भूकम्पले काठमाडौं उपत्यका हल्लायो, मौसम बिग्रिदा त्रास उस्तै
प्रकाशित २०७७ जेठ ८ बिहिबार
492
Shares
काठमाडौं । बिहीबार बिहान काठमाडौं उपत्यकावासीलाई एकैछिन हल्लाएको छ । उपत्यकामा केन्द्रबिन्दू भएर भूकम्प गएपछि छोटो समयका लागि उपत्यकावासी झस्केका थिए ।
भक्तपुरको अनन्तलिंगेश्वर केन्द्र बिन्दू भएर भुकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ः१४ बजे ३.४ रेक्टर स्केलको भूकम्प गएको हो ।
मापन सानो भए पनि उपत्यकामै केन्द्रबिन्दू परेकाले त्यसले भने केही समय हल्लाएको थियो ।
रातिमात्र दार्चुलामा भूकम्प गएको थियो । बिहान २ः४१ बजे ३ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।
केन्द्रले ४ रेक्टर स्केलदेखि माथिका भूकम्पको विवरण आफ्नो वेभसाइटमा राख्ने गर्दछ । तर जनचासो बढेपछि त्यसमुनिका धक्काबारे पनि जानकारी दिने गर्दछ ।
मौसम बिग्रिदा त्रास उस्तै
नेपालको मौसम यतिबेला बिग्रिरहँदा झन् भूकम्पका धक्काहरु गइरहँदा जनमानसमा चिसो पसेको छ । कोरोना भाइरसको संक्रमणले तर्साइरहेकै समयमा प्राकृतिक विपत्ति आउन थालेपछि भने बुढाबुढीहरुले कलियुगमा के हुन लागेको हो भनी आत्तिएका छन् ।
अंपुन चक्रवातको प्रभावले बिहीबार देशभर बदली रही काठमाडौँ उपत्यकासहित देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बङ्गालको खाडीमा बनेको चक्रवात जमीनमा प्रवेश गरिसकेकाले यसको प्रभाव अझै दुई दिन कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
चक्रवात अंपुनको अप्रत्क्ष प्रभावले आज देशको पूर्वी भूभागमा पूर्ण बदली रही केही स्थान र पश्चिमी तथा मध्यका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले बताए ।
चक्रवात वेस्त बङ्गाल र बङ्गलादेशको तटीय क्षेत्र पार गरी लगाातार उत्तरपूर्वतर्फ अगाडि बढिरहेको छ । त्यसपछि यो चक्रवात क्रमशः कमजोर बन्दै उत्तर–पूर्वी दिशातर्फ मोडिने सम्भावना रहेको जनाइए छ ।
मौसमविद्का अनुसार चक्रवातको प्रत्यक्ष प्रभाव नरहे पनि यसको अप्रत्यक्ष प्रभावबाट देशको खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थान प्रभावित भई आगामी दुई दिनसम्म केही स्थानमा वर्षाका साथै उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने तथा पूर्व र मध्यक्षेत्रमा खोलानालामा जलप्रवाहमा बढोत्तरी हुने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
राति देशको पूर्वी भूभागमा पूर्ण बदली रही बाँकी भूभाग बदली भई पूर्वी भूभागका केही स्थान र मध्य भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।
देशको पूर्वी भूभाग तथा मध्य पहाडी भूभागमा शुक्रबार सामान्य बदली रही पूर्वी भूभागका केही स्थान साथै मध्य र पश्चिमी पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
शनिबार देशको मध्य तथा पूर्वी भूभागमा सामान्य बदली रही पश्चिमी भूभागमा आंशिक बदली रही मध्य तथा पूर्वी भूभागका केही स्थान र पश्चिमी भूभागका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरणानुसार बिहीबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १६ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ३० दशमलव तीन डिग्री सेल्सियस रहेको छ ।
बिहीबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम छ दशमलव चार डिग्री र सबैभन्दा बढी नेपालगञ्जको अधिकतम तापक्रम ३८ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।