arrow

सुदूरपश्चिमका गाउँगाउँमा संक्रमणको त्रास

क्वारेन्टाइनमा बसेकाहरु रिपोर्ट नआउँदै घर जान्छन् 

logo
विनोद सिंह विष्ट,
प्रकाशित २०७७ असार २३ मंगलबार
covid-test-positive-corona.jpg

बैतडी । गत चैत १४ गते पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको सुदूरपश्चिम प्रदेशमा अहिले तीन हजार ५०० भन्दा बढी नागरिकमा यो संक्रमण पुष्टि भइसकेको छ । प्रदेशमा संक्रमण पुष्टि हुनेमा अधिकांश भारतबाट फर्किएकाहरु नै छन् । पुष्टि भएकाहरुमध्ये सोमबार सम्ममा अस्पताल या क्वारेन्टाइनबाट एक हजार जना डिस्चार्ज भइ घर फर्किएका छन् । 

यसरी घर पठाइएकामा अधिकांश कोरोना निको भएको पुष्टि नहुँदै अथवा परीक्षण रिपोर्ट नेगेटिभ नआउँदै घर पठाइएको छ । त्यसैले यतिखेर सुदूरपश्चिम क्षेत्रमा नै ठूलो त्रास उत्पन्न भएको हो । केही समय आइसोलेसनमा राखेका व्यक्तिलाई पिसिआर परीक्षण नै नगरी घर पठाइएकोले उनीहरुमध्ये कैयौँमा कोरोना भाइरस पोजेटिभ हुनसक्ने आशङ्का गरिएको छ ।  

भारतबाट आएका उनीहरुलाई १४ दिन आइसोलेसनमा त राखिएको हो तर त्यसपश्चात पुनः परीक्षण नगरी सात दिन घरमै ‘होम आइसोलेसन’ मा बस्ने शर्तमा घर पठाइएको छ । होम आइसोलेसनमा बस्ने शर्तसहित घर पठाइएकाहरु गाउँघरमा डुल्ने र सामूहिक कार्यमा समेत सहभागी हुने गरेका छन् । यसको अनुगमन तथा निगरानी गर्ने कुनै निकाय नै छैन । यसरी यो क्षेत्रमा संक्रमणको जोखिम बढेको दोगडाकेदार गाउँपालिकाका नरेन्द्र विष्टले बताए । संक्रमितहरु गाउँघरमा जथाभावी डुल्ने तथा गाउँमा सामूहिक कार्यमा समेत सहभागी हुने गरेकाले संक्रमणको जोखिम बढेको उनले बताए ।  

बैतडीका २ सय ७५ जनामा कोरोना पुष्टि हुँदा ७२ जना मात्रै स्थानीय तहले बनाएका क्वारेन्टाइन तथा आइसोलेसनमा रहेका छन् । बाँकी २०३ जनालाई यसअघि नै घर पठाइसकिएको बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए । क्वारेन्टाइनमा बसेको १४ दिनपछि आरडिटी परीक्षण गर्दा पोजेटिभ आएकाको  स्वाब सङ्कलन गरी पठाएका थियौँ उनले भने ‘‘स्वाब पठाएको एक हप्तासम्म पनि रिपोर्ट नआउँदा घर पठाएका हौं ।’’

जिल्लाका सबै स्थानीय तहमा संक्रमित भेट्टिएका छन् । संक्रमितलाई पुनः परीक्षण नगरी कोरोना निको भएको पुष्टि नहुँदै घर पठाउँदा गाउँमा त्रास बढेको दोगडाकेदार–३ श्रीकोटका गणेश विष्टको भनाई छ । संक्रमितहरुलाई सिधै गाउँ पठाउँदा गाउँगाउँमा त्रास बढेको छ । उनले भने ‘‘विकास निर्माण, सामूहिक कार्यमा समेत सहभागी हुने गरेका छन्, गाउँमा स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग गर्ने तथा सामाजिक दुरी समेत कायम गर्ने कुनै पनि काम भएको छैन ।’’ 

