सत्याग्रहीको अभियानमा गणेशमान सिंह अध्ययन प्रतिष्ठानको ऐक्यवद्धता
प्रकाशित २०७७ साउन २२ बिहिबार
910
Shares
काठमाडौँ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीले वसन्तपुरमा १८ दिनदेखि सत्याग्रह बसेका इनफ इज इनफ युवाहरुको माग तत्काल पूरा गर्न आग्रह गरेका छन् । उनले बिहिबार एक विज्ञप्ति जारी गरी कोभिड–१९ नियन्त्रणका लागि पारदर्शी एवं प्रभावकारी उपचारको माग राख्दै १८ दिनदेखि सत्याग्रह बसेका युवाको माग तत्काल पूरा गर्र्नुपर्नेमा जोड दिएका छन्।
“कोभिड–१९ को प्रभावकारी उपचारको माग राखी अनशन बसेका युवाको स्वास्थ्य अवस्था प्रतिकूल बन्दै गएको छ, यी आन्दोलनकारीको मागप्रति प्रतिष्ठान ऐक्यबद्धता व्यक्त गर्दछ, सरकारले आन्दोलनकारीको माग तत्काल पूरा गर्नुपर्छ”, अध्यक्ष जोशीले भने ।
अध्यक्ष जोशीले अस्पतालको क्षमता वृद्धि गर्दै पिसीआर परीक्षण र सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङमार्फत संक्रमणको उच्च जोखिमस्थल पहिचान गरी आवश्यक सावधानी अपनाउनुपर्ने उल्लेख गरे । सङ्कटको घडीमा आम नागरिकको सुरक्षा पूरा गर्ने दिशातर्फ सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ ।
प्रतिष्ठानले आम नागरिकलाई सामाजिक दूरी कायम राख्दै, मास्क लगाउने, साबुनपानीले हात धुने र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रहसमेत गरेको छ ।