arrow

माटोको सुगन्ध

logo
खेमप्रसाद प्रसाईँ,
प्रकाशित २०७७ असार २७ शनिबार
khem-prasain.jpg

असार महिना सबैलाई कामको चटारो । राज्यको विकास बजेट सक्ने महिना । सरकार विकास रोपिरहेको छ असारे झरीमा । बर्षौदेखि यसरी विकास रोप्ने र रोपिने परिपाटी कायम छ । आर्थिक वर्ष सकिने महिना सबैलाई हतारो । हिलोमा विकास रोप्दा कति प्रभावकारी हुन्छ भन्ने कुरा त देशको अवस्था हेर्दा जगजाहेर नै छ । असारे विकासले धेरैले काँचुली फेरे होलान् तर हिलोमा अन्न रोपी जीवन भर्ने किसानको जीवनशैली फेरियो फेरिएन हेर्ने कसले ? कोरोनाले देशको अर्थतन्त्रलाई डसेको बेला, अभरको बेला भर पर्ने क्षेत्र भनेको यही कृषि क्षेत्र भएको छ । आज मुलुकका सबै क्षेत्र तहसनहस भएको बेला सबैको आशा अहिले कृषिमा छ । तर यहाँ प्रश्न उठ्छ, हाम्रो कृषि प्रणाली कहाँ छ ? आखिर आजसम्मका सरकारले कृषि क्षेत्रलाई माथि उठाउन के कति सार्थक पहल गरे त ?

हामी माटोमा जन्मिन्छौं, माटोको रस खाएर हुर्किन्छौं, सिङ्गो जीवन माटो जोड्नमा खर्चन्छौं, एक इन्च माटोका लागि मारामार गरेर रगत बगाउन तयार हुन्छौं, त्यही माटोमा महल ठड्याउने सपना बुन्छौं र ठड्याउँछौं पनि । अनि त्यही माटोलाई निषेध गर्छौं । माटो सम्बन्धी हाम्रो धारणा नै विरोधाभाषपूर्ण र पूर्वाग्रही छ । मान्छेले संसारको जुनसुकै ठाउँमा पुगेपनि खाने त अन्न नै हो । नासाको वैज्ञानिक होस् वा मङ्गल ग्रह वा चन्द्रमामा मानव बस्तीको परिकल्पना गर्ने अन्तराष्ट्रिय मानव नै किन नहोस् सबैलाई अन्न आवश्यक छ। अन्न किसानले उत्पादन गर्छ, त्यो माटोमा फल्छ । त्यसैले माटोभन्दा महान् हाम्रा लागि अरु केही हुन सक्दैन । यसो भन्दैगर्दा त्यही माटोमा जीवन खोज्ने कृषिप्रणाली र पात्र कृषकलाई किन सम्मानको भावबाट हेरिन्न ?

किसानको कुरा पहिलो पटक जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाले गरेका थिए । देशको योजना बनाउँदा एउटा हलो जोत्दै गरेको गरिब किसानलाई हेरेर बनाउनू । तर समयक्रममा  तिनै बिपीकै अनुयायीहरु सत्ता र शक्तिमा पुगे, शासन प्रशासनको नेतृत्व गरे, आफू फेरिए, सबैका महल ठडिए तर अहँ कृषि र किसान सधैँ अपहेलित भइरहे । अरु त अरु सबैभन्दा धेरै गरिब र श्रमजीवीका पक्षमा आवाज उठाउँछौं भन्ने बाम आन्दोलनमा लागेका मान्छेहरु नै सत्ताका नाइके बने । उनीहरुको हैसियत फेरियो तर किसान र मजदुरको हैसियत फेरिएन । व्यवस्था फेरियो अवस्था फेरिएन, नीति फेरिए तर नियत फेरिएन । यिनै व्यवस्थाहरुमा कृषि क्षेत्र डसाइको मारमा पर्‍यो ।