स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका पारित भएपछि उनीहरुलाई डिस्चार्ज गरिएको प्रमुख भट्टको भनाई छ ।

कोरोना पुष्टि भएपनि भारतबाट फर्किएर एक महिनासम्म पनि क्वारेन्टाइनमा बस्दा समेत केही लक्षण नदेखिएपछि होम आइसोलेसनमा बस्ने शर्तसहित घरमा पठाइएको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले बताए ।  

डडेल्धुरामा २५८ जनामा कोरोना पुष्टि भएकोमा १४२ जनालाई होम आइसोलेसनमा पठाइएको छ । त्यसमध्ये ११६ जना मात्रै आइसोलेसनमा रहेका डडेल्धुरामा कोभिड १९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए । उनले भने ‘‘होम आइसोलेसनमा पठाइएका अधिकांश पुनः परीक्षण नगरिएका व्यक्ति हुन् ।’’

दार्चुला जिल्लामा भने संक्रमण पुष्टि हुने सबैलाई डिस्चार्ज गरिएको छ । दुई जनाको पुनः परीक्षण गर्दा पिसिआर नेगेटिभ आएपछि डिस्चार्ज गरिएको दार्चुलाका कोभिड १९ सम्पर्क व्यक्ति वीरेन्द्र भट्टले बताए । उनले भने ‘‘बाँकी १८ जनालाई पुनः परीक्षण नगरी लक्षण नदेखिएकाले होम आइसोलेसनमा पठायौं ।’’  

कञ्चनपुरमा ३९८ जनामा कोरोना पुष्टि हुँदा १ सय ६८ जना मात्रै विभिन्न स्थानीय  तहका आइसोलेसन र क्वारेन्टाइनमा रहेका छन् । दुई सय ३० जनालाई डिस्चार्ज गरिएको कोभिड १९ सम्पर्क व्यक्ति सिद्धराज भट्टले जानकारी दिए । उनले डिस्चार्ज गरिनेमा अधिकांश कुनै लक्षण नभएका र पुनः परीक्षण नभएका रहेका बताए । 

कैलालीमा ८५२ जनामा कोरोना देखिएकोमा २३८ जना डिस्चार्ज भएका कोभिड १९ सम्पर्क व्यक्ति जयसिंह भण्डारीले बताए । डोटीमा पनि ५१४ जनामा कोरोना पुष्टि हुँदा १६३ जना डिस्चार्ज भएका छन् ।  

अछाममा भने डिस्चार्ज गरिने सबै कोरोना जितेर घर फर्केका रहेका कोभिड १९ सम्पर्क व्यक्ति देव जोशीले जानकारी दिए । जिल्लामा ५६९ जनामा कोरोना पुष्टि हुँदा ४८ जना डिस्चार्ज गरिएको  र बाँकी सबै आइसोलेसनमा रहेका छन् । 

एक सय ३९ जना संक्रमित रहेका बझाङमा पनि ३१ जना डिस्चार्ज गरिएका छन् । डिस्चार्ज गरिने सबै कोरोना जितेर घर फर्केका हुन् भने अरु सबै आइसोलेसनमा रहेका कोभिड १९ सम्पर्क व्यक्ति नारायणप्रसाद जोशीले बताए ।  

बाजुरा जिल्लामा ७९३ जना संक्रमितमध्ये  १२ जनामात्रै कोरोना जितेर घर फर्किएका छन् भने अरु अधिकांशलाई पुनः परीक्षण नगरी घर पठाइएको छ । स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले लक्षण नभएकाहरुलाई १४ दिन आइसोलेसनमा राखेर घर पठाइएको बताए ।  

संक्रमितले १४ दिन आइसोलेसनमा बसेपछि कुनै लक्षण नदेखिएपछि होम आइसोलेसनमा पठाएका व्यक्तिबाट पनि कोरोना सर्ने जोखिम हुनसक्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वशन्तराज जोशीले जानकारी दिए । अनुशासित भएर थप सात दिन होम आइसोलेसनमा बसेमा संक्रमण जोखिम कमहुन्छ उनले भने ‘‘होम आइसोलेसनमा नबसी जथाभावी हिडडूल गर्ने तथा सामूहिक कार्यमा सहभागी हुँदा कोरोना सर्ने जोखिम बढी हुन्छ ।’’

