प्राध्यापकले प्रधानमन्त्रीलाई पठाए २० बुँदे ज्ञापनपत्र, महँगी भत्ताको माग
प्रकाशित २०७७ असार ३० मंगलबार
681
Shares
काठमाडौँ । नेपाल प्राध्यापक संघले मूल्यवृद्धिको अनुपातमा प्राध्यापक तथा कर्मचारीलाई तत्काल महँगी भत्ताको व्यवस्था गर्न माग गरेको छ ।
संघले मंगलबार त्रिविका उपकुलपति डा धर्मकान्त बाँस्कोटामार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलबार पठाइएको २० बुँदे ज्ञापनपत्रमा प्राध्यापकहरुको नयाँ मर्यादाक्रम कार्यान्वयनमा आउनुपर्ने, अवकाशको उमेर हद ६५ बनाइनुपर्ने, प्राध्यापकहरुको सेवा सुविधा सार्कस्तरीय हुनुपर्ने, स्वास्थ्योपचार सुविधालाई सेवानिवृत्त भएपछि पनि यथावत् कायम राखिनुपर्नेलगायत छन् ।
यसैगरी विश्वविद्यालयहरु अनुसन्धानमुखी हुनुपर्ने, सेवा आयोगका परीक्षा स्वतन्त्र हुनुपर्ने, शिक्षा र स्वास्थ्यमा निजीकरण गर्न नहुने, विश्वविद्यालयहरुमा निश्चित आधारमा नियुक्ति हुनुपर्ने, विश्वविद्यालयहरूमा पाठ्यक्रमको स्तरोन्नति, वैज्ञानिक सिकाइ, भौतिक पूर्वाधारको व्यवस्था गर्दै पठनपाठनमा नियमितता ल्याई गुणस्तरीय शिक्षा उत्पादन गर्न÷गराउन आवश्यक वातावरण मिलाउँदै राष्ट्रवादी र समाजवादी शिक्षा प्रणाली अगाडि बढाई विद्यार्थीहरू स्वदेशमै बसेर अध्ययन गर्ने वातावरणको निर्माण गर्न पनि ध्यानाकर्षण गराइएको छ ।
संघका अध्यक्ष प्रा डा बुद्धबहादुर थापा क्षेत्री र महासचिव नरेन्द्रप्रसाद शिवाकोटीद्वारा हस्ताक्षरित विज्ञप्तिमा गत १६औँ महाधिवेशनबाट पारित प्रस्तावहरुको स्मरण गराउँदै विश्वविद्यालयहरुको अनियमितता रोकिनुपर्ने माग पनि गरिएको छ । संघले यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई पनि सोही प्रकारको ज्ञापनपत्र दिएको थियो ।