लकडाउनको बेला सुकुमवासी आयोगलाई सरकारी जग्गा बाड्न हतार
महामारीको जोखिम हटाउन व्यस्त स्थानीय तहलाई सुकुमवासीको विवरण मागियो
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ वैशाख २८ आइतबार
1.1k
Shares
काठमाडौं। लकडाउनका बेला स्थानीय सरकारहरू कोरोना संक्रमणको जोखिमको रोकथाम, नियन्त्रण तथा राहतको काममा व्यस्त छन् । यही मौकामा सुकुमवासी आयोगले भने सबै स्थानीय तहलाई पत्राचार गरी सुकुमवासी, अव्यवस्थित बसोबासी, भूमिहिन तथा सरकारी जग्गाको लगत संकलन गर्न अह्राएको छ ।आयोगले संघीय मामिला तथा भूमी व्यवस्था मन्त्रालय मार्फत सबै स्थानीय तहलाई परिपत्र गरेको हो । संघीय मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले भूमी व्यवस्था मन्त्रालयको आग्रहमा संघीय मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरेको बताए ।
स्थानीय तहलाई पठाइएको परिपत्रमा सुकुमवासी, भूमिहिन तथा अव्यबस्थित बसोबासीको सकेसम्म यथार्थ विवरण पठाउन, यथार्थ विवरण पठाउन नसके अनुमानित विवरण जतिसक्दो चाँडो पठाउन निर्देशन गरिएको छ । आफ्नो पालिकाभित्र रहको कुल जनसख्या, कुल परिवारको संख्या, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको संख्याको विवरण पनि पठाउन आग्रह गरिएको छ । यसैगरी अव्यवस्थित बसोबासीको पहिचान तथा प्रमाणिकरण गर्न स्थानीय तहलाई अह्राएको छ ।
आयोग स्रोतका अनुसार स्थानीय तहबाट विवरण आउने वित्तिकै सुकुमवासीलाई सरकारी जग्गा बाड्न सुरु हुने छ। स्थानीय तहमार्फत जग्गा बाड्न सुरु गरिने आयोगका पदाधिकारीहरु बताउँछन् ।
यता भूमि व्यवस्था मन्त्रालयले सात वटै प्रदेशमा एक एक जना प्रदेश समिति तथा ७७ वटै जिल्लामा सुकुमवासी आयोग गठन गरी जिल्ला जिल्लामा नेकपाका कार्यकर्ता भर्ना गर्ने आन्तरिक तयारी सुरु गरेको छ । यसका लागि जिल्ला जिल्लाबाट नामावली संकलन समेत भइरहेको स्रोतको दावी छ।
सुकुमवासी आयोगको अध्यक्षमा चितवन नेकपाका नेता देवी ज्ञवाली छन भने अन्य सदस्यहरूमा जगत देउजा, भीम कार्की, दिनेश यादव र मञ्जली शाक्य छन् । विज्ञका रुपमा रहेका देउजा बाहेक सबै नेकपाका कार्यकर्ता हुन् । आयोगको नाम भूमि सम्बन्धी समस्या सामधान आयोग राखिएको छ ।
लकडाउनको बेला बैशाख ३ गते सुकुमवासी गठन भएको थियो । त्यसको भोलिपल्ट हतार हतारमा भूमी व्यवस्था मन्त्री पद्मा अर्यालले आयोगका पदाधिकारीहरूलाई नियुक्त पत्र दिएकी थिइन् । नियुक्त पत्र पाएको दिन देखि नै आयोगका पदाधिकारीहरू मन्त्रालयमा दिनहुँजसो जान थालेका छन् । आइतबार पनि आयागका पदाधिकारी मन्त्रालयमै थिए । भूमी व्यवस्था मन्त्रालयमै आयोगको कार्यालय राखिएको छ ।
सरकारले तयार गरेको कार्याविधिमा आफू वा आफ्नो परिवारको नाममा एक इञ्च पनि जग्गा नभएकाहरूलाई भूमिहिन र सुकुमवासी भनिएको छ तर आफू वा आफ्नो नाममा जग्गा हुँदै हुँदै सरकारी जग्गा अतिक्रमण गरेर बसोबास गर्दै आएकाहरूलाई अव्यवस्थित बसोबासी भनिएको छ । कार्यविधिमा आफू आफ्नो नाममा जग्गा भएर पनि विगत दश वर्षदेखि सरकारी जग्गा कब्जा गर्दै आएका अव्यवस्थित बसोबासीलाई न्युनतम शुल्क दिइ लाल पुर्जा दिने भनिएको छ ।
मन्त्रालयले प्रस्ताव गरेको भूमि सम्बन्धी नियमावलीमा अव्यवस्थित बसोबासीलाई भने न्युनतम शुल्क लिएर लाल पुर्जा दिने प्रस्ताव गरिएको छ । अव्यवस्थित बसाबासीलाई तराईमा बढीमा डेढ विगाहा जग्गा प्रदान गर्ने व्यवस्था भूमि सम्बन्धी नियमावलीमा प्रस्ताव गरिएको छ ।
भूमि व्यवस्था मन्त्रालयका अनुसार २०१३ सालदेखि हालसम्म सरकारले ४६ हजार ६ सय बिगाहा जग्गा सुकुमबासीको नाममा वितरण गरेको छ । केन्द्रीय तथ्यांक विभागको पछिल्लो रिपोर्टमा दुई प्रतिशत नागरिकसँग घरजग्गा नभएको र ८ प्रतिशत नागरिक भाडामा बस्ने गरेको जनाइएको छ । त्यसो त, सकुमबासीलाई व्यवस्थित रूपमा जग्गा उपलब्ध गराउन सरकारले २०१३ सालदेखि नै प्रयास गर्दै आएको छ । तर सुकमवासी तथा भूमिहिनको समस्या कहिले पनि सामधान हुन सकेको छैन ।