जुम्लाबाट काठमाडौं पठाइएका ३२४ वटै कोरोना परीक्षणका रिपोर्ट नेगेटिभ
प्रकाशित २०७७ वैशाख २ मंगलबार
443
Shares
जुम्ला । जुम्लाबाट कोरोना भाइरस परीक्षणका लागि काठमाडौं पठाइएका ३२४ जनाकै रिपोर्ट नेगेटिभ देखिएको छ । जुम्लाका ३ वटा स्थानमा मेडिकल टोलीले हेलिकप्टरबाट भारत र तेस्रो मुलुकबाट आएकाको स्वाब संकलन गरेर परीक्षणका लागि काठमाडौं पठाइएको थियो।
जुम्लाको चन्दननाथ नगरपालिका, पातरासि गाउँपालिका, गुठिचौर र तिला गाउँपालिकाको लागि जुम्ला एयरपोर्टमा नेपाल प्रहरीको मेडिकल टोलीले संकलन गरेको थियो ।
हिमा र सिजा गाउँपालिकाको लागि हिमाको देवारगाउँचौरमा र कनकासुन्दरिका लागि लासिपाण्डमा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाको टोलीले स्वाब संकलन गरेको थियो ।
भारत र तेस्रो मुलुकबाट आएकाहरुको स्वाब संकलन गरेर हेलिकप्टरबाट चैत २५ गते काठमाडौं पठाइएको थियो।
हिमा गाउँपालिकाको संकलन केन्द्र बाट १२४, कनकासुन्दरिबाट ५० र जुम्ला एयरपोर्टबाट १५० जनाको स्वाब संकलन गरि पठाइएको र सबैको नेगेटिभ रिपोर्ट आएको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक डा मंगल रावलले बताएका छन् ।
भारतबाट आएकाहरुबाट जोखिम देखिएकाले नेपाल सरकारको विशेष सक्रियतामा जुम्लाका आठ वटै स्थानिय तहमा क्वारेन्टाइन, घरमै बसिरहेका र संक्रमणको शंका लागेका ३२४ जनाको स्वाब परीक्षणका लागि काठमाडौ पठाइएको थियो ।