पोखरामा भएको जातिय विभेदको विश्व हिन्दु महासंघद्वारा भर्त्सना
प्रकाशित २०७७ वैशाख ३० मंगलबार
664
Shares
पोखरा । विश्व हिन्दु महासंघ नेपाल कास्कीले पोखरा १६ बाटुलेचौरमा भएको जातिय विभेद सम्बन्धि घटनाको भर्त्सना गरेको छ । हिन्दु रितिरिवाज र सँस्कृतिको नाममा हुने कुनैपनि जातिय विभेद सम्बन्धि घटना महासंघका लागि अमान्य हुने बताएको छ ।
महासंघ कास्कीका अध्यक्ष पार्वता पौडेल तथा महासचिव कमल पौडेल द्वारा सँयुक्त रुपमा जारी प्रेस विज्ञप्तीमार्फत संस्थाले जातिय विभेद गर्नु शास्त्र विपरित कार्य भएको र कानुनको हिसाबले पनि दण्डनीय रहेको बताएको छ ।
पोखरा मनपा–१६ मा रहेको क्रियापुत्री घरमा दलित समुदायलाई रोक लगाइएको भन्दै पीडित मोहन सुनारले प्रहरीमा वैशाख १८ गते जिल्ला प्रहरी कार्यलय कास्कीमा उजुरी दिएका थिए ।
आरोपितले दलित समुदायलाई काजकिरिया बस्न दिन मिल्दैन भनी ४९ वर्षीय दाजु सम्मर बहादुर सुनारको काज क्रिया गरिरहेका पीडित मोहन सुनारलाई घरमै पुगी छुवाछूत जन्य जातिय अपमान, गाली र धाकधम्की दिँदै सामुदायिक क्रियापुत्री घरमा निषेध गरिएको थियो।
‘सनातन धर्मको मुलग्रन्थ बेद, गीता तथा उपनिषद्मा कहिँ पनि उल्लेखख नभएको जातियताको विषयलाई लिएर समाजमा अमानविय घटना घटिरहेका छन् ।’ प्रेस विज्ञप्तीमा भनिएको छ–‘यो कुसँस्कार हो । र, यस्तै कुसँस्कारका कारण सनातन धर्ममाथि प्रहार भैरहेको छ । जातिय सद्भाव खलबलिएको छ ।’
विज्ञप्तीमार्फत महासंघ जातिय विभेदको स्पष्ट रुपमा विपक्षमा रहेको उल्लेख गरेको छ । साथै महासंघले हरेक जातियले सार्वजनिक स्थलको निर्विवाद प्रयोग गर्न पाउने अधिकारको पनि स्पष्ट कानुनी व्यवस्था हुनुपर्ने माग गरेको छ ।
साथै प्रदेश सांसद माननीय कृष्णबहादुर थापाले जारी गरेको प्रेस विज्ञप्तीप्रति लक्षित गर्दै महासंघले जातिय सद्भाव र भाइचारा सम्बन्ध कायम राख्न संयमता अपनाउन आग्रह गरेको छ । ‘न्यायिक छानबिनको क्रममका रहेको घटनालाई निष्पक्ष छानविन हुने वातावरण होस् र कसैबाट प्रभावमा परेर छानविनलाई तोडमोड गर्ने काम नहोस् भन्ने कुरामा हामी विशेष जोड दिन चाहन्छौँ ।’ संस्थाका महासचिव कमल पौडेलले भने ।
समाजमा घट्ने यस्तै जातिय विभेदका घटना र केही सद्भाव खलबलाउने नियत भएका व्यक्ति अनि संस्थाकै कारणले नेपालमा धर्मान्तरणको समस्या बढ्दै गएको महासंघको दाबी छ । साथै महासंघले यस्ता घटनालाई रितिरिवाज र सँस्कारको नाम दिएर धर्मलाई दुषित नबनाउन पनि आग्रह गरेको छ ।