arrow

भारतबाट आएका २५ र ३० वर्षीय युवकमा कोरोना

logo
प्रकाशित २०७७ जेठ १५ बिहिबार
corona-test1.jpg

लम्की । कैलालीको जानकी गाउँपालिका वडा नं ४ कञ्चनपुरका २५ र ३० वर्षीय युवकमा कोरोना संक्रमणको पुष्टि भएको छ । दुबै जना जानकी गाउँपालिकाको सरस्वती मावि दुर्गाैलीस्थित क्वारेन्टाइनमा बस्दै आएका थिए ।  उनीहरुमध्ये एकजना जेठ १ गते र अर्का जेठ ३ गते भारतबाट आएका थिए । त्यस्तै दार्चुलामा पनि एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

धनगढीस्थित प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा संक्रमितको सङ्ख्या २० पुगेको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जानकारी दिए । नयाँ संक्रमितमध्ये दुई जना कैलाली र एक जना दार्चुलाका छन् । 

नयाँ संक्रमितमध्ये दुईजनाको टीकापुर र एकजनाको दार्चुला अस्पतालमा उपचारको व्यवस्था मिलाइएको मन्त्री सुवेदीले जानकारी दिए । सुदूरपश्चिम प्रदेशको कैलालीमा पहिलो कोरोना संक्रमित चैत १४ गते फेला परेका थिए । धनगढी उपमहानगरपालिका वडा नं ५ का ३४ वर्षीय युवकमा कोरोना देखिएपछि कैलालीमा त्रास बढेको हो । कैलालीमा दुई महिनाको अवधिमा २० जनामा संक्रमण देखिएको छ । संक्रमित पाँचजना उपचारपछि घर फर्किएका छन् । 

संक्रमितको सङ्ख्या थपिँदै गएपछि स्थानीय तहले संक्रमितको सम्पर्कमा आएकाको खोजी कार्य जारी राखेका छन् । “संक्रमितको सम्पर्कमा आएकाको परीक्षण शुरु भएको छ”, जानकी गाउँपालिका स्वास्थ्य शाखा संयोजक जितबहादुर चौधरीले भने, “प्रहरीको सहयोगमा संक्रमितसँग जोडिएकाको खोजी भइरहेको छ । उनीहरु सबैलाई सेल्फ क्वारेन्टाइनमा बस्न लगाएका छौँ ।” दैनिक रुपमा संक्रमित थपिन थालेपछि जानकीसँग जोडिएका पालिका टीकापुर, जोशीपुर, लम्की चुहामा उच्च सतर्कता अपनाइएको छ । 

स्थानीय पालिकाले भारत तथा अन्य जिल्लाबाट आउनेको उद्धारमा समेत खटेका छन् । “हाम्रो पालिकामा ६०० भन्दा बढी नागरिक क्वारेन्टाइनमा राखेका छौँ”, टीकापुरका नगर प्रमुख तपेन्द्रबहादुर रावलले भने, “१३ वटा विद्यालयमा क्वारेन्टाइन स्थापना गरिसक्यौँ, अझै अटेका छैनन् । दैनिक सयौँ नागरिक भित्रिन थालेका छन् ।” संक्रमणबाट बच्न सरकारमात्र नभई नागरिकसमेत सचेत हुनुपर्ने उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