२००७ सालको प्रजातन्त्रको उदयसँगै लोकतन्त्र हुँदै आजको सङ्घीय गणतान्त्रिक शासन प्रणालीसम्म आइपुग्दा देशले दर्जनौ प्रधानमन्त्री, सयौं मन्त्री, हजारौं योजनाविद् र उच्च प्रशासकहरु पायो तर कृषि क्षेत्रले अपमान, बेवास्ता र तिरस्कार बाहेक केही पाएन। माटोमा टेकेर आएका पात्रहरुले माटोलाई घृणा गरे । हिजोसम्म खेत जोतेका, आली लगाएका, घाँस दाउरा गरेका, गाईभैंसी दुहेका, भकारो सोहोरेका मान्छेहरु नै शासन प्रशासनको नेतृत्वमा पुगे, बिपीका अनुयायी भैंसी चराउने र खेतीपाती गर्ने मान्छे तथा जबजका प्रणेता मदन भण्डारीकी श्रीमती विद्यादेवीकव विगत पनि घाँसदाउरा गरेरै आएको हो। आफ्नैले आफ्नाको मर्म बुझ्दा रहेनछन् । खै त किसानले के पाए ? उनीहरुले  हिजोको आफ्नो अवस्थालाई गौरवबोध गरेनन्, हेय भावले हेरे,हिजोको आफूलाईआफैले चिनेनन् । उनीहरु सुकिलामुकिला भए । हिजोको आफ्नो हैसियत गन्हायो । आफू उठेको धरातललाई बिर्सिए । उनीहरुले आफ्नो जामा फेरे देशको अर्थतन्त्रको जामा फेरिएन । किसानको भाग्य फेरिएन ।

भोलिको समुन्नत समाज बनाउने आजको शिक्षा प्रणालीले हो । तर हाम्रो शिक्षा प्रणालीमै खोट छ । हाम्रो शिक्षा प्रणालीले हाम्रो माटोको महिमा सिकाएन, सुगन्ध सिकाएन, पसिनाको मूल्य सिकाएन । माटो र त्यसमा जीवन खोज्ने पात्रहरुलाई घृणा गर्न सिकायो । हामी हाम्रा सन्तानलाई डाक्टर, इन्जिनियर, वकिलजस्ता सुकिला पेसामा जान अभिप्रेरित गर्छौ । हिजोको लघुताभाष र हिनताबोधले हामीलाई गाँजेको छ । आफ्ना सन्तानलाई आफ्नो माटोमा होइन पराइ माटोमा भविष्य खोज्न, रोज्न र उतै सेटल गराउने सपना बुन्छौ। अनि स्कुले जीवनदेखि नै यताप्रतिको नकारात्मक धारणा भर्छौ । मान्छेको सफलताको सूचक र जीवनको सार्थकता विदेश गएर उतै घरजम बसाउनुलाई मान्छौ अनि देशको माटोमा भविष्य खोज्ने र देशमा रोजगारी सिर्जना गरेर राज्यलाई सहयोग गर्नेलाई बिचरा भन्ठान्छौ । राज्यले पनि उसैलाई निचोर्छ । अनि कहाँबाट हुन्छ कृषिमा उद्यमशीलताको विकास ? हाम्रा स्कुले नानीबाबुहरुका पाठ्यपुस्तकहरुमा पढाइएका विषय र छापिएका तस्वीर हेर्दा टिठ लाग्छ । डाक्टर, इन्जिनियर, बिजिनेस मेन, वकिल लगायतका पेसा, व्यवसायहरुलाई सुटेडबुटेड र सुकिलामुकिला तस्वीरमा देखाउने अनि किसानको तस्वीर झुत्रेझाम्रे लुगा लगाएको लगभग अर्धनग्न अवस्थाको । यसले बाल मानसिकतामा कृषि र कृषकप्रति कस्तो धारणा बनाउला ? ती तस्वीरहरु हेरेपछि, पढेपछि कृषिप्रति उनीहरुको धारणा पक्कै पनि सकारात्मक बन्दैन । के त्यहाँ उन्नत कृषिफर्ममा ट्याक्टर चलाउँदै गरेको वा कामदार लगाउँदै गरेको तस्वीर राख्न सकिन्न ? चिया खेती, फलफूल खेती, तरकारी खेती, गाई पालन, बाख्रा पालन, कुखुरा पालनजस्ता कृषि फर्मका तस्वीर र विषयवस्तु राख्न सकिन्न ? हाम्रो मनोविज्ञानमै खोट छ । हाम्रा बालबालिकाहरुलाई सानैदेखि माटोमा गरिने कर्मप्रति घृणा सिकाउँछौ । हाम्रो दैनन्दिन जीवनमा हातमुख जोड्ने अन्न, तरकारी, फलफूल प्रयोगशालामा बन्दैनन् । यी माटोमा उत्पादन हुन्छन्, किसानले उत्पादन गर्छन् भन्ने कुरा थाहा हुँदाहुँदै पनि कृषिकर्मलाई छि ! भन्छौँ, भनाउँछौँ ।

