काठमाडौं । भारतीय अघोषित नाकाबन्दी विरुद्ध मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले भारतीय राजदुतावास घेराऊसहितका आन्दोलन गर्ने घोषणा गरेको छ । पार्टीको केन्द्रीय सचिवालयको बैठकले अघोषित नाकाबन्दीसँगै इन्धनको अभाव, महङ्गी, कालाबजारीलगायत राष्ट्रियता, जनतन्त्र तथा जनजीविकासम्बन्धी समस्यालाई लिएर आन्दोलन गर्ने निर्णय गरेको छ ।
निर्णय अनुसार पार्टीले मंसिर ७ गते दिउँसो भारतीय दूतावासमा ज्ञापनपत्र दिने र १ बजेदेखि ३ बजेसम्म दुई घण्टा धर्ना दिने, मंसीर ९ गते प्रधानमन्त्रीको कार्यालयमा विरोधपत्र दिने, सिंहदरबार अगाडि १ बजेदेखि ३ बजेसम्म दुईघण्टा धर्ना दिने र ११ गते देशका प्रमुख सहर तथा विभिन्न भागहरूमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
पहिलो चरणको कार्यक्रम सकिएपछि दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने बैठकले निर्णय गरेको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ ।