arrow

मेरो कानको मुन्द्री

सुनपानीले चोखिने र चोख्याउने प्रथाको अन्त्य कहिले हुने हो?

logo
रश्मी कडरीया (बिष्ट),
प्रकाशित २०७७ जेठ २६ सोमबार
rashmi-kadariya.jpg

म सानो छँदा मेरी हजुरआमाले लगाइदिएको कानको मुन्द्री उमेर बढेसंगै कानमा टिपिक्क हुँदै टाँसीने भयो। आज त्यो मुन्द्री मैलै मेरी सानी छोरीको कानमा लगाईदिएको छु । हजुरबुवा मलाई आजपनि याद छ, त्यो मुन्द्री हजुरलाई अनि मेरी हजुरआमालाई कति काम लाग्थ्यो भनेर । आज दुबै जना यो संसारमा त हुनुहुन्न तर पनि हजुरहरुको सम्झनाले मलाई बारम्बार चिमोटी रहन्छ ।

हो हजुरबुवा, त्यो मुन्द्री मेरो कानमा गहनाको रुपमा त सजिएको थियो नै तर त्यो भन्दा बढी हजुरलाई सुनपानी छर्कन काम लाग्थ्यो । हजुरलाई चोख्याउन अनि पवित्र बनाउन हरेक दिन नै मुन्द्रीको काम आउथ्यो । हजुर बाहिरबाट आउनासाथ कलशमा मुन्द्री डुवाएर पानी लिएर ढोकैमा तम्तयार हुन्थे सुनपानी छर्कन र हजुरहरुलाई पवित्र बनाउन अझै भनौ भने हजुरहरुलाई चोख्याउन । 

म सम्झन्छु हजुरबुवा, हजुर पारी गाउँ घुमेर आउँदा घर आइपुगेपछि बलेसीमा उभिनुहुन्थ्यो अनि म कलशको पानी हत्केलाभरी लिएर कानको मुन्द्री छुवाएर हजुरलाई सुनपानीको छिटो छरिदिन्थे अनि मेरो विटुलो हजुरबुवा चोखो हुनुहुन्थ्यो ।

त्यो पारी गाउँमा सार्की, दमाई, कामीहरुको घनावस्ती थियो । सकिनसकी लौरो टेकेर उकाली ओराली गर्दै दमको रोगी मेरो हजुरबुवा कहिले खेतबारी जोत्ने, खन्ने खेताला खोज्न जानुहुन्थ्यो । कहिले नयाँ कमीज सुरुवाल त कहिले दौरा सुरुवाल सिलाउन, त्यही गाँउ पुग्नुको विकल्प पनि त थिएन । अनि त्यहाँ पुगेर घर आउँदा आफुलाई विटुलो सम्झनु हुन्थ्यो हजुरबुवा। ति गीता र भागवतका ठेलीले हजुरको मनस्थिति र सोचाइ कहिल्यै बदल्न सकेन । जसरी हजुरको सोच बदलिएन नि हजुरबुवा, त्यसरी नै हाम्रो परिवार, गाउँ, समाज अनि समग्र देश अहिलेसम्म पनि बदलिन सकेन हजुरबुवा।

विचरा पारी गाउँका सार्की बा हजुरको एक वचनमा नै आँगनमा टुप्लुक्क काम गर्न आइपुग्थे । सार्की बा आँगनमा आएर टुसक्क पनि नवसी सोध्थे, मुखीया आज कुन खेत जोत्ने ? मेरो हजुरबुवा यानि की सार्की बा को भाषामा मुखीया। यता मेरो हजुरबुवा हुक्का तान्दै मुखबाट धुवाँको मुस्लो फाल्दै कामको योजनाहरु सुनाउनु हुन्थ्यो । अनि मुखियाकै आज्ञा अनुसार सार्की बा चर्को घाम होस् या सिमसिमे झरी वा मुसलधारे बर्षा नै किन नहोस्, जस्तोसुकै परिस्थितिमा वेपर्वाह काम गर्नुहुन्थ्यो । मलाई राम्रोसंग याद छ आज पनि, सार्की बा विहानभरी बाँझो फुटाएर खेतवारी जोतेर निधारभरी पसिना चुहाएर बारीमा हलगोरु टक्क अडाएर आँगनमा टुप्लुक्क खाना खान आइपुग्नु हुन्थ्यो । अनि मेरो हजुरआमा पनि हजुरबुवा भन्दा कहाँ कम हुनुहुन्थ्यो र ? मुखियाले पढाएका पाठहरु पढ्दा पढ्दै मेरी हजुरआमा मुखिनि हुनुभएको थियो ।

