मातृका यादवको एके ४७ र एसएमजी गायब गर्ने ६ हत्याका आरोपी कृष पेस्तोल सहित पक्राउ
इन्स्पेक्टर ज्ञानेन्द्र फुयालको पेस्तोल खोस्ने पनि यिनै यादव सप्तरी र सुनसरीमा अपराध र तस्करीको प्रमुख पात्र
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ ७ बुधबार
532
Shares
सुनसरी । विभिन्न राजनीतिक दलहरुसँग नजिक रहेर अबैध धन्दा गर्दै आएका सप्तरीका कृष्णकुमार यादब (कृष) सुनसरीबाट पक्राउ परेका छन् । ६ जना ब्यक्तिको हत्या गरेको आरोप समेत लागेका यादवलाई सुनसरी प्रहरीले मंगलवार साँझ एक थान नलकटुवा पेस्तोल र अवैध लागू पदार्थ सहित पक्राउ गरेको हो ।
भारतीय नम्बर प्लेटको गाडीमा सप्तरीबाट सुनसरी आउँदै गरेका उनीसँग दुई थान ठूला हतियार छ भन्ने सूचना भएपनि प्रहरीले खनतालासी गर्दा उनको साथबाट एक थान मात्र हतियार फेला परेको प्रहरीले जानकारी दिएको छ।
तत्कालिन माओवादीका नेता मातृका यादवको साथमा रहेको एके ४७ र एसएमजी सहितका केहि हतियार लिएर भागेका कृषसँग अहिले पनि सो हतियार रहेको बताइन्छ। मंगलवार प्रहरीले सो हतियार कृषको साथबाट नियन्त्रण हुने आशा गरेको थियो। तर सो हतियार फेला नपरि एक कटुवा पेस्तोल र केहि लागू औषध मात्र प्रहरीले फेला पारेको थियो।
कृष सप्तरी र सुनसरीलाई केन्द्र बनाएर आपराधिक काममा संलग्न रहँदै आएका छन्। ३ महिना अघी सुनसरीमै पक्राउ पर्दा उनलाई उपेन्द्र यादवले छुटाएको प्रहरी स्रोत बताउँछ। हनुमाननगर कंकालिनी वडा नं १४को वासिन्दा कृषले आफ्नी आमालाई सोहि नगरपालिकाबाट आमालाई तत्कालिन समाजवादी पार्टीबाट उपमेयरमा चुनाव लडाएका थिए।
कोशी पुल बन्न ठेक्का लिने १५ जना ठेकेदारहरुसँग ५० लाखको दरले प्रशासन मिलाउनु पर्छ भन्दै ठेकेदारहरुसँग यादवले फिरौती मागेको प्रहरी अधिकारीहरु बताउँछन्। सुनसरी र सप्तरीका ठुला प्रोजेक्टमा फिरौती रकम माग्ने र आफ्नो स्वार्थमा विभिन्न राजनीतिक दललाई प्रयोग गर्दै आएका कृष भारतीय नम्वर प्लेटको गाडी लिएर लकडाउनको समयमा सप्तरी र सुनसरीमा हिड्दै आएका थिए ।
लामो समयदेखि अपराधिक गतिविधिमा संलग्न यादवको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाले बताए ।
कृषको आपराधिक इतिहास
सप्तरीकै श्रीप्रसाद यादव सहित ६ जनाको हत्या गरेको आरोप उनीमाथी छ । यादवले नेकपा, समाजवादी, विप्लव समूहसम्मलाई सहयोग उपयोग गर्दै आएको प्रहरी अधिकारीहरु बताउँछन्।
कृषको बुबा बद्रि यादवलाई तराई मधेशको तत्कालिन तराई जनतान्त्रिक मोर्चाका ज्वाला सिंहले आफ्नो समूहले मारेको जिम्मा लिएको थियो। सो हत्या पार्टी नीति विपरित गरेको भन्दै ज्वाला सिंहलाई जयकृष्ण गोहितले पार्टीबाट निकालेका थिए।
कृषको कान्छो भाईको विहेको अघिल्लो दिन उनको पिता बद्रिको हत्या भएको थियो। त्यसपछि बदला लिने क्रममा कृष पनि समुहमा हिड्न लागेका थिए। पछि यिनले आफ्नो पिता मार्ने भूमिकामा रहेको आरोपमा श्रीप्रसाद यादवको हत्या गरेका थिए। पछि अन्य ५ को पनि हत्या गरेको आरोप उनीमाथी छ।
माओवादी शान्तिप्रक्रियामा आइसकेपछि कृषले तत्कालिन माओवादीमा लागि वाइसीएलका लागि काम गरेका थिए। त्यसक्रममा उनलाई सिंचाई मन्त्री समेत भएका उमेश यादवले हात लिएका थिए। भारतबाट ल्याएको चोरीको गाडीमा वाइसीएल समेत लेखेर चलाएका कृष त्यसपछि अपहरण, फिरौती, हप्ता असुली लगायतका आपराधिक काममा ज्यादा संलग्न रहँदै आएको प्रहरी स्रोत बताउँछ।
उमेशको कार्यकर्ता भएर बस्ने कृषले अपहरण गरेर ल्याइएकालाई सेल्टर दिने काम पनि गर्दै आएका थिए। अपहरण गरेर ल्याएकाहरुलाई आफ्नो घरमा राख्न दिने र राखे वापत फिरौती लिएपछि भाडा लिने काम पनि कृषको अर्को धन्दा हो।
सप्तरी र सुनसरीबाट हुने तस्करीको संरक्षण गर्दै आएका कृष अवैध काममा संलग्न रहँदै आए पनि बाहुबली चरित्रको भएका कारण उनलाई तराईका सबैले हातमा लिने प्रयास गर्दै आएका छन्। सप्तरीमा तत्कालीन इन्स्पेक्टर ज्ञानेन्द्र फुयालको पेस्तोल खोस्ने पनि यिनै यादव हुन ।