भारत र चीनको अतिक्रमण विरुद्ध उत्रिएका विद्यार्थीमाथिको दमन विरुद्ध मंगलबार सबै प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै
प्रकाशित २०७७ वैशाख ३० मंगलबार
444
Shares
काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिको आव्हानमा सोमबार देशभर भएको प्रदर्शनमा प्रहरीले दमन गरेको छ ।
देशभरको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै त्यसका बाबजुत पनि उत्साहपूर्ण सहभागीता र सहयोगका निम्ति केन्द्रीय समितिले सबैमा आभार प्रकट गरेको महामन्त्री बलदेव तिमल्सिनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रदर्शनकै क्रममा प्रहरीले काठमाडौंको माइतीघर मण्डलाबाट पक्राउ गरी महेन्द्र पुलिस क्लवको हिरासतमा राखिएका संघका अध्यक्ष राजीब ढुंगाना, महामन्त्री तिलम्सिनासहित १५० जनालाइ राति अबेर रिहा गरेको छ ।
तर विभिन्न स्थानबाट पक्राउ परेका नेता तथा कार्यकर्ताको बिना सर्त रिहाईको माग गरिएको छ । साँखुबाट ५ जनासमेत गरी काठमाडौं बाहिरबाट थप ५० जना पक्राउ परेको पनि महामन्त्री तिमल्सिनाले जानकारी दिएका छन् ।
प्रदर्शन शुरु हुनु अगावै माइतीघर मण्डलातर्फ जाँदै गर्दा प्रहरीद्वारा बाटाबाटै पक्राउ गरी भ्यानमा कोच्दै अमानवीय तवरले अति संवेदनशील अंगहरुमा ताकी ताकी निर्घात पिट्दै गम्भिर घाइते बनाइएका नेविसंघका पूर्व केन्द्रीय सदस्य रत्नहरी ढुंगेल, कोटेश्वरबाट पक्राउको क्रममा करेण्ट लगाइ घाइते बनाइएका नेताहरु संजय बुढाथोकी, टेकबहादुर सिंह लगायत देशभरबाट घाइते भएका नेताहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको पनि तिमल्सिनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसैक्रममा भारतीय अतिक्रमण, सन् २०१५ मा चीनको बेइजिंगमा नेपालको सहमति बेगर भारत र चीनबीच लिपुलेकलाई ब्यापारीक नाका बनाउने गरी भएको सहमतिको खारेजी, खोक्रो राष्ट्रबादको पगरीवाला सरकारको लम्पसारवादी चरित्र विरुद्ध तथा विद्यार्थीमाथि भएको दमनको विरोधमा मंगलबार (बैशाख ३०) गते जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन सबै जिल्ला समिति हरुलाइ परिपत्र गरिएको समेत जनाइएको छ ।