पूर्वमन्त्री बाँस्कोटा र सांसद आलेलाई कार्बाही गर्न डोटीका पत्रकारहरुको माग
सांसद आलेको सिफारिसमा तोकेरै पत्रकार हटाई गरेका थिए बाँस्कोटाले कार्यकर्ताको नियुक्ती
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ वैशाख २६ शुक्रबार
1.7k
Shares
डोटी। पूर्व सूचना, प्रबिधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा र सांसद प्रेमबहादुर आलेमगरलाई कार्बाही गर्न डोटीका पत्रकारहरुले माग गरेका छन्।
डोटीका नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनले छुट्टाछुट्टै विज्ञप्ती निकाली बास्कोटा र आलेलाई कार्वाही गर्न सरकारसँग माग गरेका हुन्।
२०७६ भदौ २ गते रेडियो नेपाल प्रदेश प्रशारण कार्यालय दिपायलबाट तीनजना सञ्चारकर्मीहरु सुनिता रावल, प्रकाश बम र चक्र कुँवर निष्काशन गरिएको थियो । सोही प्रकरणमा केहीदिनअघि सांसद आलेको २०७६ साउन २८ गतेको निवेदन र मन्त्री बास्कोटाको तोकमा उनीहरुलाई हटाउने प्रशंग उल्लेख भएको पत्र सार्वजनिक भएको थियो ।
सोही पत्रका विषयमा महासंघका अध्यक्ष योगेन्द्र बलायर र युनियनका सचिव पवन महराद्वारा हस्ताक्षरित विज्ञप्तीमा गैह्रजिम्मेवार कर्तुतमा सहभागि सांसद र पूर्व मन्त्रीलाई पनि कडाभन्दा कडा कार्बाही गर्न सरकारसँग माग गरिएको छ।
विज्ञप्तिमा श्रमजिवीको श्रमसुरक्षामा सरकारबाटै गम्भिर संकट पैदा भएको उल्लेख छ । सरकार आफै श्रमजिवीको रोजीरोटीको ग्यारेन्टी गर्नुपर्ने र पेशागत सुरक्षा गर्ने दायित्वबाट विमुख भई उल्टै रोजगारी खोस्न तल्लीन भएको घटनाक्रमले पुष्टी भएको विज्ञप्तिमा जनाइएको छ ।
अलोकतान्त्रिक, संविधानविरोधी, कर्तुतको सिकार भएका सञ्चारकर्मीहरुको तत्काल पुनर्वहाली गर्न सम्बन्धित पक्षसंग दुई संस्थाले माग गरेका छन्।
सांसद आलेको निवेदनमा तीनजना पत्रकारहरु लोकेश अधिकारी, नवराज जोशी र दीर्घ खत्रीलाइ नियूक्त गर्ने र चारजना पत्रकारहरु प्रकाश बम, सुनिता रावल, चक्र कुँवर र अरूण बमलाई हटाउने कुरा उल्लेख छ। सोही निवेदनमा तत्कालिन मन्त्री बाँस्कोटाले तोक लगाएर सांसदको निवेदनअनुसारको काम गर्न रेडियो नेपालका कार्यकारी निर्देशकलाई निर्देशन दिएका छन् ।
त्यसपछि तीनजनाको नियूक्ती भएको र तीनजनालाई निष्काशन भएको थियो । सोही घटनापछि नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन लगायतका संगठनहरुले आन्दोलन गरिरहेका छन् ।