सरकारले लकडाउन खुकलो बनाएपछि संक्रमितको सङ्ख्या बढ्दै गएपछि प्रदेशका केही स्थानीय तहले आफ्नो क्षेत्रसमेत सिल गरेका थिए । दशरथचन्द नगरपालिकाले नगरपालिकाका सबै क्षेत्र सिल गर्यो भने पाटन नगरपालिकाले बजार क्षेत्र र सिगास गाउँपालिकाले केही वडा गरेको थियो ।  

केही दिनअघि डडेल्धुराको अमरगढी नगरपालिकाले सदरमुकाम क्षेत्र, परशुराम नगरपालिका, गन्यापधुरा गाउँपालिका, कैलालीको गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका, कञ्चनपुरको कृष्णपुर नगरपालिका क्षेत्रलाई पनि कोरोना संक्रमण फैलिन नदिन तथा रोकथामका लागि सिल गरिएको थियो ।  

क्वारेन्टाइनमा बसेकाहरु रिपोर्ट नआउँदै घर जान्छन् 
समयमै रिपोर्ट नआउँदा क्वारेन्टाइनमा बसेका नागरिक धमाधम घर फर्किन थालेका छन् । महिना दिनसम्म समेत रिपोर्ट नआउँदा क्वारेन्टाइनमा बसेका नागरिक घर फर्कन थालेका हुन् । 

क्वारेन्टाइनमा बसेका १४ दिन बढी भइसकेका नागरिक घरमै अलगै बस्नेगरी जाने गरेको स्थानीय तहका स्वास्थ्य शाखाहरुले जनाएका छन् । क्वारेन्टाइनमा बसेको १४ दिन पूरा भएको र स्वाब सङ्कलन गरेर समयमै रिपोर्ट नआएकाहरु घर फर्केका स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार डिस्चार्ज गरिएको उनको भनाई छ । लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका पारित भएपछि उनीहरुलाई डिस्चार्ज गरिएको प्रमुख भट्टको भनाई छ ।

जिल्लाका विभिन्न क्वारेन्टाइनमा अहिले सात सय बढी नागरिक छन् भने करिब पाँच सय नागरिकको रिपोर्ट आउन बाँकी रहेको छ । आरडीटी पोजेटिभ आएका नागरिकहरुको स्वाब सङ्कलन गरेर पठाएकोमा रिपोर्ट आउन ढिलाई भएका नागरिक घर फर्केका हुन् । 

रिपोर्ट ढिलो आउँदा घर फर्केका नागरिकहरुमा कोरोना पुष्टि भएपछि खोजबीन गरेर आइसोलेसनमा राख्नुपर्ने बाध्यता आइलागेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए । उनले भने ‘‘महिना दिनसम्म समेत रिपोर्ट नआउँदा स्थानीयहरुलाई घर पठाउन बाध्य भएका हौं ।’’ 

समयमै रिपोर्ट नआउँदा आरडीटी पोजेटिभ देखिएका नागरिक मानसिक रुपमा समेत कमजोर हुँदै गएका मल्लादेही स्वास्थ्यचौकीका इन्चार्ज हेमराज भट्टले जानकारी दिए । धेरै नागरिक क्वारेन्टाइनमा बसेको महिना दिन भइसकेको तर रिपोर्ट नआएको यता क्वारेन्टाइनको व्यवस्थापन पनि समस्या भएको बताए ।  

कोरोना परिक्षणका लागि सुदूरपश्चिममा एउटा मात्रै सरकारी प्रयोगशाला रहेकाले रिपोर्ट समयमै नआउने गरेको हो । प्रदेशमा धनगढीमा मात्रै एउटा प्रयोगशाला रहको छ । प्रदेश सरकारले यहाँ प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको भएपनि त्यो निर्णय अझै कार्यान्वयन हुन सकेको छैन । प्रयोगशालाको अभावमा नै परीक्षणका लागि काठमाडौं पठाउनुपर्ने बाध्यता रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बताए ।   

