रिए विद्यार्थीहरु
प्रकाशित २०७७ कार्तिक २५ मंगलबार
534
Shares
काठमाडौं । काठमाडौं विश्वविद्यालयले कोरोना भाइरसको महामारीको कारण नियमित रुपमा पठनपाठन नभएको अवस्थामा पनि सामान्य अवस्थामा जसरी शुल्क बुझाउन भनी २२ आश्विन, २०७७ मा प्रकाशन गरेको सूचना खारेज लगायतको चार बुँदे माग राखी विद्यार्थी प्रतिनिधिहरु शैलेश मिश्र, सृजना श्रेष्ठ आएशा शाक्य र सादाव खान लयायतका साथीरुको अग्रसरतामा विश्वविद्यालयका विद्यार्थीले गरेको रिले अनशनप्रति नेपाल विद्यार्थी संघ, केन्द्रीय समितिले पूर्ण समर्थन रहेको जनाएको छ ।
नेविसंघका अध्यक्ष राजिब ढुङ्गानाले प्रेस विज्ञप्ति जारी गर्दै विश्वविद्यालयमा नियमित रुपमा पठनपाठन नभएको अवस्थामा पनि विभिन्न बहानामा शुल्क मात्र उठाउने प्रयोजन विश्वविद्यालयको हुनुहुन्न भन्ने मान्यतामा नेपाल विद्यार्थी संघ सॅधै अडिग रहेको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘अझ यस्तो प्रतिकुल अवस्थामा समेत ढिलो शुल्क बुझाउँदा लाग्ने थप चार्ज समेत लिइनु घोर आपत्तिजनक छ। काठमाडौं विश्वविद्यालयमा अध्ययनरत साथीहरुले राखेका सम्पूर्ण मागहरु तत्काल पुरा गर्नका लागि नेपाल विद्यार्थी संघ केन्द्रीय समिति, काठामाण्डौ विश्वविद्यालय समक्ष जोडदार माग गर्दछ । काठमाडौं विश्वविद्यालयले विद्यार्थी साथीहरुको जायज मागहरु प्रति उदासिनता देखाएको खण्डमा नेपाल विद्यार्थी संघ केन्द्रीय समिति आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत दिन चाहन्छु ।’