सोलुखुम्बु। कोभिड–१९को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि यहाँका चार हजार ५०० भन्दा बढी नागरिकलाई उद्धार गरिएको छ। विभिन्न निकायसँगको विशेष समन्वयमा उनीहरुलाई उद्धार गरिएको सांसद हेमकुमार राई (शुरवीर)ले जानकारी दिए।
थुलुङदूधकोशी गाउँपालिकाले सबैभन्दा धेरै एक हजार १९८ जना र सबैभन्दा कम सोताङ गाउँपालिकाले २९९ जनाको उद्धार गरेको छ। थुलुङदूधकोशी गाउँपालिका अध्यक्ष असीम राई आफै काठमाडौं पुगेर पालिकाभित्रका नागरिकलाई गाउँसम्म ल्याएको प्रमुख प्रशासकीय अधिकृत अविलाल राईले जानकारी दिए।
यस्तै सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पा र उपमेयर कल्पना राईसमेत काठमाडाँैमा पुगेर ७९९ जनाको उद्धार गरेको नगरप्रवक्ता सारदामाया तामाङले जानकारी दिए। यस्तै जिल्लाको नेचासल्यानले ५९६ जनाको उद्धार गरेको गाउँपालिकाका अध्यक्ष डुफकुमार बाँस्तोलाले जानकारी दिए। गाउँपालिका अध्यक्ष आफैं काठमाडौँमा गई उनीहरुको उद्धार गरेर ल्याएको गाउँपालिकाले जनाएको छ।
माप्यदूधकोशी गाउँपालिकाले ५७० जनाको उद्धार गरेको गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिए। काठमाडौँमा गठन गरेको सम्पर्क समितिमार्फत विवरण सङ्कलन गरी उनीहरुलाई उद्धार गरिएको उनको भनाइ छ।
जिल्लाको कोशीपारिको गाउँपालिका महाकुलुङले ४७६ जनाको उद्धार गरेको गाउँपालिकाका अध्यक्ष सागर किराँतीले जानकारी दिए। यस्तै खुम्बु पासाङ ल्हामु गाउँपालिकाले ३२० जना र लिखु पिके गाउँपालिकाले करिब ३०० जनाको उद्धार गरेको सम्बन्धित गाउँपालिकाले जनाएका छन्।
वैशाख १२ गतेदेखि जिल्लाका विभिन्न स्थानीय तहले उद्धार कार्य शुरु गरेका थिए । अहिले पहिलो चरणको उद्धार कार्य सकिएको सांसद राई (शुरवीर)को भनाइ छ। विषम परिस्थितिको सामना गर्नु सबैको कर्तव्य भएको भन्दै उहाँले १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन्।