उदयपुरमा कोरोना देखिएपछि छिमेकी जिल्लाका सीमाना सिल
प्रकाशित २०७७ वैशाख ११ बिहिबार
884
Shares
उदयपुर । उदयपुरमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि भोजपुरको दक्षिणी क्षेत्रमा पर्ने आमचोक गाउँपालिका प्रवेश गर्ने सबै नाका सिल गरिएको छ ।
सीमापारिको छिमेकी जिल्लामा कोरोनाको सङ्क्रमण देखिएसँगै सोसँग सीमा जोडिएको रानीटार, बगुवा, जोगी पत्थर र मैयुङटार सीमानाका सिल गरिएको आमचोक गाउँपालिका अध्यक्ष अशोक राईले जानकारी दिए । उनले भने, “उदयपुरमा कोरोनाको सङ्क्रमण देखिएपछि हाम्रो स्थानीय तहसँग सीमा जोडिएका सम्पूर्ण नाका सिल गरेका छौँ भने सीमा क्षेत्रको सुरक्षामा कडाइ गरिएको छ ।”
गाउँपालिकाले काठमाडौँबाट ६ देखि ७ सम्म लगाएर हिँडेर आएका आफ्ना क्षेत्रका ३७ स्थानीयवासीलाई उद्धार गरेर क्वारेन्टाइनमा राखेको अध्यक्ष राईले जानकारी दिए । त्यस्तै काठमाडौँमा हुने ज्यालादारीमा काम गरिरहेका आफ्ना नागरिकलाई गाउँपालिकाबाट गएर त्यहाँ व्यापार व्यवसाय गरिरहेका तथा अन्य नागरिकसँग मिलेर ५० जना बढीलाई राहतको व्यवस्था गरेको समेत उनको भनाइ छ ।
“हामीले यहाँका स्थानीयलाई राहतको व्यवस्था मिलाएका छौँ भने काठमाडौँमा रहेका नागरिकलाई पनि राहतको व्यवस्था मिलाएका छौँ, अत्यावश्यक कामका लागि अन्य क्षेत्रबाट आएका आफ्ना नागरिकलाई १४ दिन क्वारेन्टाइनमा बस्ने शर्तमा ल्याएका छौं”, अध्यक्ष राईले भने ।
अन्य स्थानीय तहका तुलनामा आमचोक गाउँपालिका जोखिममा रहेकाले १०० श्ययाको क्वारेन्टाइन निर्माण गर्ने लक्ष्य भए पनि हालसम्म ७४ श्ययाको क्वारेन्टाइन निर्माण गरेको गाउँपालिकाले जनाएको छ । यस गाउँपालिकामा ५४ जना क्वारेन्टाइनमा रहेका छन् ।