विहानभरी चर्को घाम होस् वा झरीनै किन नहोस् खेत जोतेर आउने खेतालालाई भान्सा भन्दा तलको अँगेनामा माने कसौडीमा भात बसाउनुहुन्थ्यो । जब सार्की बा आइपुग्नु हुन्थ्यो तब हतार हतार गुन्द्रुक र भट्ट भुट्न थाल्नु हुन्थ्यो । त्यही पनि ऐना हेर्न मिल्ने गरी झोल हालेर । सार्की बा वा अझै भनौ भने खेतालाले खाना खाने पनि छुट्टै सिलबरका थाल, कचौरा र पानी खाने लोटा हुन्थ्यो । त्यसमै खाना पस्कीएर आँगनको डिलमा लगेर राखिदिनु हुन्थ्यो । आँगनमा रहेको बाल्टीबाट जगले अलक्क पानी निकालेर सार्की बाको हातमा हाली दिन्थे मैले । सार्की बा पसिना पुछ्दै हात धुनु हुन्थ्यो । हात धुन लाग्दा मैले देखेको दृष्य अझै ताजा बनेर मानसपटलमा घुमेको छ । सार्की बाको हातका ठेला अनि मिचेर हात सफा गर्न खोज्दा फोरा फुटेर चहर्यार्यो भनेर हात झट्कार्थे अनि आँगनको डिलमा रहेको ढुङ्गामाथि बसेर कपाकप खाना खान्थे निकै मिठो मानेर । म सानी नानी पिंढीमा बसेर टुलुटुलु हेर्थे। तर पनि कता कता नमज्जा लाग्थ्यो मलाई। हजुरबुवा हजुरआमाले किन यसो गरेको होला भनेर सोचमग्न हुन्थे । सोध्ने आँट म सँग थिएन त्यतिवेला । पकाउने भाँडो बेग्लै, खाने पिउने भाँडाकुडा बेग्लै, बस्ने चकटी पनि बेग्लै अनि आँगनको डिलमा किन बसेको होला मेरो वालसुलभ मनले आफैलाई प्रश्न गर्थ्यो। किन हामीसंगै भित्र खाना खान नबोलाको होला ? अनि हामीले खाएको तरकारी, अचार र दुध, केरा नदिएर किन मोही मात्रै दिएको होला? भन्ने उकुस मुकुस हुन्थ्यो । यस्तै सोच्थे म । सार्की बा, कामी बा, दमाइ बा, सबै आँगनबाट पिढींमा किन नबसेको होला ?  उनिहरुले फलाएको अन्न धान, मकै, गहुँ, कोदो, पिढींसम्म ल्याउन हुने घर भित्र सिरानतलाको भकारीमा लैजान किन नहुने ? अचम्ममा पर्थे म, म तीन छक्क पर्थे अन्न नछोइने, उनिहरुले बनाएको घर, छाएको छानो नछोइने, भकारी कसरी छोइन्छ, अनि विटुलो कसरी हुन्छ?  उनिहरु सबै मिलेर बनाउन हुने, छानो चुहिदा छाउन हुने, अनि बनिसकेपछि त्यही घरभित्र जान चाही नहुने ? कस्तो हाम्रो चलन? कस्तो रितिथिती? कस्तो हाम्रो समाज? अनि सोचाई । म यस्तै सोचाईमा डुब्थे हरेकदिन जस्तै । यदी उनीहरुले परिश्रम गरेर अन्न नफलाएको भए, कामी बाले कुटो, कोदालो, बन्चरो, हँसीया, चुलेसी, नबनाई दिए, त्यस्तै दमाई बाले लुगा नसिलाइदिए, हाम्रो हजुरबुवा, हजुरआमाले अनि हामिले, हाम्रो समाजले के खान्थे होलान्? के लगाउथे होलान? म घोत्लिएर सोच्थे तर सधै अनुत्तरीत नै रहन्थे ।