प्रयोगशाला अझै स्थापना हुन सकेनन्
सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रि परिषद बैठकले गत चैत १५ गते बैतडी, डडेल्धुरा र कैलालीमा कोरोना परीक्षण गर्नको लागि पिसिआर प्रगोगशाला स्थापना गर्ने निर्णय गर्यो । तर उक्त निर्णय हालसम्म पनि कार्यान्वयनमा आउन सकेको छैन । प्रदेशमा एकमात्र प्रयोगशाला धनगढीमा मात्रै रहेकोले परीक्षणको दायरा बढाउन प्रयोगशाला स्थापना गर्ने निर्णय गरिएकोमा तीन महिना बढी भइसक्दा समेत स्थापना हुन सकेको छैन । प्रयोगशाला स्थापनाको लागि उपकरण तथा सामग्री धनगढी पुगिसकेकोले केही दिनभित्रै प्रयोगशाला स्थापना हुने प्रदेश स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बताए । प्रदेशमा एउटा मात्रै सरकारी प्रयोगशाला हुँदा नमूना परीक्षणका लागि काठमाडौं पठाउनुपर्ने बाध्यता रहेको छ । यद्यपी डडेल्धुरामा भने निजी क्षेत्रकै पहलमा यही शनिबारदेखि पिसिआर प्रयोगशाला सञ्चालनमा आएको छ । 
 
सात हजार सात सय जना अझै क्वारेन्टाइनमा
सुदूरपश्चिमका विभिन्न जिल्लाका क्वारेन्टाइनमा बस्नेहरुको सङ्ख्या पछिल्ला केही दिनमा घट्दै गएको छ । बन्दाबन्दीको अवधिमा भारतबाट फर्किनेहरुको सङ्ख्या घटेसँगै क्वारेन्टाइनमा बस्नेहरु पनि घट्दै गएको हो ।

प्रदेशका नौवटै जिल्लामा अहिले सात हजार सात सय ३५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरु भारतलगायत अन्य देशबाट आएका र क्वारेन्टाइनको अवधि पुरा नभएका हुन् । आइतबार मात्र क्वारेन्टाइन अवधि पूरा गरेका एक हजार एक सय १९ जना घर फर्किएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

स्वास्थ्य निर्देशनालयले सबैभन्दा बढी कैलालीमा दुई हजार एक सय ५० जना क्वारेन्टाइनमा रहेको जनाएको छ । कञ्चनपुरमा एक हजार चार सय ५६ जना, बझाङमा एक हजार आठ जना, बाजुरामा ६ सय ६४, बैतडीमा आठ सय ९८, डोटीमा चार सय ७६ जनालाई क्वारेन्टाइनमा राखिएको निर्देशनालयको तथ्याङकमा उल्लेख छ ।

यस्तै डडेल्धुरामा तीन हजार १९ जना, अछाममा चार सय आठ र दार्चुलामा दुई सय ६० जनालाई क्वारेन्टाइनमा राखिएको छ । यस्तै प्रदेशमा नमूना सङ्कलन गरिएका दुई हजार चार सय ९५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा तीन सय ६७ नमूना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा एक हजार नौ सय ८७ जनाको नमूना परीक्षणका लागि पठाइएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

तर पछिल्लो समयमा भने यहाँ स्वाब सङ्कलन र परीक्षणको दायरा बढाउन नसक्दा यहाँका हजारौँ मानिस रिपोर्ट नेगेटिभ नआइकन गाउँगाउँमा पुगिरहेकाले यस प्रदेशका धेरै जिल्लामा त्रास बढेको छ । उनीहरुका कारण यहाँका स्थानीय नागरिक पनि त्रसिद् भइरहेको बताएका छन् । त्यसैले सुदूपश्चिमका नागरिकहरुले विदेशबाट आएका तथा अन्य आशङ्का लागेका नागरिकलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्न र कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि मात्र घर पठाउन सरकारसँग आग्रह गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