दश दिन लगाएर तुलसीपुर आइपुगेका १०९ लाई उपमहानगरपालिकाले पुर्यायो गन्तव्यसम्म
प्रकाशित २०७७ वैशाख ५ शुक्रबार
388
Shares
दाङ। देशका विभिन्न ठाउँबाट दाङको तुलसीपुरमा आइपुगेका नागरिकहरूलाई तुलसीपुर उपमहानगरपालिकाको पहलमा गन्तव्यसम्म पुर्याइएको छ। उनीहरुलाई उपमहानगरपालिकाको पहलमा सल्यान,रुकुम र बबई गाउँपालिकासम्म पठाइएको तुलसीपुर उपमहानगरपालिका वडा नं ५का अध्यक्ष बिरेन्द्र कुमार शाहीले जानकारी दिए।
रोजगारीको सिलसिलामा पोखरा, गोरखा, सिन्धुपाल्चोक,धादिङ्ग काठमाडौ पुगेका उनिहरु लकडाउनकै बीचमा तुलसीपुर आईपुगेका थिए ।
तुलसीपुरस्थित विरेन्द्र चोकमा अलपत्र अवस्थामा परेका १ सय ९ जनालाई सम्वन्धित पालिकाको सहकार्यमा गन्तव्यसम्म पुर्याइएको हो ।
यात्रुहरुलाई पठाउनका लागि तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरिक्षक बिमल केसी, नेपाल रेडक्रस दाङका विश्राम अधिकारी र पत्रकार सुरेश श्रेष्ठले पहल गरेका थिए ।
त्रिसिद्धेश्वरी राप्ती प्रालिका अध्यक्ष सुरेश हमालले बस सहयोग गरेका थिए । सम्वन्धित गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाले पनि गाडीको व्यवस्था गरेका थिए ।
दश दिनसम्म हिडेर तुलसीपुर आएका उनीहरुलाई त्यहाँबाट गन्तव्यसम्म पुर्याइएको थियो। बाटो खर्च नहुँदा उनीहर चाउँचाउँको भरमा यहाँसम्म आएको वताएका थिए ।
अलपत्रहरुलाई वडाध्यक्ष विरेन्द्र शाह लगाएत विभिन्न समाजसेवीहरुले खानाको व्यवस्था गरेका थिए ।