सार्की बा मात्रै होइन लुगा सिलाउने दमाई लुरे बा पनि हाम्रो घरभित्र नपस्ने अर्का एक पात्र हुन् । सबै कपडा सिलाउने लुरे दमाई बा, कपडाको पोको टक्क पिढींमा राखिदिन्थे । अनि दुईचार महिनाको बाली लैजान्थे धान, चामल, मकै, गहुँ । अहिले जस्तो पैसा दिने चलन थिएन । उनि कहिल्यै हाम्रो घर भित्र छिरेनन् । उनैले सिलाएको कमीज सुरुवाल, दौरा सुरुवाल, गुन्युचोली, सधै चोखो बने, मेरो हजुरबुवा र हजुरआमालाई । घरमा विवाह, ब्रतबन्ध, न्वारन, पास्नी जे सुकै होस् शुभ साहितको रुपमा उनै लुरे दमाई अगाडी हुन्थे बाजा बजाउँदै । भाइको पास्नीमा लगाएको दौरा भोटो पनि उनै लुरे दमाइ बाले सिलाएका हुन् । आँगनमा बसेर बाजा बजाउथे अनि बाहिरै खाना खाएर फर्किन्थे, कहिल्यै भित्र छिरेनन् ।

कहिलेकाहीँ पारी गाउँका गाइने दाई आउँथे अनि बलेसीमा बसेर सारङगीको धुनमा मिठा गीत र बिभिन्न घटना विवरण गीतमा नै सुनाएर जान्थे । उनि पनि हाम्रो घर भित्र छिरेनन् । सारङगीको तार रेट्थे र बदलामा एक टपरी धान, चामल जे दियो त्यहि लैजान्थे । मलाइ साह्रै मन पर्थ्यो सारङगीको धुन, तर उनको जीवन त्यही सारङगीको तार जस्तै रेटिन्थो । उनी कहिल्यै माथि उठ्न सकेनन् गरीवीको रेखाबाट। 

मलाई पारी गाउँमा खेल्न जान खुव मन पर्थ्यो त्यहाँ म जस्तै स साना केटा केटीहरु हुन्थे । तर म त्यहाँ खेल्न जाने कुरा मेरा हजुरबुवा हजुरआमालाई मन पर्ने कुरै थिएन, त्यसैले जाने अनुमति नै थिएन । म कहिल्यै जान पाइन । आफु भन्दा सानो जातकोमा जानु हुदैन, खाना खानु हुदैन, भन्नु हुन्थ्यो । म खुव रिसाउँथे । जात पनि ठुलो सानो हुन्छ र ? यो संसारमा जात छ भने मान्छे र जनावर को जात छ । भन्ने मलाई लाग्दथ्यो । मानिसमा पनि जात छ भन्ने हो भने दुई जात छ, ति महिला र पुरुष हुन भन्ने मेरो बुझाइ थियो । कहिलेकाही म रिसले चुर हुन्थे र हजुरबुवासंग कराउँथे पनि ठुलो हुदै गएसंगै, तर पनि जित्न त सक्ने कुरै भएन । मेरो हजुरबुवा आँखा ठुलो पार्दै, चर्को स्वरमा हप्काउनु हुन्थ्यो, म रुन्थे बस ।

