लकडाउनको समय आमा खस्दाको पिडा : भारतीय क्वारेन्टाइनमै बसेर आमाको काजकिरिया
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७७ वैशाख ३ बुधबार
817
Shares
दार्चुला । हिन्दु परम्परा अनुसार काजक्रिया गर्न जन्मथलो अर्थात दिवन्गत हुनु भएकै ठाउँमा १३ दिनसम्म सेतो कपडा ओढेर गर्नु पर्ने भएपनि दार्चुलाका बासुदेव भट्टलाई भने परदेशमा आमाको किरिया गर्नुपरेको छ । आफ्नै जन्मभुमि जाने प्रवेशद्वारमा ताल्चा लागेपछि उनी आमाको दाहसंस्कारमा त उपस्थित हुन पाएनन्, काजकिरियाका लागि पनि नेपाल प्रवेशको अनुमती नपाएपछि उनी क्वारेन्टाईनमै किरिया बसेका छन् ।
जिल्लाको शैल्यशिखर नगरपालिका–१ घर भएका वासुदेव भट्ट दुई सातादेखि भारतको क्वारेन्टाइनमा बसेका बेला मंगलवार घरमा आमा बितेको खबर पाए पनि जन्म भुमि जान पाएनन् । मंगलवारदेखि नै उनी आमाको अन्तिम संस्कार र काजकिरियाका लागि घर फर्किन हारगुहार गरिरहेका छन् । “आमा वित्दा पनि घर जान पाइएन्, नेपाल सरकारले मलाइ रोकी राखेको छ ।” भट्टले भने—मंगलबार आमा वितेपनि अहिले सम्म घर जान पाईएको छैन् ।
अहिले बासुदेव भारतको बलुवाकोट क्वारेन्टाइनमै सेतो कपडा ओढेर किरिया बसेका छन् । तीन महिना अघि भारतमा मजदुरी गर्न गएका भट्ट लकडाउन पछि घर आउँदा धारचुलामा अलपत्र परेका हुन् । भट्टलाई नेपाल ल्याउन पहल भइरहेको तर माथिको आदेश अहिले सम्म नआएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुवरले बताए ।