सदस्य अन्सारीको अभिव्यक्तिप्रति आयोगद्वारा खेद प्रकट
प्रकाशित २०७७ असार २५ बिहिबार
397
Shares
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आफ्नै सदस्य मोहना अन्सारीले केही दिनअघि दिएको अभिव्यक्तिप्रति खेद प्रकट गर्दै भ्रम सिर्जना हुने गरी नबोल्न सचेत गराएको छ ।
अन्सारीले यही असार २३ गते सामाजिक सञ्जाल ट्वीटरमा समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारवाही गरिएकामा खेद प्रकट गर्दै आपत्ति जनाएका थिए ।
आयोगका अध्यक्ष अनुपराज शर्माले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अन्सारीले सामाजिक सञ्जालमा व्यक्त गरेका कुराप्रति आयोगको ध्यानाकर्षण भएको छ, दलको अधिकारलाई निस्तेज पार्ने गरी सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको भनाइलाई आयोगले अस्वीकार गर्दछ, आयोगबाट यही असार १५ मा सदस्यहरूलाई भ्रम सिर्जना हुनेगरी नबोल्न सचेत गराइएको हो, तथापि यस किसिमको भनाइ ट्वीटरमा आउनु खेदजनक छ, तसर्थ यसमा कोही पनि भ्रममा नपर्न जानकारी गराइन्छ ।”
संविधान, कानून र दलको विधानले दिएको अधिकार प्रयोग गरी गिरीमाथि गर्न लागिएको कारवाहीलाई ‘खेदजनक’ तथा ‘कथित छानबिन प्रतिवेदन’ भनेको प्रति आयोगले खेद प्रकट गरेको हो ।