arrow

क्वारेन्टिन हटाउने प्रदेश विपद् व्यवस्थापन केन्द्रको निर्णय

logo
प्रकाशित २०७७ कार्तिक १९ बुधबार
quran1.jpg

कर्णाली । प्रदेश विपद् व्यवस्थापन केन्द्रले हाल सञ्चालनमा रहेका सबै क्वारेन्टिन हटाउने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षतामा बुधबार बसेको केन्द्रको बैठकले खाली गरिने क्वारेन्टिनका सामान नेपाली सेनाको जिम्मा लगाउने निर्णय गरेको छ । 

क्वारेन्टिन हटाइए पनि सबै सामान सुरक्षित राखेर आवश्यक पर्दा व्यवस्थापन गर्न सकिने गरी सेनाको जिम्मा लगाइएको छ । सार्वजनिक क्वारेन्टिनको साटो प्रदेश सरकारले होम क्वारेन्टिनलाई जोड दिएको छ । यसले गर्दा सरकारी तथा सार्वजनिक खर्चमा मितव्ययिता हुनाका साथै  व्यक्ति स्वयंलाई मानसिक रुपले स्वस्थ रहन मद्दत पुग्ने प्रदेश सरकारको अपेक्षा छ ।

 “सार्वजनिक क्वारेन्टिनमा बस्न नागरिकहरु अनिच्छुक रहेकाले बनाइएका क्वारेन्टिन खाली गर्न लागेको हौं”, सामाजिक विकासमन्त्री दल रावलले भने, “हाललाई होम क्वारेन्टिनको प्रभावकारितामा जोड दिने र पछि आवश्यक परेका खण्डमा पुनः सञ्चालन गर्न सकिनेछ ।” व्यवस्थापनको कमीका कारण नागरिक क्वारेन्टिन बस्न नचाहने समस्या रहँदै आएको थियो । 

प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण रोकथामका लागि तिहारका बेला देउसीभैलोलगायत जमघटलाई निषेध गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ । त्यस्तै कोरोना उपचारका लागि विभिन्न राष्ट्रबाट प्राप्त हुने खोपका सम्बन्धमा सङ्घीय सरकारबाट प्राप्त स्वीकृतिबमोजिम केकति आवश्यक पर्ने हो भन्ने सम्बन्धमा पूर्वतयारी गर्न बैठकले सामाजिक मन्त्रालयलाई निर्देशन दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