घटनाबारे जानकारी लिन प्रदेश ५ का कानूनमन्त्री घटनास्थलमा
प्रकाशित २०७७ वैशाख १९ शुक्रबार
861
Shares
रुपन्देही । प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पामा बिहीबार बम विस्फोटनमा परी चार बालबालिकाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले दिवंगतप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकूल परिवारजनप्रति समवेदना पनि व्यक्त गरेका हुन् ।
मुख्यमन्त्री पोखरेलले विस्फोटनमा परेका बालबालिकाका परिवारलाई राहत दिन प्रदेश सरकारले संघीय सरकारलाई सिफारिश गर्ने पनि बताएका छन्। त्रिवेणी गाउँपालिका–७ गैरीगाउँको वनमा बाख्रा चराएर घर फर्कँदै गर्दा विस्फोटमा परी पाँच वर्षीय विजय खत्री, ११ वर्षीया विमला खत्री, १३ वर्षीय गौरव नेपाली र १४ वर्षीय नोखीराम डाँगीको घटनास्थलमै मृत्यु भएको थियो ।
मुख्यमन्त्री पोखरेलले सशस्त्र द्वन्द्वका कारण बेलाबखत यस्ता दुर्घटना हुने गरेको जनाउँदै कुनै शंकास्पद वस्तु देखिएमा नचलाउन र शंकास्पद ठाउँका बारेमा सुरक्षा निकायलाई जानकारी दिन आग्रह गरेका छन्।
यसैबीच बम विस्फोटको घटनाबारे जानकारी लिन र मृतक बालबालिकाका परिवारलाई समवेदना दिन प्रदेश नं ५ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी घटनास्थल गएका छन् ।