तँलाई काली किन हुन्न ठुलो सानो जात, न भए पल्लो गाउँ मा गएर हेर त ? हजुरबुवा भन्नुहुन्थ्यो कामी बा ले छोएको लुरे दमाइले खाँदैनन्, सार्कीले छोएको गाइनेले खाँदैनन्, गाइनेले वादीले छोएको खादैनन्, वादीले डुमले छोएको खादैनन् । घर भित्र पनि जादैनन् । अनि छुवाछुत चाँही हामी बाहुन, क्षेत्री र दलित बीच मात्रै देखिने ? दलित दलित वीच पनि छुवाछुत र भेदभाव छ । हजुरबुवा खुबसँग रिसाउनुभयो । म केहि बोल्नै सकिन, उता हजुरआमा पनि के कम । दलित भन्न पाइदैन भन्छन् अनि सबै ठाउँमा दलित कोटा खोज्छन् । कोटाबाट नीति निर्माण तहसम्म पुगेका छन् । यिनिहरु बीच पनि सानो ठुलो र जातको भेदभाव छ दोष मात्रै हामी बाहुन क्षेत्रीलाई लगाएका हुन भन्दै हजुर आमा फत्फताउनु हुन्थ्यो । अनि दोष हामी बाहुन क्षेत्रीको मात्रै होइन नानी, हजुरआमा सम्झाउन खोज्नु हुन्थ्यो । मेरो कपाल मुसार्दै भन्नु हुन्थ्यो नानी, पानी खानु मुलको विहे गर्नु कुलको भन्छन् । विहे गर्दा कुलको ख्याल गरेस है, अहिले सानो छेस्  पछि ठुलो भएपछि बुझ्छेस नानी । हजुरआमा यति भनेर आफ्नो काममा जानुभयो । जतिवेला विहे अनि कुल के हो बुझ्ने वेला नै भएको थिएन मेरो तर पनि बेला बेलामा हजुरआमाले यो कुरा दोहोर्याउन कहिल्यै छोड्नु भएन । 

हो हजुरबुवा, हजुरआमा, मैले समय चल्दै जाँदा कुरा बुझ्दै छु । आजपनि हाम्रो समाजमा जात जात बीच भेदभाव छ, छुवाछुत छ, सानो ठुलो जात भात, कायमै छ । बाहुन क्षेत्री र दलित बीचमा मात्रै पक्कै होइन उनिहरु बीच पनि उत्तिकै छ । 

भर्खर पत्रिका पल्टाएको क्वारेन्टिनमा बसेका बाहुनले दलितले पकाएको भनेर केहि खाएनन् रे, केही खान मानेनन् रे, उनलाइ अन्तै राख्ने व्यवस्था गरियो रे । मलाइ कता कता नरमाइलो लाग्यो फेरी एकपटक जसरी सानो छँदा लाग्थ्यो । उता रुकुममा भर्खर केही युवाले ज्यान गुमाएका छन् । जातकै कारण भनेर चर्चा गरिएको छ । यसले जातियता माथि दह्रो प्रश्न उठाएको छ एक पटक । नवराज बिक र उनका साथिहरुको निर्मम हत्या भएको छ, कारण जे सुकै किन नहोस् । हत्या आफैमा राम्रो पटक्कै होइन त्यसमा पनि जातियता यदी हो भने त झन जातियता माथि र मानवता माथी यो भन्दा बज्रप्रहार के हुन सक्ला र ?

हजुरबुवा, हजुरआमा हजुरहरु त यो संसारमा हुनुहुन्न तर म त अझै यो संसारमा छु, अझै के के देख्न र सुन्न बाँकी नै छ । जे भएपनि मानिस मानिस बीच छुवाछुत र भेदभाव हुनु कुप्रथा हो, सामाजिक विकृति हो, यसलाई जरैदेखी उखेलेर फाल्ने कहिले हो ? अनि कानमा लगाएको सुनको मुन्द्रा डुवाएर, छर्केको सुनपानीले चोखिने र चोख्याउने प्रथाको समुल अन्त्य कहिले हुने हो?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