arrow

सुस्मिताको चित्कार

मलाई तड्पाई तड्पाई मार्न तपाईहरुको मन कसरी बलियो बनाउनु भयो?

logo
रश्मि कडरीया (बिष्ट)
प्रकाशित २०७७ असार २८ आइतबार
rashmi-kadariya.jpg

आज म यो संसारमा त छैन तर धन्य छ तपाईहरुलाई, मलाई पनि छोरा भएकै ठाउँमा पुर्याउनु भयो । छोरा दुर्घटनामा त, मलाई हत्या गरेर नै सही, यमराजको प्रिय बनाएरै छाड्नु भयो । अहिले रुपेन्द्र मेरो श्रीमान र म दुवै जना सँगै हुने अवस्था बनाउनु भयो धन्य तपाइहरुलाई ।

कालगतिले म कहिले मर्थे थाहा छैन । कति दुख पीडा दिनुहुन्थ्यो कहिलेसम्म र कति यातना सहनु पर्थ्यो मैले ? छोरी जस्ती बुहारीलाई, अनि दिदीबहिनी जस्तै भाउजुलाई बाबु समान ससुराले काठको मुङ्ग्रो त नन्दले लोहोरोले थिचेर, पिसेर मेरो प्राण पखेरु उडाउन सफल हुनुभयो । मलाई जति पीडा भयो तपाईहरुलाई उति नै आनन्द आयो है ? अब छोराको सञ्यकोष विमा लगायतको पैसा आफ्नो भयो भनेर ?  विचरा मलाई के थाहा ? ६ महिनाको मासिक गर्न आएकी मलाई माया देखाए जस्तो गरेर माइत फर्किन नदिइ परिवार नै मिलेर सम्पतिका लागि मेरो इहलिला समाप्त गर्ने षडयन्त्र गर्दै हुनुहुन्छ भनेर? 

६ महिना अघि सँगै जिउने सँगै मर्ने कसम खाएर विवाह बन्धनमा बाधिएका हामी दुई विहे गरेको बर्षदिन नपुग्दै मलाई सदाकोलागि छोडेर श्रीमान गएको पीडा मनमा कति थियो त्यो मलाइ मात्र थाहा छ । म कति रोएँ, कति चिच्चाएँ कति भावविहल भए त्यसको हिसाव किताव कस्ले गर्यो र ? नारीको चुरा फुटेसरी यो मन फुट्यो, मनका आशा भरोसा चुँडीएर पोतेको गेडा छरिएसरी सम्हालिन नसक्नु भयो । मेरो सिउँदोको सिदुर पुछियो, मेरो जीवनका सुख र खुशीहरु सबै समाप्त भयो । मेरो प्रिय रातो रङ मलाइ जति प्रिय लाग्थ्यो, त्यो भन्दा प्यारो मेरो श्रीमान लाग्थ्यो ।

बैवाहिक जीवनको मिठो अनुभूति सगाँल्न नपाउदै, श्रीमानको माया र साथ कस्तो हुन्छ नजिकबाट नियाल्न नपाउदै, उहाँ भगवानको प्रिय हुनुभयो । हाम्रो विछोडको पिडा सधैलाई थियो । कहिल्यै नमेटिनेगरी, कहिल्यै नदेखिनेगरी, उहाँले मलाई एक्लै छोडेर भगवानको प्रिय बन्नु भयो । त्योभन्दा ठुलो पिडा एउटा नारीलाई के हुन सक्छ ? विधवा हुनुको पिडा म कुनै शब्दमा, कुनै भावमा व्यक्त गर्न सक्दिनथे । नरोएको कुन दिन थियो मेरो हिजोसम्म हजुरको घरकी लक्ष्मी आज एकाएक अलक्ष्छिनी बन्न पुगे म । हजुरको मृत्यु हुनुमा मेरो के दोष ? दुर्घटना हुँदा हामी सबैलाइ छोडेर जानु भयो । जन्मदिने बुवा, आमा, दिदीबहिनी, श्रीमती सबैलाइ छोडेर जानुभयो । हजुरहरु कसैलाई आफ्नो छोरा, कसैलाइ दाई, गुमाउनुको पिडा जति थियो, त्यो भन्दा बढी मलाइ थियो,  किनकी मैले त आफ्नो जीवनको सम्पूर्ण खुसी, जीवन सहारा, अझै भनौ भने सारा संसार नै गुमाएकी थिए । सिङ्गो जिन्दगी काट्ने, सँगै जिउने सँगै मर्ने त्यो पनि सात जन्मसम्म भनेर जग्गेमा सात फेरो लगाएकी म जिन्दगीको एक पल पनि राम्रोसंग हाँसी खेली काट्न नपाएकी मलाइ कस्तो भयो होला ? कल्पना गर्नुस त वुवा फुङ्ग उडेको मुहार, सेतो पहिरन आँसुले भरीएको आँखा देख्दा पनि आफ्नै छोरी जस्ती बुहारीलाई कुदृष्टी लगाउन सक्ने, हजुरजस्ता नालायक बुवालाइ म केको संज्ञा दिउँ राक्षस या दानव ?  आफ्नै बुहारी बलात्कार गर्न खोज्ने हजुर ससुराको नाउँमा कलङंक हुनुहुन्छ । अब त आफ्नै बुवा समान ससुरा देख्दा वुहारीहरु डराउनु पर्ने जमाना आयो । हजुरले कुकृत्यको प्रयास गरे पनि, मैले प्रतिकार गरे पनि चुपचापनै त बसेको थिए सामाजिक प्रतिष्ठामा कुनै आँच नपुगोस् भनेर । आफ्नो श्रीमानको चीरशान्तिको कामना गरेर हजुरकै घरमा बसेको थिए । मैले हजुरको घरको मान प्रतिष्ठामा आँच आउने काम के गरेको थिए र ? भन्नुस त बुवा, भन्नुस न आमा अनि भन्नुस त नानीहरु ।