हाम्रा कर्मशील पाखुराहरुले विदेशी मरुभूमिलाृई उद्यान बनाए तर हाम्रो उद्यान मरुभूमि बन्दैछ । हामी भूगोलमा ठगिएका छैनौ । जैविक विविधतामा हामी धनी छौ । ५० को दशकपछि एकाएक हाम्रो समाज परिवर्तित भयो तर त्यो सकारात्मक भन्दा पनि नकारात्मकतर्फ । द्वन्द्वको चपेटामा गाउँ रित्तियो । द्वन्द्वको साइड इफेक्ट कृषिमा  पर्‍यो । युवाहरु कोही सहर पसे त कोही विदेशतिर हानिए । सरकारको काम श्रम निर्यात गर्ने र वस्तु आयात गरेर कर उठाउने मात्र बन्यो । बम, बारुद र गोलामा ठुलो रकम खर्च भयो । सहर पसेको जीवनशैली महंगो भयो । विदेशिएका मान्छेका परिवार पनि सहर पसे । विदेशमा पसिना बगाएर कमाएको सीमित पैसाले सहरका असीमित आवश्यकता किन्न हम्मेहम्मे पर्‍यो । गाउँ रित्तियो, सहर भरियो । वर्षौको कमाइ एउटा टुक्रो घडेरीमा सीमित बन्यो । अन्न र फलफूल फल्ने खेतबारी बाँझै भए । बरु अन्न फल्ने खेतबारीमा बिजुलीका पोल, पिच बाटो र ढुंगागिटी फले । एकाबिहानै रेडियोले वैदेशिक रोजगारीको सुवर्ण अवसर र लगत्तै आकर्षक घडेरीहरु बिक्रीमा जस्ता विज्ञापन बजाए । घरघरमा अन्तराष्ट्रिय ब्रान्डका प्रविधि भित्रिए । घरको चुलो परनिर्भर बन्यो । खेत बाँझै राखी बजार गएर झोलामा खानेकुरा बोकी आउने झोले संस्कृतिको विकास भयो । एक पटक सहर पसेको मान्छे पुनः गाउँ फर्कन सकेन । हिंजो आफ्नो माटोमा भविष्य नदेखेर विदेसिएको युवा परदेशको विकास देखेर घरदेशमा सम्भावनाको खोजी गर्न त तम्सियो तर राज्यले लगानीको उचित वातावरण नै बनाइ दिएन । बाबुबाजेले अपनाएको हलो, कुटो र कोदालोमा निर्भर निर्वाहमुखी कृषि प्रणालीमा फर्कने इच्छा देखाएन । नयाँ प्रविधिमा जाने आँट पनि भएन । अहिले गाउँघरमा अन्न भन्दा पनि डाँडा, पाखा र खेतीयोग्य मैदान कोतरेर विकास फलेको छ । ती बाटाहरुले कृषिलाई नभई केवल जग्गाको मूल्य बढाएका मात्रै छन् । अनुत्पादक क्षेत्रमा विकास बजेट सकेर सीमित स्वार्थहरु मोटाउने बाहेक केही भएन । 

हामी हाम्रो देशलार्ई कृषिप्रधान देश भन्छौ। हाम्रो अर्थतन्त्रमा सबैभन्दा ठुलो योगदान कृषिको छ तर कृषि क्षेत्र नै राज्यको बेवास्तामा परेको छ । हिजो निर्वाहमुखी कृषि प्रणाली हुँदा आत्मनिर्भर हामी आज परनिर्भर बन्दैछौ । वर्षेनी अर्बौको खाद्यान्न र फलफूल नेपालमा भित्रिन्छ । देशका किसानले बेलामा बिउबिजन, मलखाद र औषधि पाउँदैनन् । अनुदान टाठाबाठाहरुले मात्र पाउँछन् । उत्पादित वस्तुको मूल्य नपाउँदा टाट पल्टने स्थिति आउँछ तर विदेशको आयात रोकिदैन । स्वदेशको उत्पादनले विदेशको उत्पादनसँग प्रतिष्पर्धा गर्न सक्दैन । बिचौलियाको बिगबिगीले किसान नै ठगिन्छन् । सरकारले बजार खोजिदिंदैन । कृषिउपजको उचित भण्डारणको व्यवस्था छैन । चिया र कुखुरा पालन लगायतका आत्मनिर्भर भइसकेका व्यवसायहरु पनि धरासायी हुने अवस्थामा छन्, सरकारको त्यतातिर ध्यान पुगेकै छैन । सरकारले कृषि क्षेत्रको लागि सहुलियतपूर्ण ऋणको कुरा त गर्छ तर बैंकहरु कृषिमा लगानी गर्न डराउँछन् । बैंकहरुलाई किसान गन्हाउँछ । ऊ आफ्नो स्टाटस देखाउन सक्दैन । बरु बैंकहरुले रातो कार्पेट अरु नै क्षेत्रका लागि बिछ्याउँछन् । यहाँ पनि किसान अपहेलित हुन्छ । द्वन्द्व समाधान भई परिवर्तित वर्तमान अवस्थामा आइपुग्दा पनि कृषि क्षेत्रमा पुनर्जागरण आउन सकेको छैन । 

