काठमाडौं । चैत ११ गतेदेखि जारी कोरोना भाइरस संक्रमण रोक्न गरिएको लकडाउन बैशाख ७ गतेसम्म आइपुग्दा २७ औं दिनमा चलिरहेको छ ।
सरकारले लकडाउन बैशाख १५ गतेसम्म थपिसकेको छ । पछिल्लो समय संक्रमितको संख्या बढेर ३१ पुगिसकेको छ ।
संक्रमणको रेड जोनमा सय भन्दा बढी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आइसोलेसनमा ११७ जनालाई राखिएको छ ।
लकडाउन अझै बढाउनु पर्ने बताइएको छ । त्यस्तै भारतमा अझ बढी संक्रमित भएकाले पनि लकडाउन बढाउनुको विकल्प नभएको बताइन्छ ।
लकडाउनका कारणका सर्वसाधारणलाई समस्या भएको छ । घरमै बसेर लकडाउनको पालना गर्दा संक्रमण नफैलिने नीति अनुसार सरकारले लकडाउन गरे पनि त्यसलाई उल्लंघन गर्नेहरु पनि उल्लेख्य छन् ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार आइतबार बिहान काठमाडौंबाट ४४७ जनालाई नियन्त्रणमा लिइएको छ ।
त्यस्तै ललितपुरबाट ५३ जनालाई नियन्त्रणमा लिइएको छ । भक्तपुरबाट भने कसैलाई होल्डमा लिइएको छैन ।
मुख्य सडकमा कम रहे पनि भित्री सडकहरुमा निरन्तर मानिसको आवत जावत भइरहेको छ ।
त्यस्तै ६८ सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । त्यसमध्ये ६३ दुई पाङ्ग्रे र ५ वटा चार पाङ्ग्रे हुन् ।
शनिबार काठमाडौं उपत्यकाबाट ३ सय २ वटा सवारी साधनलाई नियन्त्रणमा लिएर कार्वाही गरिएको थियो । जसमा दुई पाङ्ग्रे २८३ तथा चार पाङ्ग्रे १९ वटा रहेका थिए ।
सवारी साधनलाई बिहानदेखि बेलुकासम्म नै होल्डमा राखिन्छ । आवश्यक परे समन्वय गरेर बढी समयसम्म पनि राख्न सकिने छ ।
गएको बिहीबारदेखि अलि बढी नै कडाइ गरिएको छ । अनावश्यक पास दिइएको छैन ।
मृत्युसंस्कारमा जाने परिवारका मानिसलाई बाहेक अरु कसैलाई पनि पास नदिने प्रहरीले जनाएको छ ।
उपत्यका बाहिर पनि लकडाउनको उल्लंघन भएको छ ।
तर सम्बन्धित स्थानमा जानका लागि सरकारले सवारीको व्यवस्था गर्न नसक्दा हप्तौं लगाएर पनि गन्तव्यमा पुग्नेहरु बढी देखिएका छन् ।