काठमाडौं। नेपालमा कोभिड –१९ को सङ्क्रमण थप दुई जनामा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कैलालीको लम्की र रौतहटमा एकएक जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। यससँगै नेपालमा १४ जना कोरोना सङ्क्रमित भएको पाइएको छ।
उनीहरु दुवै भारतबाट आएको जनाइएको छ। उनले केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा उनीहरुलाई सङ्क्रमण देखिएको जानकारी दिए।
सङ्क्रमितमध्ये रौतहटका १९ वर्षीय पुरुष तथा लम्कीकी ६५ वर्षीया महिला हु्न। ती महिला भने लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेकी छन्।
अहिलेसम्म कैलालीमा छ, बागलुङ र काठमाडौँमा दुईदुई तथा रौतहटमा एक र पर्सामा तीन कोरोना सङ्क्रमित फेला परेका छन्।