मजदुरहरुका लागि खाना, पानी र विश्रामस्थलको व्यवस्था गर्न तरुण दलको सर्कुलर
मजदुरलाई गन्तव्यसम्म पुर्याउन सरकारसंग माग
प्रकाशित २०७७ वैशाख ५ शुक्रबार
622
Shares
काठमाडौं । नेपाल तरुण दलले कोरोना भाइरसलाई फैलिन नदिन सरकारले लकडाउन लगाएका समयमा मजदुरहरुका लागि खाना, पानी र विश्रामस्थलको व्यवस्था गर्न सर्कुलर जारी गरेको छ ।
तरुण दलका अध्यक्ष जितजंग बस्नेतले प्रेस विज्ञप्ति निकाल्दै सर्कुलर जारी गरेको जनाएका हुन् । बस्नेतको विज्ञप्तिमा ‘लकडाउन लगायत रोकथामका अन्य कार्यमा प्रमुख प्रतिपक्षी दल हाम्रो पार्टी नेपाली काग्रेस र हामी सम्पूर्ण भातृ संगठनहरुले सहयोग गरिरहेका बेला सरकार भने आफनो जिम्मेवारीबाट बिमुख हुँदै र वर्तमान समयका लागि अनावश्यक गतिविधिमा रुमल्लिरहेको भान हुँदै गएको छ’ भनिएको छ ।
अगाडि विज्ञप्तिमा भनिएको छ, ‘महामारी संकटको यो समयमा परिक्षणको दायरालाई तीब्र गतिमा अगाडि बढाउनु पर्ने बेला सरकार भने आफ्ना कार्यकर्तालाई जागिर दिनका लागि विभिन्न आयोगमा नियुक्त गर्दै रमाइरहेको छ । यस्तो संवेदनशील घडीमा भएका यस्ता अनावश्यक र गैर जिम्मेवार क्रियाकलापको घोर निन्दा गर्दै आगामी दिनमा यस्ता गतिविधि नगर्न ध्यानाकर्षण गराउँदछौं ।’
अगाडि भनिएको छ, ‘यस्तो विषम परिस्थितिमा मानव स्वास्थ्यका लागि आवश्यक पर्ने पर्याप्त सुरक्षाका सामग्री बिना पनि अग्र पङक्तिमा रहि काम गरिरहेका स्वास्थ्यकर्मी, संचारकर्मी, सुरक्षाकर्मी, आपूर्तिकर्ता, एक्बुलेन्स चालक, फोहोर संकलकहरुको नेपाल तरुण दल मुक्तकंण्ठले प्रशंसा गर्दछ । साथै यी वर्गका लागि आवश्यक पर्ने सुरक्षा साम्रागी संगसंगै थप सुविधा पनि चाँडो भन्दा चाँडो व्यवस्था गर्न सम्बन्धित निकाय संग माग गर्दछौं ।’
मजदुरको पीडाबारे उल्लेख् गर्दै विज्ञप्तिमा भनिएको छ, ‘लकडाउनका समयमा दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने मजदुर वर्गहरु मारमा पर्छन् । त्यसैले उनीहरुका निम्ति आवश्यक राहातको प्रबन्ध गराउनका लागि लकडाउन सुरु भए देखिनै हामीले पटक पटक ध्यानाकर्षण गराउदै आएका थियौ । तर सरकार भने यो कार्यमा पनि चुकेको छ । जसका कारण मजदुरहरुलाइ खान, बस्न समस्या भई केही हिडेरै आफनो घर पुगेका छन् केही बाटोमा अलपत्र परेका छन् भने केही कार्यस्थलमा नै कष्टपूर्ण जीवन बिताउन बाध्य छन् ।’
उनीहरुको व्यवस्था गर्न माग गर्दै विज्ञप्तिमा भनिएको छ, ‘सम्पूर्ण मजदुरहरुको खान, बस्न र उनीहरुको गन्तव्यमा पुग्न आवश्यक प्रबन्ध मिलाउन फेरी पनि सरकारसंग नेपाल तरुण दल जोड्दार माग गर्दछ । अन्त्यमा नेपाल तरुण दलका सम्पूर्ण साथीहरुले आआफनो तर्फबाट राजमार्गमा हिँडेर आफ्नो गन्तव्यमा गइरहेका मजदुरहरुका लागि ठाउँ ठाउँमा खाना, पानी र विश्राम स्थलको व्यवस्था गरी यात्रामा सहजता प्रदान गरिदिन अनुरोध गरिन्छ ।’