काठमाडौंमा कोरोनाको त्रास, बेलायतबाट आई सनसिटीमा बस्ने तीन जनाको र्यापिड टेष्ट पोजेटिभ
प्रकाशित २०७७ वैशाख १ सोमबार
776
Shares
काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमितहरु बढ्दै गर्दा काठमाडौं उपत्यकामा पनि त्रास बढेको छ ।
सोमबार साँझ काठमाडौंको सनसिटीस्थित अपार्टमेन्टमा बेलायतबाट आएका तीन जनामा कोरोनाको परीक्षण सकारात्मक देखिएपछि त्रास एकाएक बढेको हो ।
सनसिटीमा बस्दै आएका उनीहरु गएको चैत ५ गते काठमाडौं आएका थिए । विदेशबाट आए पनि कुनै परीक्षण नगराई घरभित्रै लुकेर बसेको भन्दै छिमेकीले खवर गरेपछि उनीहरु आफै मुलपानी नगरपालिका अस्पतालमा चेकअप गर्न गएका थिए ।
त्यहाँ र्यापिड टेष्ट गर्दा पोजेटिभ देखिएपछि त्यहाँबाट पाटन अस्पताल लगिएको प्रहरी निरीक्षक रुपेन्द्र नारायण श्रेष्ठले बताए ।
उनीहरुलाई पाटन अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ ।
अस्पतालले थ्रोट स्वाब संकलन गरी पीसीआर विधिबाट पुनः परीक्षण गर्न लागेको बताएको छ ।
अहिले अपार्टमेन्टलाई प्रहरीले सील गरेको छ । उनीहरु नेपाल आएको लामो समय भइसकेकाले कोरोना भएको भए धेरै नै फैलिएको आशंका गरिएको छ ।
थ्रोट स्वाब परीक्षण गर्दा नेगेटिभ पनि आउन सक्नेछ । यसअघि बाग्लुङकी ६५ वर्षीया महिलामा आइतबार देखिएको र्यापिड टेष्ट परीक्षणमा पोजेटिभ देखिए पनि स्वाब परीक्षण गर्दा नेगेटिभ देखिएको थियो ।
प्रहरी निरीक्षक श्रेष्ठको टोलीले साँझ सनसिटीमा सील गरेको हो । अहिले सनसिटी वरिपरि कसैलाई हिँड्न दिइएको छैन । सनसिटीबाट भित्र जान र बाहिर आउन पनि नदिइएको श्रेष्ठले बताए ।
सनसिटीभित्र कति जना छन् भन्ने समेत यकिन भइसकेको छैन । श्रेष्ठले राति पनि लगत लिने काम भइरहेको बताएका छन् ।
नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १४ पुगेको छ । त्यसमध्ये एक जनालाई निको भएको छ । १३ जनामध्ये तीन जना भारतीय नागरिक हुन् ।