लकडाउनको मौका छोपी अत्यन्तै कमसल सामग्री प्रयोग गरेपछि वडा कार्यालय निर्माणमा रोक
सोही बालुवा तथा ठेकेदारद्धारा वडा भवन निर्माण पहिले नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको भवन निर्माण
प्रकाशित २०७७ वैशाख १८ बिहिबार
775
Shares
प्यूठान । स्वर्गद्वारी नगरपालिका वडा नम्बर १ को वडा कार्यालय निर्माण तत्काल रोक्न प्राविधिक पक्षले निर्देशन दिएको छ ।
कोरोना भाइरसको लकडाउनको अवसरमा अनुगमन नहुने तथा अन्य सरोकारवालाहरुको ध्यान नजाने भएपछि वडा कार्यालय निर्माणमा पागो माटो र गुणस्तरहिन बालुवाको प्रयोग भएको थियो ।
रु ४० लाख बजेटमा निर्माण कार्य जारि रहेको वडा भवन आगामी असार मसान्तसम्म सक्नुपर्ने छ । उपभोक्ता समिति मार्फत निर्माण गर्न लागिएको उक्त भवनको समितिले काम नगरी वडा अध्यक्ष मेघराज जिसी (जीवन) का भतिजा पर्ने ईश्वर जिसीले ठेक्का लिएर काम गरेका छन् ।
उपभोक्ता समितिलाई प्रभावमा पारी ईश्वरले सम्पूर्ण निर्माण सामग्री तथा निर्माण प्रकृया आफूले गर्ने गरि उपभोक्ता समिति मार्फत निर्णय गराएका थिए ।
उता वडा अध्यक्ष मेघराज जिसीले लकडाउनको समयममा भवनमा पर्याप्त मात्रामा समय दिन नसक्दा गुणस्तरहिन सामग्री प्रयोगमा ढिलोगरि जानकारी पाएको र तत्काल सामग्री फेर्न निर्देशन दिएको बताए ।
त्यस्तै नगरपालिकाको उपमेयर गोमा रेग्मीको नेतृत्वमा गएको अनुगमन तथा प्राविधिक टोलीले भवनमा अत्यन्तै कम गुणस्तरको बालुवा प्रयोग भएको भन्दै तत्काल निर्माण प्रकृया रोकेको छ । अनुगमन समितिले बालुवा फेरेर मात्रै काम अगाडि बढाउन निर्देशन दिएको छ ।
यस्तै वडा नम्बर १ को कोचिवाङमै अर्को काण्ड बाहिर आएको छ । सोही बालुवा तथा ठेकेदारले वडा भवन निर्माण भन्दा पहिला नजिकैको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको भवन निर्माण गरेको थियो ।
सो भवनमा पनि त्यहि बालुवा प्रयोग भएको खुल्न आएको छ । यसले विद्यालयको भवन पनि मापदण्ड विपरीत तयार भएको हुन सक्ने नेपाली काङ्ग्रेस सस्वर्गद्वारी नगर सभापति तिलक बिकले बताए ।
वडा अध्यक्ष पुर्वाग्रही हुने तथा उपभोक्ता समिति एकलौटी रुपमा निर्माण गरी आफ्ना भतिजा तथा कार्यकर्तालाई ठेक्का दिने र गुणस्तरहिन काम गरेपनि पास गर्ने गरेको सभापति विकले आरोप लगाए ।
उता प्रयोग भएको बालुवा गुणस्तरहिन भएको प्रमाणित भए पनि हालसम्म निर्माण सम्पन्न भएको विद्यालय भवन तथा निर्माण कार्य जारि रहेको वडा कार्यालयको सम्पन्न भएको कामका बारेमा प्राविधिक टोलिले केही पनि भनेको छैन ।
वडा भवनको हाल फाउण्डेसन निर्माण सम्पन्न भएको छ । त्यस्तै वडा कार्यालयमा गुणस्तरहिन काम भएको भए कारवाही गर्ने भन्दै नेकपा वडा कमिटीले प्रेस विज्ञप्ति निकालेकोमा प्राविधिक टोलिले गुणस्तरहिन काम भएको प्रमाणित गरेपछि चुप्प लागेको छ ।
नेकपा वडा कमिटिले काम गुणस्तरहिन भएको भए निर्माण पक्ष र गुणस्तरीय हुँदाहुँदै जथाभावी समाचार आएको भए समाचार लेख्नेलाई नै कारवाहि गर्ने चेतावनी सहित विज्ञप्ति जारी गरेको थियो ।
अहिले भवन निर्माण प्रकृयामा देखिएको लापरवाहिको बिषयले प्यूठानमा सर्वत्र चर्चा पाएको छ । राजनैतिक दल तथा जननिर्वाचित नै यो घटनामा संलग्न भए पछि घटनाले चर्चा पाएको हो ।