मेरा दुई नन्द, आमाजु मलाई मैरै दिदिबहिनी जस्तै लाग्दथ्यो । दाई गुमाउनुको पिडा तपाईहरुलाई कति थियो म बुझ्छु नानी सबै, तर तँपाइहरुले मेरो पिडा कहाँ बुझ्नु भयो र ? दाइ विनाकी भाउजु कति रोएकी छ, कति तड्पिएकी छु, तँपाइहरुले नारी भएर नारीको पिडा त बुझ्नु पर्ने हो । तर नारीको सबैभन्दा ठुलो शत्रु नारीनै हुदाँ रहेछन् । पुरुष मात्रै दोषी छैनन् । कतिपय नारीहरु नारीकै विरुद्दमा छन् । एक महिलाले अर्को महिलालाई अन्याय, अत्याचार, दमन, शोषण, हत्या सम्म गरेका छन् । नानी भोली तँपाइको पनि त विहे होला, घर होला,  अनि ससुरा र नन्द, आमाजु मेरो जस्तै परे भने ?  अनि मेरो जस्तै हालत यदि तँपाइको पनि भयो भने, एक पटक कल्पना गर्नोस् त । तर त्यस्तो नहोस् र सबैको त्यस्तो हुदैन पनि । सोच्नुस त एक पटक एकान्तमा मेरै जस्तो भयो भने के होला बाँच्न सक्नु हुन्छ मन सम्हालेर ?  किन मलाई अलच्छिना जस्ता अनेकौ आरोप लगाउनु भयो ? अनि मसला पिने जस्तै लोहोरोले पिनेर मार्नु भयो । म चिच्चाउँदा, कराउँदा हजुरहरुलाई अलिकती पनि दया लागेन है, मैले प्राणको भिक्षा माग्दा पनि । खै कस्ले भनेको हो नारी ह्दय कोमल हुन्छ भनेर ? मेरा नन्द अमाजु र सासु की नारी होइनन्, कि त्यो भनाइ नै असत्य छ । ऐया, ऐया गरेर भुँईमा छटपटीदा त्यो नारी हदय, कोमल मन पग्लेने है ? तपाईहरु नारीको नाममा कलङ्क हो, राक्षस हो, अलच्छिना हो भने तँपाइहरु नै हो, त्यसैले त घरको सर्वनाश गर्नु भयो । मलाई तड्पाई तड्पाई मार्दा, म रुँदा चिच्चाउँदा, कराउँदा त्यही घरमा रहेकी आमा समान सासुले केही सुन्नु भएन, यस्तो नगर भन्नु भएन आफ्ना छोरी,  श्रीमानलाई, के तपाँइ साच्चै कसैकी आमा हो वा कसैकी आमा हुन लायक हुनुहुन्छ होला र? 

बरु घरबाट निकालिदिएको भए पनि सजिलै गइहाल्थे नि म । दुख सुख गरेर म आफ्नो जीवन गुजारी हाल्थे नि । यसरी तड्पाएर मार्नु त पर्थेन नी । महिनावारी भएर भुँईमा बसेर खान लाग्दा बावु समान ससुराले पछाडीबाट मुङ्ग्रोले हान्नु हुन्छ भन्ने कल्पनासम्म पनि गर्नै सक्दिन, तर मेरै जीवनमा भयो त्यही आखिर। बुवाले पैसाको लोभमा र बलात्कार गर्न खोजेको कुरा अरुलाई भन्छे र समाजमा आफ्नो प्रतिष्ठामा आँच आउछ भन्ने डरले हत्या गरेको जुन हजुरले प्रहरीमा बयान दिनुभयो नि, सिधै मागेको भए म सहजै दिन्थे बुवा म हजुर जस्तो लोभी पापी कहाँ थिए र? आखिर मेरो हत्या गरेरै पैसा लिने हजुरको अभिलाषा पनि खरानी नै त भयो आखिर । जेलको कोठरीमा जीवन जिउनु परेपछि । हजुरको छोरा नै नरहे पछि म त यसै मरेकी नै थिए नि किन प्राण नै लिनु पर्ने थियो र ? तर समय र कानुनले मेरो चित्कार सुनेको छ, आज प्रहरीको कठघरामा ससुरा, सासु र नन्द, आमाजु देख्दा मेरो आत्माले शान्तिको अनुभूति गरेको छ । म त एक प्रतिनिधि पात्र मात्र हुँ यो समाजको, म जस्ता कयौ नारीहरु आज घर भित्र नै सुरक्षित छैनन । घरबाहिरको के कुरा गर्नु ? आजको एक्काइसौं शताब्दीमा पनि महिलाहरु माथि हुने हिंसा, एकल महिलाप्रतिको दृष्टीकोण अझै फेरिएको छैन। आज कयौ बालिका तथा महिलाहरु बलात्कृत भएका छन्, बलात्कारीलाई पक्राउ गरी कडा कारवाही गर्न नसकेकोले होला अझै दिनानुदिन बलात्कारका घटना बढ्दै गएको छ । कहि क्वारेन्टिनमा त कहि अस्पतालको आइसियुमा। कयौं जिउँदै जलाइएका छन्, कयौं दाइजोको निहुँमा ज्यान गुमाउन बाध्य पारिएका छन् अझै भनौ भने हत्याको शिकार भएका छन् परिवारबाटै र मेरो जस्तै । विधवा भएकै कारण अपहेलीत भएका छन्, कहि पनि सुरक्षित छैनन् नारी न घर भित्र त, न घरबाहिर।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