लेख्दै गर्दा नकारात्मकताको फेहरिस्तजस्तो हुन सक्छ । लेखको आशय निराशा पस्किनु होइन । माटोमा सम्भावनाको खोजी गर्नु हो । नेपालमा उच्च हिमाली भाग छोडेर कुनै मरुभूमि छैन । ठाउँ परिवेशअनुसार कृषि क्षेत्रलाई सम्बोधन गर्न सके अपार सम्भावना छ । हामी  अन्न, फलफूल, दुग्धजन्य पदार्थ, मासु, तेलहन र तरकारीजस्ता कुरामा आत्मनिर्भर बन्न सक्छौ । हरेक वर्षलाई कुनै न कुनै क्षेत्रमा आत्मनिर्भर वर्ष घोषणा गरेर युवा जनशक्तिलाई व्यावसायिकतातर्फ अभिप्रेरित गर्न सकियो भने हाम्रो कृषि क्षेत्र पनि उज्यालो बन्नसक्छ । राज्यको काम नो अब्जेक्सन लेटर बाँड्ने, विदेशमा श्रम निर्यात गर्ने, विदेशी सामानमा कर उठाएर नागरिकलाई परनिर्भर पार्ने मात्र होइन, देशमै सम्भावनाको खोजी गर्ने र त्यतातिर अभिप्रेरित गर्ने हो । विदेशी उन्नत प्रविधि सीप, ज्ञान स्वदेश भित्राई लगानीयोग्य वातावरण निर्माण गर्नु हो । कोरोनाको कहरबाट रोजगारी गुमाएर स्वदेश फर्किएका युवाहरुलाई अहिले उन्नत कृषि प्रणालीमा जोड्ने सुवर्ण अवसर छ । यसमा राज्य चुक्नु हुँदैन । भिखारीले कहिले पनि भकारी भर्न सक्दैन । भकारी त त्यसले भर्छ जसले खेती गर्छ । अर्काले दिएकाले कहिल्यै पुग्दैन । आफै आत्मनिर्भर बन्नु पर्दछ । अबको एउटै आवश्यकता कृषिमा उद्यमशीलताको विकास गरेर रोजगारी सिर्जना गर्नु हो । समाजमा केही गर्छु भन्नेहरुलाई असफलताका कथा जोडेर निराश बनाउने होइन, राज्यले सुरक्षित र न्यानो अभिभावकत्व प्रदान गर्नुपर्दछ । हाम्रो शिक्षा प्रणाली देशमा केही छैन भनेर भनेर निराशा बाँड्ने होइन, छैनका बीचमा छ को खोजी गर्ने, माटोको सुगन्ध पढाउने र त्यसलाई कर्ममा ढाल्ने, पसिनाको मूल्यको सम्मान गर्ने खालको हुनु पर्दछ । देशका नीतिनिर्माताहरुमा राष्ट्रवादको टोपी लगाएर राष्ट्रलाई घात गर्ने प्रवृत्ति विद्यमान छ । यसलाई रोक्नु पर्दछ । अबको राष्ट्रवाद कर्ममा आधारित हुनु पर्दछ । असली राष्ट्रवादी त्यो हो जसले माटोमा जीवन देख्छ, सम्भावनाको खोजी गर्दछ र सकारात्मकताको सन्देश दिन्छ । जब हामी माटोमा सुगन्धको खोजी गर्छौ तब हामी कर्मवादी राष्ट्रवादी हुन्छौ । 

(हल्दीबारी, झापाका खेमप्रसाद प्रसाईँ सेन्ट जेभियर्स कलेजमा प्राध्यापनरत छन्।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