कांग्रेस नेता विष्णुराज कार्कीद्वारा विभिन्न निकायलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग
प्रकाशित २०७७ जेठ ५ सोमबार
882
Shares
भक्तपुर । विश्वभर कोरोना भाइरस (कोभिड–१९) को प्रकोपले सताइरहँदा समाजसेवी एवं नेपाली कांग्रेसका नेता विष्णुराज कार्कीले विभिन्न निकायलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । बालकोट निवासी कार्कीले अस्पताल, स्वास्थ्य संस्था ,प्रहरी प्रभाग र नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुर र क्लबलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेका हुन् ।
सूर्यविनायक नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसको तर्फबाट प्रत्यासीसमेत रहेका कार्कीले ती कार्यालयमै गएर कार्यालय प्रमुखहरुलाई करिब १३ सय माक्स, ५ सय थान पञ्जा, ३ थान पीपीई र ५ थान सेनिटाईजर हस्तान्तरण गरेका हुन् ।
कार्कीले सूर्यविनायक अस्पताललाई ३ थान पीपीई, ५ सय पिस माक्स, २ सय थान पञ्जा र एक थान सेनिटाईजर उपलब्ध गराएका हुन् । यस्तै, बालकोट स्वास्थ्यचौकी, सिरुटार स्वास्थ्यचौकी, गुण्डु स्वास्थ्यचौकी, गुण्डु प्रहरी प्रभाग, पत्रकार महासंघ र समाज कल्याण क्लबलाई पनि केही माक्स, पञ्जा र सेनिटाईजर उपलब्ध गराएका हुन् ।
कार्कीले यी सामग्रीले कोरोना भाइरसको संक्रमणबाट बच्न र संक्रमण भएको खण्डमा उपचार गर्नका लागि सहज हुने भन्दै सहयोग गरेको बताए ।
कार्कीकै नेतृत्वमा यसअघि बालकोट, दधिकोट र सल्लाघारीका ५ सय विपन्न परिवारलाई राहत प्रदान गरिएको थियो ।
कार्कीले हरेक वर्ष आफ्ना पिता प्रजातन्त्रको योद्धा, समाजसेवी एवं नेपाली कांग्रेसका पूर्व नेता स्व श्यामबहादुर कार्कीको नाममा स्थापित प्रतिष्ठान मार्फत सामुदायिक विद्यालयका ८६ जना निःशुल्क पोशाक एवं स्टेशनरी सामान प्रदान गर्दै आएका छन् ।
त्यसैगरी उनले सोही संस्था मार्फत रक्तदान कार्यक्रम पनि हरेक वर्ष सञ्चालन गर्दै आएका छन् ।