सनसीटीमा रहेका रिजालले भने, ' यहाँ सन्नाटा छ, हामी मोरल बुस्टमा लागेका छौं '
सनसीटीका २ मा कोरोना पोजेटीभ देखिएपछि वरिपरिका छिमेकीले पनि खोलेनन झ्याल ढोका
प्रकाशित २०७७ वैशाख २ मंगलबार
504
Shares
काठमाडौं। सनसीटीमा रहेका नेपाली कांग्रेसका नेता रमेश रिजालले एपार्टमेन्टमा रहेका २ जना कोरोना संक्रमित रहेको पुष्टी भएपछि अरु वासिन्दा 'प्यानिक'को अवस्थामा पुगेपनि आफूहरु 'मोरल बुस्ट' मा लागेको बताएका छन्।
कागेश्वरी मनोहरा ९मा रहेको एपार्टमेन्टमा रहेका करिब १५ सय जनामा अहिले डरको मनोविज्ञान देखिन्छ। सहि ढंगले परामर्श नहुने हो भने वासिन्दामा मानसिक प्रभाव पर्नसक्ने अगुवाहरुको बुझाइ पछि सामाजिक दुरी कायम गरि 'मोरल बुस्ट' गर्ने काममा आफूहरु लागेको रिजालले बताए। यसबीचमा टेलिफोन गरि एकले अर्कालाई हौसला दिने काम शुरु भइसकेको उनले बताए।
अपार्टमेन्ट परिसर दायाँवायाँका दुई सय मिटरसम्मका घरहरुमा झ्याल ढोका समेत खोलेको नदेखिएको जनाउँदै रिजालले यो टोलतिरै एक किसिमको सन्नाटाको अवस्था रहेको हाम्राकुरालाई बताए।
प्रसासनले सिलवन्दी गरेपछि हिजोबाट आजसम्म खासै केहि काम नभएपनि परिक्षणको रिपोर्ट आएपछि अब काम हुने रिजालले आशा व्यक्त गरे।
रिजालले भने, ‘अपार्टमेन्ट सिल भएपछि त्यहाँ सेनिटाइज गर्नुपर्नेदेखि अपार्टमेन्टमा रहेकाहरु दैनिक अत्यावश्यक आवश्यकताका बस्तुहरु आपूर्ती कसरी हुन्छ भनेर स्थानियहरु चिन्तित देखिएका छन्। औषधी उपभोग गर्नेहरु कसरी आफूहरुले औषधी पाउँछौ भनेर सोधिरहेका छन् ।‘
'नगरपालिका र प्रसासनलाई स्थितको बारेमा फोन गरे भनिएको रिजालले बताए। प्रसासनले पनि चासो राखेको छ। प्रसासनसँग गरिएका कुराहरु सोसाईटीमा पनि राख्न थालेका छौ। टेलिफोन गरि एकले अर्कालाई ढाडस दिने काम पनि शुरु भएको छ,' रिजालले हाम्राकुरालाई बताए।
'विरामी भएकाहरुको स्वास्थ्य लाभको कामना सबैले गरिरहेपनि लकडाउनकै बेलामा उनीहरुले मोटर लिएर पनि हिडेको, बेलायतमै विरामी परेको कुरा नभनेको बारेमा भने सोसाइटीमा गुनासो सुनिन्छ,' उनले हाम्राकुरासँग थपे 'तर अब उनीहरुको कोरोना पोजेटीभ देखिएपछि एपार्टमेन्टमा रहेका सबैको परिक्षणमा ढीलाई नगर्न सरकारलाई आग्रह छ।'
विरामीको टाभल हिस्ट्री र कन्ट्याक्ट ट्रेसिङ पनि गर्न उनले माग गरे। उनीहरु विरामी भएको बेला वयोधा अस्पतालबाट स्वास्थ्यकर्मी पनि आएर परिक्षण गरेको कुरा सोसाईटीमा चर्चा चलेको जनाउँदै यो सबैलाई गम्भिरतापूर्वक हेरिनुपर्ने रिजालले बताए।