युवा अभियन्ता भण्डारीले पत्रकार महासंघ र युनियनलाई दिए स्वास्थ्य तथा सौन्दर्य सामग्री
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ २४ शनिबार
545
Shares
काठमाडौं । हरिप्रिया प्रकाश फाउन्डेसनले उपत्यकामा अग्रभागमा कार्यरत पत्रकारलाई सौन्दर्य र स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
फाउण्डेशनले नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनका भक्तपुर र ललितपुर शाखालाई सामग्री हस्तान्तरण गरेको हो । पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुस्कर बुढाथोकी र युनियनका अध्यक्ष रोशन शिल्पकारलाई फाउण्डेशनको तर्फबाट सामाजिक अभियन्ता क्षितिज भण्डारीले सय थान मास्क, पञ्जा सहित फेसवास, सैम्फु, साबुन, तेल र ह्यान्ड वास हस्तान्तरण गरेको पत्रकार इन्द्र रिजालले बताए।
स्वास्थ्य र सौन्दर्य सामग्री बुझ्दै नेपाल पत्रकार महासंघका सभापति बुढाथोकीले गैरराजनीति तवरले सामाग्री बितरणप्रति खुशी प्रकट गर्दै धन्यवाद व्यक्त गरेका थिए।
नेपाल प्रेस युनियनका सभापति शिल्पकारले आर्थिक मन्दीले नियमित जिविकाउपार्जन गर्न पनि पत्रकारलाई गार्हो परेको बेला सबैलाई सहयोग अपिल गरे।
लकडाउनका बेलापनि काठमाडौंदेखि सम्झेर भक्तपुरमा आई फ्रन्टलाइनमा खटिएका पत्रकारहरुलाई राहत सामाग्री वितरण गरेकोमा यूवा नेता विनोद कायस्थले धन्यवाद दिए।
१० हजार नागरिकलाई राहत बाडने अभियान अन्तर्गत गत हालसम्म तीन हजार नागरिकलाई खाद्यान्न, रिचार्ज कार्ड, स्वास्थ्य सामाग्री र सौन्दर्य सामग्री प्रदान गरेको भण्डारीले बताए। आफ्नी आमा स्वर्गीय हरिप्रिया भण्डारीको स्मृतिमा राहत बाडिएको उनले बताए।
युवानेता भण्डारीले भुकम्प, बाढिपहिरो, टोनार्डो, आगलागि पीडितहरुलाई हरेक बर्ष लाखौंको राहत सहयोग फाउन्डेसनमार्फत बाडँदै आएका छन् । लामो समय नेपाल महिला संघको केन्द्रीयमा नेतृत्वमा रहेकी शिक्षाविद् एवं समाजसेवी नेतृ स्वर्गीय भण्डारी नेपाली कांग्रेसको महासमिति सदस्य हुँदै समानुपातिक सांसद उम्मेदवार समेत भएकी थिइन ।
सौन्दर्य एवं स्वास्थ्य सामाग्री बाहेक खाद्यान्न, रिचार्ज कार्ड बाडेर फाउण्डेशनले राहत वितरण गर्दै आएको छ। वितरण कार्यक्रमका लागि कुनै आर्थिक सहयोग नउठाइएको तर कार्यक्रम वितरण व्यवस्थापनमा स्थानीय समाजसेवी व्यक्ति, संस्था र नेपाल प्रहरीको सहयोग लिई सामाजिक दुरी कायम गरि राहत वितरण गरिएको भण्डारीले जानकारी दिए ।