बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ बस्ने १९ वर्षीय युवकको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको छ ।
र्यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएका युवकमा पीसीआर परीक्षण गर्दा कोरोना नभएको पुष्टि भएको हो ।
गएको बैशाख ९ गते आरडीटी विधिबाट कोरोना परीक्षण गर्दा उनमा संक्रमण देखिएको थियो । कोरोना भाइरस पोजेटिभ देखिएपछि उनलाई मंगलबार नै पीसीआर विधिबाट परीक्षण गर्नका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पठाइएको थियो ।
प्रादेशिक अस्पतालले धनगढी स्थित कबर्डहलको क्वारेन्टाइनमा राखेर थप स्वास्थ्य चेकजाँच गरेको जनाएको छ ।
बिहीबार थ्रोट स्वाब संकलन गरी पीसीआरबाट गरिएको परीक्षणको रिपोर्ट नेगेटिभ देखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी डाक्टर दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
बर्दगोरिया गाउँपालिकाको स्वास्थ्य शाखाबाट खटिएको स्वास्थ्यकर्मीको टोलीले गएको बैशाख ९ गते उनीसहित वडामा रहेका अन्य २५ जनामा कोरोना आरडीटी परीक्षण गरेको थियो ।
अस्पतालबाट युवकलाई शुक्रबार डिस्चार्ज गरिने तयारी भएको बर्दगोरिया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णदेव जोशीले बताए । ती युवक गएको चैत्र १० गते भारतको पुनाबाट घर आएका थिए ।