काठमाडौं । काठमाडौ सहित विषेशतः मिथिलाञ्चलका मैथिल समुदाले महत्वका साथ मनाउने छठ पर्व वुधबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि विधिवत् रुपमा समापन भएको छ ।
सूर्यदेवको श्रद्धापूर्वक पूजाआराधना गरी मनाइने छठ पर्वको चौथो दिन उदाउँदो सूर्यलाई विधिपूर्वक अघ्र्य दिएपछि छठ सकिएको मानिन्छ । काठमाडौको रानीपोखरी, कमलपोखरी, गौरीघाट, बागमती, गुह्येश्वरी, विष्णुमती लगायतका नदी तथा पोखरीका किनारमा उदाउदो सूर्यलाई अघ्र्य दिन भक्तजनहरुको ठुलो भिड लागेको थियो ।
त्यसैगरी, जनकपुरको गंगासागर, धनुष सागर, दशरथ तलाउ, अर्गजा पोखरी, वीरगन्जको घडीअर्वा पोखरी लगायतका विभिन्न जलाशयमा पनि विधिपूर्वक उदाउँदो सूर्यलाई अघ्र्य दिएको हाम्रा जिल्ला सहकर्मीहरुले जनाएका छन् ।
कात्तिक शुक्ल चतुर्थीका दिनदेखि शुरू भएको यो पर्व सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै सम्पन्न हुने गर्दछ । मैथिल लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको यो व्रतको प्रभावले सन्तान सुख प्राप्त हुने, चर्मरोग निको हुने र मनोवाञ्छित कामना पूरा हुने जनविश्वास छ ।
महोत्तरीबासीकाे उपासना-‘अशान्त वातावरण चाँडै टुङ्गियोस्’
महोत्तरीसहितका मिथिला क्षेत्रमा वुधबार (आज) बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै यस वर्षको छठ पर्व समापन गरिएको छ । कात्तिक शुक्ल चौथीका दिन गत आइतबार नुहाइधुवाइ गरेर सात्विक भोजन गर्दै व्रतको सङ्कल्प गरेका व्रतालुले पवित्र जलाशयमा बनाइएका घाटमा नुहाएर सूर्यलाई अघ्र्य दिए ।
यसअघि पर्वको दोस्रो दिन पञ्चमीका दिन व्रतालुले दिनभरि निर्जला व्रत बसेर पञ्चमी तिथि सकिनु चार घडीअघि सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि गरेका थिए । त्यसैगरी मङ्गलबार षष्ठी तिथिका दिन निराहार व्रत बस्दै साँझ अस्ताउँदा सूर्यलाई अघ्र्य दिएका व्रतालुले बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर चारदिने पर्व सम्पन्न गरेका हुन् ।
व्रत समापनसँगै मिथिला क्षेत्रका घरघरमा अघ्र्य दिँदा सूर्यलाई देखाइएका ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार र केरासहितका फल प्रसादस्वरुप खाने खुवाउने चलन छ ।
यसपालि पर्व समापन गरेका व्रतालुले भने मुलुकमा जारी अशान्त वातावरण चाँडै टुङ्गियोस् भन्ने कामना गरेका छन् । बिहान बर्दिवासको बारनचौडी पोखरीघाटमा व्रत समापन गरेकी बर्दिवास–३ की गायत्री शर्माले आपूmले व्यक्तिगत आकाङ्क्षालाई पर सारेर सरकार, मुख्य दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज हुने भनिएको वार्ता सफल होस् भन्ने कामना गरेको बताए ।
मोरङमा पनि विधिपूर्वक छठ सकियो
उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि छठ पर्व सम्पन्न भएको छ । व्रतालु महिलाले बिहानै जलाशयमा प्रवेश गरेर छठीमाताको पूजापाठ गरी प्रसादका रुपमा रहेको ठेकुवा, केरा, मिठाइ लगायत सामग्री अघ्र्यका रुपमा उदाउँदो सूर्यलाई अर्पण गरे । मोरङको ग्रामीण क्षेत्रका साथै विराटनगरमा पनि धार्मिक विधिपूर्वक धूमधामका साथ छठ पर्व मनाइएको हो ।